साझाघरमा आठपहरिया

फूलमान वल, रमेशचन्द्र अधिकारी

धनकुटा — उनीहरू यो घरलाई मुलपाङ भन्छन् । अर्थात् साझा घर । अल्पसंख्यक किरात आठपहरिया सभ्यतासित जोडिएको यो घरमा हालै एक हूल युवायुवती ढोल र झ्याम्टा बजाएर नाचे । यो घरको आफ्नै नियम छ । नाच निकालेको बेला आगन्तुकले सालको पातको दुनामा रक्सी पिउनुपर्छ ।

‘यो चलन उहिल्यैदेखिको हो,’ संस्कृतिकर्मी सूर्यबहादुर आठपहरियाले भने, ‘नाच निकालेको बेला अरु भाँडामा पिउनुहुन्न भन्ने मान्यता छ ।’

धनुकुटा बजारबाट अलिक माथि उक्लेर बायाँ मोडेपछि भेटिन्छ यो घर । ‘ठूलाघर’ को रूपमा चर्चित यो अल्पसंख्यक आठपहिरिया समुदायको पुरानो सांस्कृतिक सम्पदा हो । सूर्यका अनुसार यसरी नाच निकाल्नुसित आठपहरिया समुदायको संस्कार, विश्वास, पद्धति र पुरानो ज्ञान परम्परा जोडिएको छ । खासमा यो कात्तिक पूर्णिमापछि नाचिन्छ ।

अचेल कोही पाहुना, विशिष्ट व्यक्ति या समूह साझाघर अवलोकनमा आएका बेला सांस्कृतिक झलक स्वरुप यो नाच निकालिन्छ । हालै स्थानीय मौलिक कला, साहित्य र संस्कृति खोज्दै काठमाडौंबाट आइपुगेका ‘जेसुम अभियान’ का स्रष्टाहरूलाई स्वागत गर्दै आठपहरिया समुदायले यो नाच प्रस्तुत गरेको थियो ।

नाचमा आठपहरिया समुदायको मौलिक तथा सांस्कृतिक पर्व ‘हृवाडाङमेट’ को गीत प्रस्तुत गरिएको थियो । सूर्यका अनुसार यो गीत मृतआत्मालाई बिदा गरेपछि दुःख बिर्सजनका लागि गाइन्छ । ‘हाम्रो समाजमा मान्छे मरेपछि आत्मलाई बाराह क्षेत्रमा गएर विदा गर्नुपर्छ’, उनले भने, ‘मृत्युको कारण खोज्दै मृतकको घरघरमा गएर ‘आर्जे हेर्ने’ चलन पनि छ । अहिले भने यो हराउँदै गएको छ ।’

मृतआत्मा बिदा गर्न बराह क्षेत्र जाने समय हृवाडाङमेट पर्वकै छेकमा हो । हिँडेरै जानुपर्ने र हिँडेरै फर्किनुपर्ने चलन अहिलेसम्म छ । यसरी बराह क्षेत्र गएकाहरू कात्तिक पूर्णिमाको बिहान जसरी पनि फर्केर घर आइपुग्नुपर्ने हुन्छ । त्यसपछि दुःख विसर्जनका लागि नाचगान गरिन्छ ।

‘यस्तो बेला माया प्रेमका गीत पनि गाइन्छ, कसैले घुमडुल र स्थान विशेषका गीत पनि गाउँछन्,’ किरात आठपहरिया समाजका केन्द्रीय महासचिवसमेत रहेका सूर्यले भने, ‘बूढापाका थाकेपछि तन्नेरीहरू नाच्छन् । दोहोरी पनि हुन्छ ।’ साझाघरमा निकालिएको नाचमा भने सूर्य स्वयं सहभागी थिए ।

धनकुटा बजारको पुजारी टोलस्थित किरात आठपहरिया समुदायको धार्मिक/सांस्कृतिक स्थल साझाघर (बाउन्न चुलो) ।तस्बिर : रमेशचन्द्र अधिकारी/कान्तिपुर


