कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वैजयन्तीमा फरक क्षमता

कान्तिपुर संवाददाता

काठमाडौँ — केही दिनअघि मात्रै हिृवलचेयरसहितको टोलीले कर्णाली प्रदेशका मन्त्रालय अपांगमैत्री नभएको भन्दै कार्यालयका सिँढीहरू गैंती र कोदालोले भत्काउने प्रयास गरे । आन्तरिक मामिला मन्त्रालयको सिँढी भत्काउन थालेपछि प्रहरी र अपांगहरूबीच धकेलाधकेल चल्यो, हिृवलचेयरसहित १७ जना प्रक्राउ परे । उनीहरूको माग थियो– ‘अपांगमैत्री भवन निर्माण गर, हाम्रो अधिकार सुनिश्चित गर ।’ 

वैजयन्तीमा फरक क्षमता

कर्णाली प्रदेशमा यस्तो भइरहेको बेला यता राजधानीमा भने रंगकर्मी आशान्त शर्मा उनै अपांगहरूको मनोविज्ञानमाथि नाटक रिहर्सल गरिरहेका थिए । यतिबेला नाटक बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा नियमित मञ्चन भइरहेको छ । अपांग अधिकार र मनोविज्ञानको वकालत गरिएको नाटक ‘वैजयन्ती’ मा फरक क्षमता राख्नेहरूको कथाव्यथा छ । उनीहरूको मनोकांक्षाको सन्दर्भ छ, प्रेम–आसक्ति छ । अनि अपांग भएकै कारण सन्तानप्रतिको अभिभावकले गर्ने विभेदपूर्ण व्यवहारको क्रूरता छ ।


मञ्चमा उज्यालो छिर्नेबित्तिकै किशोरावस्था पार गर्नै लागेकी एउटी युवती गुडियाजस्तै गुलाबी र सेतो पहिरनमा सजिएको सिंहासनमा देखा पर्छिन् । बच्चा जस्तै देखिने उनको व्यवहारलाई साथ दिँदै चार/पाँच जना पात्रहरू उनकै इसारामा कहिले नाच्ने कहिले खेल्ने गरिरहेका छन् भने ती सबै क्रियाकलापलाई डाक्टरको भेषमा देखिने एकजना पात्रले नियालिरहेको देखिन्छ ।


डाक्टरको भूमिकामा देखिने अनन्तले फरक क्षमता भएकी मैनालाई केन्द्रमा राखेर कथा भन्दै गएपछि नाटकका दृश्यहरू अगाडि बढ्दै जान्छन् ।


‘वैजयन्ती’ मा फरक क्षमता भएको मानिसलाई परिवार र समाजले हेर्ने दृष्टिकोण र समाजले नचिनेको तर उनीहरूभित्र लुकेर बसेको क्षमतालाई देखाउने प्रयास गरिएको छ । लामो समयदेखि फरक क्षमता भएका बालबालिकाहरूसँग सहकार्य गर्दै आएकी सौभाग्य सिंहले नाटकको कथा तयार पारेकी हुन् । अपांग भए पनि परिवारको साथ र हौसला भएमा उनीहरू आफैं सक्षम मात्र होइन, अरुका लागि पनि केही गर्न पनि सक्छन् भन्ने नाटकले देखाउन खोजेको छ । आठ वर्षकै उमेरमा टाइफाइड बिग्रिएर मस्तिष्कमा चोट पुगेपछि अपांग बन्न पुगेकी मैनाको अभिनयलाई दर्शकले बिर्सन सक्दैनन् ।


आमा र बहिनीमाथि नै निर्भर रहेकी उनमा डाक्टर अनन्तको नियमित उपचार र थेरापीपछि सक्षम बन्दै जाँदा देखिएको जीवनप्रतिको भरोसाले नाटकमा सकारात्मक र उज्यालो मनोविज्ञान थपिदिन्छ । अपांग या सबलांग, सन्तान जस्तोसुकै भए पनि मातृवात्सल्य भने एउटै हुनेप्रति पनि नाटकले औंल्याएको छ । बहिनी तारालाई जत्तिकै मैनाको स्याहारसुसार र उनको भविष्यप्रति आमाले गरेको चिन्ताले दर्शकलाई भावुक बनाउँछ ।


घरपरिवारको सबै बोझ थामेर पनि मैनाको हेरविचारमा आमाले कुनै कमी हुन दिन्नन् । बुबाको व्यवहार भने केही रुखो देखाइन्छ । यस्तो प्रवृत्तिमार्फत नाटकले भावुकता र संवेदनाको सवालमा पुरुषभन्दा महिला बढी नरम हुन्छ भन्ने पुष्टि गर्न खोजेको जस्तो भान हुन्छ ।


बुबाले अपांग मैना र उसको बहिनीप्रति गरेको भेदभावपूर्ण व्यवहारमार्फत नाटकमा एउटा विभेदपूर्ण मानसिकको पुरुष मनोविज्ञान पस्किएको छ । यतिसम्म कि अपांग छोरीलाई बोझको रूपमा लिन्छन् । कहिले जुस त कहिले दूधमा अनेकौं वस्तुहरू मिसाएर मार्न खोज्छन् । उता मामा इन्द्रले अपांग देखेर उनीमाथि गर्न खोजेको यौनशोषणको पाटो पनि डरलाग्दो लाग्छ । नाटक हेर्दै जाँदा हाम्रै वरिपरि दिनहुँ भइरहेका यथार्थ घटनाहरूको साक्षी बसेकोझैं अनुभूत हुन्छ ।


