कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

सबै हलमा बक्सअफिस

सुशील पौडेल

काठमाडौँ — यस आर्थिक वर्षदेखि नेपालका फिल्म हलमा प्रदर्शनरत फिल्महरूको व्यापार तथ्यांक आउन सुरु भएको छ । चलचित्र विकास बोर्डले लागू गरेको केन्द्रीय चलचित्र व्यवस्थापन प्रणाली (बक्सअफिस) मा टिकट बिक्रीका आधारमा रियल टाइम कलेक्सन रिपोर्ट आउन थालेको हो ।

सबै हलमा बक्सअफिस

पहिलो चरणमा नै राजधानीभित्रका हलमा बक्सअफिस लागू गरिसकेको बोर्डले उपत्यकाबाहिरका हलबाट पनि साउन १ देखि तथ्यांक संकलन सुरु गरेको हो । यतिबेला मोफसलबाहिरका ६६ हलबाट बोर्डले बक्सअफिस रिपोर्ट पाउन थालेको छ । तर मोफसलका ३४ हलहरू भने अझै बक्सअफिस प्रणालीमा जोडिएका छैनन् ।


मंगलबार बोर्ड अध्यक्ष केशव भट्टराई बक्सअफिसमा आबद्ध नभएका हलहरूप्रति केही आक्रामक देखिए । उनी बक्सअफिस प्रणाली हेर्ने कर्मचारीलाई भन्दै थिए, ‘बक्सअफिसका लागि हार्डवेयर/सफ्टवेयर इन्सटल गरेर पनि सोअनुसार टिकट नकाट्ने र रियल टाइम डाटा नपठाउने हलको निर्क्यौल गरी सम्बन्धित हललाई छिटै चिठी काट्दै छौं,’ बोर्ड अध्यक्ष भट्टराईले कान्तिपुरसँग भने, ‘कतिपय हलले बक्सअफिस प्रणाली जडान गरेर पनि त्यसमार्फत् टिकट इस्यु नगरेको देखिएको छ । यसको मतलब पुरानै हाते टिकट बेचेको पनि हुन सक्छ । यस्तो पाइएमा अब कारबाही हुने छ ।’ बोर्डले यसका लागि बक्सअफिस प्रणाली सञ्चालन कार्यविधि जारी गर्दै त्यसमातहत अनुगमन समिति गठन गरी यसको कार्यान्वयन र कारबाहीमा तत्काल जाने जानकारी दिएको छ ।


असार मसान्तसम्म जडान गरिएका मोफसलका हलमध्ये साउन मध्यसम्म पोखराको मिडटाउन हलले सर्वाधिक ३२ हजार पाँच सय टिकट बिक्री गरेको तथ्यांक बक्सअफिसमा देखिएको छ । त्यसपछि नारायणगढको क्यूएफएक्स जलमा र हेटौंडाको ओम्याक्स हलमा बढी टिकट बिक्री भएको देखिएको छ । दुवै मल्टिप्लेक्स हल हुन् ।


‘अझै पनि कतिपय हलहरू परीक्षण अवधिमै पनि छन्,’ बक्सअफिस प्रणालीलाई कार्यान्वयनमा ल्याएको ब्रेन डिजिट आईटी सोलुसनका कन्सल्ट्यान्ट नितेश गोर्खालीले भने, ‘केही सामान्य समस्याका कारण केही थोरै त्यस्ता हलले बक्सअफिस ई–टिकेटिङमार्फत् प्रत्यक्ष कारोबार गर्न सकिरहेका छैनन् ।’


बोर्डले भने बक्सअफिसमा नसमेटिने हललाई कारबाही प्रक्रिया अघि बढाई आक्रामक हुने छनक देखाएको छ । कारोबार छली गर्ने हललाई अनुगमन समितिको सिफारिसमा बोर्डले पहिलो पटक उक्त हलको सिट क्षमताको दुई सय प्रतिशत रकम जरिवाना र दोस्रो पटक पनि गल्ती गरेको पाइएमा हलको सिट क्षमताको दुई सय प्रतिशत रकम जरिवानासहित उक्त हललाई बन्द गराउन सक्ने छ । ई–टिकेटिङको तथ्यांकमा गडबढी गरेको पाइएमा सम्बन्धित हललाई आन्तरिक राजस्व विभागले समेत पाँच लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने छ ।


बक्सअफिस प्रणाली लागू हुने भएपछि मोफसलका तीन हल भैरहवाको सिद्धार्थ, कास्कीको गगनगौंडाको मन्दिपमिलन र गौशालाको शिव नारायणले हल नै बन्द गरेका छन् ।


‘बक्सअफिसका लागि प्रविधि जडानका लागि मोफसलमा पुग्दा कतिपय हलहरू नवीकरण नै नभएको पनि पाइयो,’ ब्रेन डिजिटका एक प्रतिनिधिले भने, ‘त्यस्ता हलहरू अझै बन्द हुन सक्छन् ।’ गोरखाको एक हलले भने बक्सअफिस सिस्टमका लागि आवश्यक उपकरण जडान गरेर पनि टिकट बिक्रीको तथ्यांक बक्सअफिसको केन्द्रीय प्रणालीमा नआएपछि आफ्नै तवरमा टिकट बिक्री गरिरहेको सूचना पाएपछि बोर्ड कारबाहीमा जान तम्तयार देखिएको छ ।