ढोल र झ्याम्टा बजाएर खुट्टाको धीमा गति मिलाउँदै नाचिने यो नृत्यमा पुरुष र महिला दुवैको बराबर सहभागिता रहन्छ । यसपछि नाच हेर्नेहरूलाई दुनामा रक्सी बाँडिन्छ । ‘मृतआत्मालाई बिदा गरेर फर्केपछि बराह क्षेत्रबाट विभिन्न्नदेवीदेउतासँगै ल्याएको हुन्छ भन्ने विश्वास गरिन्छ,’ उनले भने, ‘पवित्रताका लागि दुनाको प्रचलन रहेको हुन सक्छ ।’ पातमा सगुन चाख्दै गर्दा कवि स्नेह सायमी, अनिता लामा, बिना थिङलगायतले आदिवासी संस्कृतिको मूलथलोमै पुगेको अनुभूति गरे ।

बाउन्न चुलोको कथा
साझाघर (ठूलाघर) खासमा आठपहरिया समुदायको ५२ चुलोसित जोडिन्छ । पछिल्लो जनगणनाअनुसार ५ हजार ९ सय ७७ संख्या रहेको आठपहरियाको सभ्यता यही ५२ चुलोबाट विस्तार भएको मानिन्छ । ‘अझै पनि ५२ पितृ भिन्न हुन नहुने मान्यता छ,’ आठपहरिया समाज धनकुटाका अध्यक्ष अष्टबहादुर छोङदेनले भने, ‘तर एकै ठाउँमा रहन भौगोलिक हिसाबले सम्भव नभएपछि विभिन्न ठाउँमा छरिए ।’

जहाँ पुगे पनि पितृ पुज्ने सन्दर्भमा भने यही साझाघर आउनुपर्ने उनले बताए । माङबुङ थरका आठपहरियाहरूको भने जेठो छोरा जन्मेको खुसियालीदेखि अन्य कर्महरू यही घरमा गर्नुपर्ने हुन्छ । ‘अरूले जेठो छोरोका हर्क बढाइआफ्नै घरमा गर्छु भन्दा छुट पाइन्छ,’ सूर्यले सुनाए, ‘माङबुङले चाहिँ यहीँ नै गर्नुपर्छ ।’

अष्टबहादुरका अनुसार २०३६ साल अगाडि यो साझाघर नौतले थियो । नौवटा भर्‍याङ चढेर जानुपर्थ्यो । माटोको गाह्रो उठाएर बनाएको भएकाले सूर्यबहादुर थापा प्रधानमन्त्री भएको बेला नयाँ बनाइदिन्छु भन्दै भत्काउन लाए । तर, एकतलेभन्दा माथि उठ्न सकेन ।

‘माथिल्लो तलामा विभिन्न किसिमको तान्त्रिक र सांस्कृतिक विधि गरिन्थ्यो,’ सूर्यले थपे, ‘कोही बिरामी भयो भने यहीँ ल्याएर माङ (पुर्खाको सृष्टिको आत्मा) बोलाएर कारण पत्ता लगाइन्थ्यो । अहिले आत्मा बोलाउने मान्छे (माङकाटा) नै जन्मिन छोडे ।’ उनका अनुसार एउटा माङकाटा मरेपछि उनको आत्मा अर्को व्यक्तिमा सर्नुपर्ने हुन्छ । २०३६ सालतिरै माङकाटा बितेपछि उनको आत्मा अरूमा आएको छैन ।

मिसन होमस्टे
यही साझाघरलाई केन्द्रमा राखेर आठपहरिया समुदायले धनकुटामा होमस्टे सञ्चालनको योजना गरेको छ । धेरैले थर लेखेकाले जन गणनामा थोरै देखिए पनि आठपहरियाको ११ हजार जनसंख्या रहेको दाबी गर्दै ‘आठपहरिया सांस्कृतिक होमस्टे’ को रूपमा धनकुटा चिनिनसक्ने सूर्यको दाबी छ ।

