कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अन्जु पन्त भन्छिन्, ‘बोनस जीवन खुसीले बाँच्छु’

डिप्रेसनबाट हारेपछि आत्महत्या प्रयास
रामजी ज्ञवाली

काठमाडौँ — उनी फेरिएकी छन् । जीवनप्रति असाध्यै माया गर्छिन् । फुर्सदमा छोरीसहित परिवारका अन्य सदस्यलाई लिएर घुम्न निस्कन जान थालेकी छन् । उनी खुसी भए पनि यादहरु भने पखाल्न सकेकी छैनन् । घाउ त निको भयो तर खोटहरु अझै बाँकी छन् । कहिलेकाहीं तिनै घाउका खोटहरु भेट्छिन् र नरमाइलो लाग्छ, उनलाई ।

अन्जु पन्त भन्छिन्, ‘बोनस जीवन खुसीले बाँच्छु’

उज्यालो अनुहारमा एकाएक बादल लाग्यो । एकछिन मौन रहिन् । रुन्चे अनुहारबाट आउने आवाजहरु निकै कारुणीक छन् । सुन्दा पनि पत्याउनै नसकिने । मौन अन्जु एकछिनपछि बोलिन्, ‘हो, जीवनमा एकपटक आत्महत्या प्रयास गरेकै हो, तर असफल भएँ ।’


नाम–दामको कुनै कमी थिएन । सडकमा हिड्यो भने फ्यानहरुले घेरा हाल्छन् । स्टेजमा चढ्यो कि सयौं दर्शक आइपुग्छन् । सवारीसाधनमा उनकै गीत घन्किन्छन् । सयौँ गीत मार्फत् श्रोताको मन जितेकी अन्जु पन्त नेपाली संगित उद्योगकी चर्चित गायिक हुन् । अपुग केहि थिएन । हरेक कुरा हुँदा हुँदै पनि केहि नभएजस्तो गरी किन आत्महत्याको बाटो रोजिन् उनले ?

केहि ढिलाई गरेर जवाफ आयो, ‘सायद यो मेरो लागि त ठुलै पाठ हो, मेरा फ्यानहरुका लागि पनि ठुलो कुरा हुन सक्छ । पारिवारिक रुपमा धेरै दुःखी भएँ, खुसी खोज्न आत्महत्या प्रयास गरेकी हुँ तर भगवानले मर्न दिएनन् ।’ घटना ठ्याक्कै यो दिनको हो भन्ने कुरा बिर्सिइन् उनले । तर, पाँच वर्ष भन्दा धेरै पुरानो घटना हो । तर घटना बिर्सिन उनले धेरै मिहेनत गरेकी छिन् । तर, कहिलेकाहिँ सम्झना आइहाल्छ ।


त्यसदिन घरमा कोही थिएन । घाम अस्ताइसकेको थियो । च्यातिएको ब्लाउज र साडि लगाएर अन्जु घरबाट निस्किइन् । सरासर पशुपतीतर्फ लागिन् । मन्दिर भन्दा धेरै माथि गएर हाम फालिन् । तर, बजारिइन् माटो मात्रै रहेको भुईंमा । एउटा खुट्टा र नाक भाँचियो । शरिरका अन्य भागहरुमा पनि चोट लाग्यो ।


भीडभाड कम हुने क्षेत्रमा भएकाले उनलाई कसैले देखेन । एकछिन छटपटाइरहिन् । तर, सँगै लगेको मोबाइल अलिकति पर थियो, उनले देखिन् । मोबाइल ठिक थियो, घरमा फोन गरिन् । तुरुन्तै परिवारका केहि सदस्य आएर उनलाई अस्पताल लगे ।


निको हुन धेरै समय लाग्यो । लामो समयपछि अन्जु घर फर्कदा खुसी थिइन् । उनका घरका सदस्य पनि खुसी थिए । अन्जु थप्छिन्, ‘जब म घर फर्किएँ, आफ्नो शरिरको कुनै काम नलाग्ने अंक फ्याकेर आए जस्तै भयो ।’ पारिवारिक लफडाकै कारण अन्जुले आफू डिप्रेशनमा गएको बताउँछिन् । ‘जब मानिसले चोटमाथि चोट पाउँछ त्यसपछि आत्महत्या भन्दा अर्को उत्तम विकल्प नदेख्ने रहेछ’, उनले थपिन्, ‘जब डिप्रेसन जितिन्छ, त्यसपछि जीवनलाई हेर्ने दृष्टिकोण बदलिँदो रहेछ ।’ उनलाई के लाग्छ भने खुसी जीवनको कारण आफू नै हो, जीवनलाई सहि तरिकाले अगाडि बढाउन सकिएन भने आइपर्ने क्षति आफैँले भोग्नुपर्छ ।


श्रीमान् मनोजराज शिवाकोटीसँगको दाम्पत्य जीवन सफल हुन सकेन । आवाज सुक्दै भएपछि गीत गाउन सकिनन् । माइग्रेन र पिनासले पेल्दै लग्यो । ‘घरमा बस्दा–बस्दै ब्याक पेन हुन थाल्यो । तल्लो पेट दुख्ने अर्को समस्या पनि थपियो । यस्तै–यस्तै तनावको चोट सहन नसकेपछि मैले आत्महत्या गर्छु भन्ने गलत निर्णय लिएँ’, अन्जुले भनिन्, ‘असफल भएँ, जीवनमा आफूले गरेका प्रयासहरु कहिलेकाहि असफल हुँदा पनि फाइदा हुँदोरहेछ, कहिलेकाहि असफलता पनि मिठो हुँदोरहेछ ।’


कुनै बेला जिन्दगी केहि होइन भन्ने अन्जुलाई आजभोली हरेक सेकेण्डको महत्व लाग्छ । साथीभाई, आफ्ना आफन्त, यो दुनियाँ, समाज के नै हो ∕ भन्ने अन्जुलाई आजभोली सबथोक हो जस्तो लाग्छ । कुनै बेला रातभर ब्युँझिएर नानाथरी कुरा मनमा खेलाएर बिहान घाम उदाउने बेला सुत्ने अन्जु अहिले समयमै सुत्छिन्, समयमै उठ्छिन् ।


‘दिदी, छोरी, आमा, छोरो लगायत हुनुहुन्छ घरमा, उनिहरुसँग समय बिताउँछु’, अन्जुले भनिन्, ‘तर, छोरीसँग धेरै समय खर्चिन्छु ।’ घर बाहिर भएका बेलामा समेत छोरीसँग फोनमा कुरा भैरहन्छ उनको । अनुहारमा चमकता थप्दै उनले भनिन्, ‘वास्तवमा छोरीले हरेक कुरा बुझ्छ, छोरीका लागि म खुल्ला किताब हो ।’


६ हजार भन्दा धेरै गीतमा स्वर दिइसकेकी अन्जुलाई आजभोली पहिले जे जे कुराको बोझ लाग्थ्यो, तिनै कुराप्रति मोह लाग्छ । ‘जीवन त सुन्दर गिफ्ट हो नि । ’ चम्किलो अनुहारका साथ अन्जु थप्छिन्,‘आजभोलि म निराश छैन, एकपटक पाएको जिवनलाई सुन्दर तरिकाले बिताउनुपर्छ भन्ने सोच आएको छ ।’ अझ अन्जु भन्छिन्, ‘बोनस जीवन खुसीले बाँचिरहेकी छु ।’

प्रकाशित : श्रावण १८, २०७६ १९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?