‘त्यहाँ टिकट काट्ने अनि यहाँ तथ्यांक नआउने भएर हुँदैन । अब अनुगमन तीव्र हुन्छ,’ अध्यक्ष भट्टराईले आश्वस्त पार्न चाहे । बक्सअफिस अनुगमन समितिमा चलचित्र विकास बोर्डका दुई सदस्यसहित गृह र आन्तरिक राजस्व कार्यालयका अधिकृत तहका एक–एक, चलचित्र संघ, निर्माता संघ र बक्सअफिस प्रणालीका प्राविधिक प्रमुखसहित एक आमन्त्रित सदस्य हुने बताइएको छ ।


अधिकांश मल्टिप्लेक्स हल रहेको उपत्यकाभित्र भने सम्बन्धित हलकै आन्तरिक बक्सअफिस प्रणालीलाई केन्द्रीय चलचित्र व्यवस्थापन प्रणाली (सीसीएमएस) मा लिंक गराई डाटा लिने व्यवस्था मिलाइएको छ । ‘राजधानीका केही मल्टिप्लेक्स हलबाट भने टिकट बिक्रीको १५ मिनेटभित्रमा डाटा संकलन हुने व्यवस्था मिलाइएको छ,’ ब्रेन डिजिटका गोर्खालीले भने ।


उनका अनुसार, रियल टाइममा डाटा लिँदा ती हलको सर्भर ढिलो चल्ने समस्या भएपछि यसो गरिएको हो । त्यसो त ती मल्टिप्लेक्सले आन्तरिक राजस्व विभागलाई भने रियल टाइम डाटा नै उपलब्ध गराउँदै आएका छन् । दुवैतर्फ रियल टाइम डाटा दिँदा एउटा टिकट इस्यु गर्न कम्तीमा १३ सेकेन्ड ढिलो हुने देखिएको ब्रेन डिजिटले जनाएको छ ।


बक्सअफिस प्रणाली आंशिक रूपमा सक्रिय भइसक्दा पनि निर्माता, वितरकले भने आफ्नो फिल्मको व्यापारिक तथ्यांक लिन वा बुझ्न कुनै चासो देखाएका छैनन् । बोर्ड अध्यक्ष भट्टराईले अहिलेसम्म कुनै पनि निर्माता वा वितरकले यसका लागि चासो नदेखाएको टिप्पणी गर्दै भने, ‘प्रदर्शनमा आएका फिल्मका सम्बन्धित एक वितरक र एक निर्माताले बोर्डबाट कोड लिएर आफ्नो फिल्मले गरेको व्यापार सहजै हेर्न सक्ने छन् । बोर्डमा आएमा उक्त कोड सजिलै उपलब्ध हुने भए पनि सम्बन्धितले चासो लिएको देखिएको छैन ।’


बोर्ड सदस्य नरेन्द्र महर्जनले बक्सअफिस लागू नै भएन भनेर बाहिरबाहिर टिप्पणी गर्दै हिँड्नेहरू नै यसप्रति चासो नदिएको बताउँछन् । उनले भने, ‘कतिपय बक्सअफिसले दिएको डाटा र वितरकले दिएको डाटा मिलेन भनेर हल्लाखल्ला गर्छन् । तर त्यसका लागि कसैले पनि निवेदन दिने आँट गर्दैनन् । निवेदन दिए न हामीले छानबिन प्रक्रिया अघि बढाउन सक्छौं ।


यदि बक्सअफिस पारदर्शी चाहिएको हो भने सबैले यसका लागि बोर्डलाई सहयोग पनि गर्नुपर्ने हुन्छ ।’ उनले हरेक प्रणाली र नियम मिच्ने डर कायमै हुने भए पनि त्यसलाई चुस्त अनुगमन र दण्ड, जरिवानाले सजग गराउन सक्ने दाबी गर्छन् । यति बेला बोर्डले बक्सअफिस प्रणालीका लागि आवश्यक हार्डवेयर, सफ्टवेयर जडान कार्य देशभरका हलमा गरिसकेको भए पनि सबै हलमा ई–टिकेटिङ भइसकेको भने छैन । बोर्डले शतप्रतिशत हलमा उक्त प्रणाली जडान गरेर प्रभावकारी रूपमा अघि बढ्ने बताएको छ ।


बोर्ड अध्यक्ष भट्टराईले छिट्टै मोबाइल एप बनाई प्रत्येक हल, फिल्म र प्रदर्शनको जानकारी पनि उक्त एपमा समेट्न लागेको जनाए । भने, ‘एक महिनाभित्रमा उक्त एप सञ्चालनमा आउने छ । यसले पनि दर्शकलाई नेपाली फिल्म र यससम्बन्धी विभिन्न जानकारी एउटै प्लेटफर्मबाट दिन सकिने छ ।’


प्रकाशित : श्रावण १५, २०७६ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?