मानिसभित्रको द्वैत चरित्रलाई पनि नाटकले प्रस्ट पार्न खोजेको छ । सधैं छिछि: र दुरदुर गर्ने बुबाले चुनावका बेलामा भोट माग्नकै लागि छोरी मैनाप्रति चिन्ता गरेको जस्तो ढोंग रच्छन् । यस्ता पात्र र प्रवृत्ति पनि हाम्रै समाजबाट टिपिएको जस्तो लाग्छ । नाटकको अर्को सन्देश छ– अपांगहरूमा पनि सामान्य मान्छेमा जस्तै इच्छा–आकांक्षा हुन्छन् । जस्तो कि मैनाले डाक्टरलाई मन पराउँछिन् र उनैसँग विवाह गर्ने सपना देख्छिन् ।


उनको स्वास्थ्यलाई ख्याल गर्दै मनोवैज्ञानिक भरोसा दिन डाक्टरले पनि सकारात्मक भएको जस्तो देखाउँछन् तर डाक्टरले भित्री रूपमा भने उनकी बहिनी तारालाई मन पराउँछन् । ‘हामी अपांगलाई उसको अन्तरहृदयबाट हेरिरहेकै हुँदैनौं, खाली बाहिरी आवरणबाट मात्रै देख्छौं,’ निर्देशक आशान्त शर्माले भने, ‘उनीहरूभित्रको आकांक्षा र मनोवेग त अरू मान्छेजस्तै हुन्छन् नि ।’ करिब एक वर्षअघि सहरी निम्न मध्यमवर्गीय युवाहरूको कथालाई समेटेर ‘एलआईजी पिक्निक’ नाटक निर्देशन गरेका शर्माले यसपटक पनि सामाजिक विषयवस्तुलाई नै रोजेका छन् ।


नाटकमा उनले सरल तर अर्थपूर्ण रूपमा कथा भन्न खोजेका छन् । पछिल्लो समय फिल्ममा समेत जम्न थालेका शर्माले ‘फरक क्षमता भएका महिलाहरूको खास परिचय र पहिचान देखाउन खोज्नु नाटकको प्रमुख उद्देश्य’ रहेको बताए । नाटकमा सबलांगभन्दा पनि अपांगहरूको मन र विचार पवित्र हुन्छ भन्ने पनि देखाउन खोजिएको छ । बाहिरी रूपमा राम्री देखेर तारालाई विवाह गरेका अनन्तले अन्तत: सम्बन्धविच्छेद भएपछि आफ्नै पाउँमा पसल थापेर आत्मनिर्भर भएकी मैनालाई सम्झन्छन् ।


मानिसले भित्रीभन्दा पनि बाहिर सौन्दर्य हेरेर बनाएको सम्बन्ध दिगो नहुने पक्षलाई नाटकले गहन रूपमा प्रस्तुत गरेको छ । तारा र अनन्तको पारिवारिक किचलोलाई व्यस्त बन्दै गइरहेको आधुनिक जीवनशैलीसित पनि जोडिएको छ नाटकमा । पतिपत्नी दुवैजना रोजगारतिर लागेपछि तिनीहरूको व्यस्तताले एकअर्काको भावनाहरू आदानप्रदान गर्ने समय नहुँदा सिर्जिएको समस्याकै कारण मतभेद हुन्छ र सम्बन्ध टुंगिन्छ । यस हिसाबले नाटकले कामकाजी मध्यमवर्गीय बाध्यता पनि समेटिएको छ ।


एक अर्काको अस्तित्वप्रतिको सम्मानको वकालत नाटकको वैचारिक पक्ष हो । यसलाई प्रस्तुत गर्न भने नाटकले नाटकीय नै दृश्य निर्माण गरेको छ । अपांग भन्दै मैनालाई देखिनसहने खड्गप्रसादपछि आफैं दुर्घटनामा परेर कम्मरभन्दा तलको भाग नचल्ने अवस्थामा पुग्छन् र उनको साहरा हिृवलचियर बन्नपुग्छ ।


नाटकमा घटनाकै लागि यस्तो गरिएको जस्तो लागे पनि कुनै समय आफूले घृणा गरेको अवस्थाबाट स्वयं आफैं गुज्रिनुपर्‍यो भने कस्तो पीडा हुन्छ ? भन्ने अर्थलाई बलियो बनाउन खोजिएको छ । नाटकमा संवाद नै छ, ‘मान्छेले म बलियो छु भनेर अरूलाई कमजोर ठानी भ्रमको खेती गरिरहेको छ ।’


नाटकमा प्रकाश परिकल्पना जीवन बराल, परिचालन निर्मल साउद, संगीत किसन श्रेष्ठ, मञ्च परिकल्पना निर्देशक शर्मा र छिरिङ शेर्पाको रहेको छ । साउन २७ गतेसम्म मञ्चन हुने नाटकमा मञ्जु श्रेष्ठ, सुदीपजंग कार्की, सौभाग्य सिंह (शोभा), चाँदनी शाह, विजय नेपाल, सञ्जु कार्की, हेमन तण्डुकारको अभिनय रहेको छ ।



प्रकाशित : श्रावण १९, २०७६ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?