चलचित्र क्षेत्रको उत्थानका लागि सरकार प्रतिबद्ध छ : मन्त्री बाँस्कोटा

कान्तिपुर संवाददाता

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चलचित्र क्षेत्रको संरक्षण र उत्थानका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल चलचित्र कलाकार संघको नवनिर्वाचित कार्य समितिलाई आज मन्त्रालयमा स्वागत गर्दै उनले सरकारले ल्याउन लागेको चलचित्रसम्बन्धी विधेयकमा लिखित सुझाव पेश गर्न संघलाई आग्रह गरे ।

मन्त्री बाँस्कोटाले विधेयक प्रक्रियामा अघि बढिसकेपछि प्रतिपक्षलगायत विभिन्न समूहबाट विरोध हुने गरेकाले पहिले नै लिखित सुझाव दिन संघलाई आग्रह गर्दै चलचित्र विधेयकमा सरोकार भएका निकायको सुझाव आएपछि संसद्बाट पारित गराउने प्रक्रियालाई अघि बढाइने बताए ।

संघका संस्थापक एवं वर्तमान अध्यक्ष रवीन्द्र खड्काले चलचित्र नीति २०७१ लागू गर्न माग गरे । विसं २०५५ मा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद्को निर्णयबाट संघका लागि छुट्याइएको धापासीको दुई रोपनी जग्गा अझै उपभोग गर्न नपाएको बताउँदै उनले कानूनबमोजिम त्यो जग्गा उपलब्ध गराउन माग गरे ।
सो अवसरमा अध्यक्ष खड्काले त्यो जग्गा दिन नसकिने भए अन्यत्र शोध भर्ना गर्नुपर्ने मागसहितको ज्ञापनपत्र मन्त्री बाँस्कोटलाई बुझाए ।

तीन दिनअघि भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई पनि ज्ञापनपत्र बुझाई तिरो तिरिरहेको धापासीको जग्गा भोगचलन गर्न पाउनुपर्ने माग गरिएको संघका उपाध्यक्ष मोहन निरौलाले जानकारी दिए ।

संघले यसअघि नै विधेयकको कलाकार परिभाषामा कलात्मक, सिर्जनात्मक, बौद्धिक, सीपमूलक र श्रम गर्नेलाई बुझाउने भन्ने शब्दावली मात्र प्रयोग गरेकामा अभिनयमूलक शब्द पनि थप गरिनुपर्ने माग गरेको थियो । संघको नयाँ नेतृत्व डेढ महीना अघि निर्वाचित भएको थियो । स्वागत कार्यक्रममा संघका नवचिर्वाचित पदाधिकारी एवं सदस्यको सहभागिता थियो ।

प्रकाशित : श्रावण १७, २०७६ १४:४२
प्रतिक्रिया
पठाउनुहोस्

नेपालमा लगानी गर्न परराष्ट्रमन्त्रीको आग्रह

कान्तिपुर संवाददाता

काठमाडौँ — परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग नेपालका लागि मोरक्को अधिराज्यका राजदूत मोहम्मद मल्लिकीले परराष्ट्र मन्त्रालयमा शुक्रबार शिष्टाचार भेट गरेका छन् ।

त्यस अवसरमा उनीहरुबीच नेपाल–मोरक्को सम्बन्धका साथै पारस्परिकहित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।

नेपालमा स्थायी सरकार गठन भएसँगै लगानीको वातावरण तयार भएकाले मोरक्कोका उद्यमी व्यवसायीलाई नेपालमा लगानी गर्न र चार महीनापछि सुरु हुने नेपाल भ्रमण वर्ष २०२० मा नेपाल भ्रमणका निम्ति मोरक्कोका नागरिकलाई अभिप्रेरित गर्न मन्त्री ज्ञवालीले आग्रह गरे ।
उनले बहुपक्षवादलाई प्रवद्र्धन गर्दै नेपाल र मोरक्कोबीच क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चमा दुई देशबीच साझेदारी एवं सहकार्य भइरहेको बताए ।

प्रकाशित : श्रावण १७, २०७६ १४:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्