'जस्तो मान्छेसँग बिहे गर्न मन थियो, त्यस्तै मान्छेसँग चाँडै बिहे हुनेवाला छ !'

पुरुषवार्ता
कान्तिपुर संवाददाता

काठमाडौँ — फिल्म उद्योगमा ऋचा शर्मालाई ‘सिरियस’ कलाकारका रुपमा हेर्ने गरिन्छ । तर, ऋचा यो कुरा स्विकार गर्दिनन् । ‘म अभिनय गर्छु, यो मेरो जागिर हो,’ उनले थपिन्, ‘मानिसले आफ्नो जागिर सकेसम्म उत्कृष्ट रुपमा गर्नुपर्छ । मैले हरेक प्रोजेक्टमा सकेसम्म राम्रो गर्ने प्रयास मात्रै गरेकी हुँ ।’ ऋचाले दर्जनौं चलचित्रमा काम गरेकी छन् । त्यसमध्ये केही उत्कृष्ट फिल्ममा दरिएको छ । उनका केही फिल्म असफल पनि छन् । यद्यपी उनले काम गरेका हरेक फिल्मको अभिनयलाई दर्शकले रुचाएका छन् । उनीसँग रामजी ज्ञवालीले यो साता ‘पुरुषवार्ता’ गरेका थिए । 

बिहे गर्ने बेला नभएको कि भनेजस्तो पुरुष पाइएन ?

बेला हुँदैछ । समय आएपछि अवश्य होला नि ।


जीवनमा पहिलोपटक पुरुष भनेर याद गर्नुभएको व्यक्ति ?

मेरो नै बुबा हो । तर, अहिले उहाँ हुनुहुन्न ।


विशेष प्रभाव पारेको पुरुष ?

बुबा नै हो । जीवनमा धेरै सफल भएपनि सामान्य किसिमले जीवन बिताउन खोज्ने । जतिसुकै धनी भएपनि देखावटी गर्न नहुने बुबाबाट सिकेकी हुँ । अरु धेरै कुरा सिकेकी छु ।


सबैभन्दा सहयोगी पुरुष ?

जीवनमा सहयोगी पुरुष धेरै भेटेकी छु । तर, विशाल भण्डारी बढी नै सहयोगी लाग्छ । ऊ हुँदा हरेक कुरा बिर्सिन्छु ।


सबैभन्दा धेरै माया लाग्ने पुरुष ?

मेरो दिदीको छोरा । ऊ हाम्रो घरको कान्छो पुरुष सदस्य पनि हो ।


सबैभन्दा घृणा लाग्ने पुरुष ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हो । मलाई अनुहार हेर्न पनि मन पर्दैन ।


सबैभन्दा झर्को लाग्ने पुरुष ?

२–३ जना पुरुष छन्, उनीहरुको नाम नलिउँ होला ।


सपनामा आउने पुरुष ?

अहिलेसम्म कति पुरुष सपनामा आए भन्ने यादै छैन । तर, शाहिद कपुर, आमिताभ बच्चन, पारश खड्का बढी सपनामा आउने गरेका छन् ।


कल्पनामा आइरहने पुरुष ?

पुरुषहरुको कल्पना गरेर बस्ने बानी छैन ।


पहिलोपटक डेट गएको व्यक्ति ?

नाम त भन्न सक्दिनँ । अत्ति हुन्छ । ११ कक्षा पढ्दा डेट गएको याद छ ।


प्रेममा धोका दिएको पहिलो पुरुष ?

पहिलोपटकको प्रेममा मैले धोका दिएकी हुँ । नाम भन्ने हो भने बर्बाद हुन्छ ।


पहिलो पटक लभलेटर दिएको व्यक्ति ?

हामीसँगै पढ्ने साथी (सिद्धान्त) ले हो । उसले बिर्सियो कि ? तर, मैले सम्झिरहेकी छु ।


हात काटेर लभलेटर पठाउने कोही थिए ?

११–१२ पढ्दा एकजनाले त्यसरी रगतले लेटर लेखेका थिए । यो कुरा म कहिल्यै बिर्सिन्न ।


बिहेको प्रस्ताव गर्ने पहिलो पुरुष ?

एकजना अस्ट्रेलियाको युवकले ‘वील यू म्यारी मी’ भनेर प्रस्ताव गरेका थिए ।


पहिलो किस गरेको पुरुष ?

हाहा... । नाम भन्न सक्दिनँ । तर, धेरै वर्ष अघिको कुरा हो ।


बिहे गर्न मन लागेको व्यक्ति ?

जस्तो मान्छेसँग बिहे गर्न मन थियो, त्यस्तै मान्छेसँग चाँडै बिहे हुनेवाला छ । १–२ महिनामा तपाईंले मेरो प्रेमीको बारेमा थाहा पाउनुहुनेछ ।


संसारमा सबैभन्दा हृयाण्डसम लाग्ने पुरुष ?

हलिउड अभिनेता लियोनार्दो डिक्याप्रियो ।


सबैभन्दा मनपर्ने अभिनेता ?

विपीन कार्की । ऊ सँग काम गर्ने इक्षा छ ।


निरन्तर संवाद भइरहने पुरुष ?

खासै कोही छैन । म कमै मात्रामा पुरुषहरुसँग बोल्छु ।


सबैभन्दा मनपर्ने पुरुष नेता ?

गगन थापा ।


राम्रो ड्रेससेन्स भएको पुरुष ?

अनुप विक्रम शाही ।


गतिलो सेन्स अफ हृयुमर भएको पुरुष ?

म अहिले जोसँग डेट गरिरहेको छु ।


तपाईंको हातको झापड खाएको पुरुष ?

१० वर्ष अघि होला सायद, एक जनालाई राम्रैसँग चड्कन हानेकी थिएँ ।


तपाईंलाई धम्की दिने पुरुष कोही छ ?

एकजना थियो । केही वर्ष अघि तिमी मलाई भेट्न आएनौ भने यसो उसो गर्छु भन्दै धेरै धम्की दिएको थियो । अत्ति भएपछि मैले प्रहरीमा उजुरी दिएँ । प्रहरीले ठीक पारेपछि उसले कहिल्यै सम्पर्क गरेन । रमाइलो कुरा त ऊ मभन्दा धेरै कान्छो रहेछ ।


प्रकाशित : श्रावण १४, २०७६ १३:२०

प्रतिक्रिया
पठाउनुहोस्

क्लब डेजा भूका अध्यक्ष मनोज श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — दरबारमार्गमा रहेको क्लब डेजा भूका अध्यक्ष मनोज श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । चेक बाउन्स मुद्दामा फरार रहेका मनोज विरुद्द प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (ईन्टरपोल) मार्फत गत माघ १५ गते डिफ्युजन नोटिस जारी गराएको थियो ।

हङकङबाट नेपाल आएका श्रेष्ठलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको हो ।

कम्पनी मर्मत गर्न भन्दै विश्वराम श्रेष्ठबाट दुई करोड रुपैयाँ लिएका मनोजले उक्त रकम फिर्ता गर्ने क्रममा चेक दिएका थिए । तर खातामा रकम नभएपछि विश्वरामले उक्त चेक बाउन्स गराएर कानूनी प्रक्रिया अगाडि बढाएका थिए । गत बर्षको पुस १३ गते श्रेष्ठले प्रहरी परिसर काठमाडौंमा मनोज विरुद्ध बैंकिङ कसुरमा जाहेरी दिएका थिए ।

प्रकाशित : श्रावण १४, २०७६ १२:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×