२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

नाटकमा अन्तरजातीय प्रेमको वियोगान्त कथा

पर्वत पोर्तेल

काँकडभिट्टा — यो सीमा सहरमा नाटक हेर्ने संस्कृति बढिरहेको छ । अब नाटक हेर्न काठमाडौं नै पुग्नु पर्ने अवस्था छैन । परिवर्तन थिएटरले निरन्तर नाटक मञ्चन गरिरहेको छ ।

नाटकमा अन्तरजातीय प्रेमको वियोगान्त कथा

अघिल्लो पटक खदामा, विटुलो आख्यान, उन्यु, वसस्टप जस्ता अव्वल नाटक देखाएको थिएटरले यसपटक अविराम नामको नाटक प्रदर्शन गरिरहेको छ, गत शुक्रबरदेखि । युवा रंगकर्मी एन्जल खड्काको लेखन र निर्देशनको नाटकलाई स्थानीय दर्शकले खुबै रुचाएका छन् । हिन्दु समाज, वर्ण व्यवस्था र विद्यमान जातप्रथामाथि नाटकले प्रश्न गर्छ ।


दलित र गैरदलितवीचको प्रेम सम्वन्ध नाटकमा देखाइएको छ । ‘नाटकमा अन्तरजातीय प्रेमको वियोगान्त कथालाई रोचक ढंगले प्रस्तुत गरिएको छ,’ सीमापारि सिलिगुडीबाट नाटक हेर्न आएका सर्जक राजा पुनियानीको टिप्पणी छ,‘नाटकको कथा पक्ष मजबुद छ ।’


नेपाली समाजमा अन्तरजातीय प्रेम गर्ने जोडीले अहिले पनि विभिन्न प्रताडना व्यहोर्नु परेको छ । यस्ता जोडीहरु कुटिने, गाउँ निकाला गरिने र मारिने सम्मका हर्कत अझै कायमै छ । यही अमानवीय सामाजिक वेथितिविरुद्ध नाटकले बहस छेडेको छ । रिडर्स झापाका उज्जवल प्रसाईंले नाटकले नेपाली समाजको ज्वलन्त विषयको उठान गरेको बताए । प्रसाईंको प्रतिक्रिया छ, ‘अन्तरजातीय बिहे र त्यसको जटिलतामाथि नाटक बोलेको छ ।’


नाटकमा मूलक कथाका अलवा बीचमा देखाइने कतिपय दृश्य साँच्चै रोचक लाग्छन् । मुख्य पात्र इन्दु रनेबीचको रोमान्सका दृश्यमा निर्देशकको नयाँ प्रयोग देखिन्छ । यो दृश्यमा निर्देशकको अव्वलता देखिन्छ । कथामा नयाँपन भने छैन । हामीले सुनेकै, भोकैको कथा छ । तर, यसलाई नया शैलीले प्रस्तुत गरेका कारण यो हेर्न योग्य वनेको छ ।


नाटकमा एन्जल, कविता नेपाल, गणेश बस्नेत, अनिश वस्नेत, अभिषेक गर्तौला, शिशिर चम्लागाई, सजिता तामाङ, लोमश पौडेल र प्रतिक्षा आचार्यले अभिनय गरेका छन् । परिवर्तन थिएटर काँकडभिट्टामा १८ साउनसम्म नाटक चल्ने छ ।



प्रकाशित : श्रावण १३, २०७६ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?