उनीहरूले सञ्चालन प्रक्रियासमेत अघि बढाउँदै प्रशिक्षण सकाइसकेका छन् । यसमा नगरपालिकाको सहयोग मिलेको छ । सुरुमा १५ घरबाट होमस्टे सञ्चालन गर्ने योजना बनाइरहेको सूर्यले बताए । ‘त्यसका लागि सांस्कृतिक प्रस्तुति, भेषभूषा, खानपान प्रवर्द्धनमा लागि परेका छौं,’ उनले भने, ‘आठपहरिया संस्कृति हेर्न अन्त गएर हुन्न, धनुकटा नै आउनुपर्ने हुन्छ ।’

प्रकाशित : श्रावण ९, २०७६ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्

ठ्याक्कै रवीन्द्र

सुशीला तामा‌ङ

काठमाडौँ — फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा संस्कृति तथा पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाले ज्यान गुमाए । उनीसित अब भेट सम्भव छैन । लाजिम्पाटस्थित सिर्जना कलेज अफ फाइन्ट आर्टस्मा पुग्नु भयो भने तपाईं झस्किन हुने छ ।

युवा कलाकार महेन्द्र पुन मगरले दुरुस्तै रवीन्द्र अधिकारी उतारेका छन् ढलोटमा मूर्तिमा । डँडेलधुराबाट काठमाडौं आई ललितकला स्नातक पढिरहेका उनले साढे ६ फिटको मूर्तिमा रवीन्द्रको भावभंगिमा मिहिनेतका साथ उतारेका छन् ।

सोही दुर्घटनामा परी ज्यान गुमाएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको पनि उनले मूर्ति तयार गर्दै छन् । आफ्नै लगानीमा बनाउँदै गरेको मूर्तिमा ३ लाख जति खर्च भएको उनले बताए । ‘मैले पनि बाल्यकालमा बाबु गुमाएँ,’, उनले मूर्ति बनाउनुको उद्देश्य खुलाए, ‘मेरी आमाले त्यतिबेला भोगेको पीडाको सम्झना आएपछि मैले यो मूर्ति बनाएको हुँ ।’ आफूले कमाएको पैसा थोरै–थोरै जम्मा पारेर उनले मूर्ति तयार गरेका हुन् ।

पछिल्लो समय उनी कमर्सियल हिसाबले पनि आशालाग्दो ढंगले कलाकर्म गरिरहेका छन् । सामाखुसीस्थित उनको एउटा कोठामा चित्र र मूर्तिकलाहरूले भरिएको छ । ल्यान्डस्केप पेन्टिङ तथा यथार्थवादी मूर्तिकलाका विभिन्न भावहरूले उनको कोठाका सजिएको छ । ‘मेरो लागि यही कोठा कार्यशाला हो,’ हालैको भेटमा उनले भने, ‘पुस्तकमा सिकेको सैद्धान्तिक पाटोलाई यही कोठामा व्यावहारिक रूप दिन्छु ।’

उनको कार्यशालामै चितवनका सूर्यमान श्रेष्ठ र पुराना नेता पुष्पलाल श्रेष्ठको मूर्ति पनि तयारी अवस्थामा छन् । मुलुकका चर्चित केही नेताका मूर्ति बनाउने पनि उनको योजना छ । प्रधानमन्त्री केपी ओलीदेखि राष्ट्रपति विद्यादेवी भण्डारीसम्म । सबै आफ्नै खर्चमा । कलाबाट आर्जन गरेको केही रकम यसरी विभिन्न मूर्तिमा खर्च गर्दा ‘इच्छा पूरा भएको अनुभूति मिल्ने’ उनले बताए ।

पहिलोपटक मूर्तिकला देख्दा नै उनमा यस्तो इच्छा पलाएको थियो । ३/४ वर्षको उमेरमा ठूलीआमासित डँडेलधुरा बजार घुम्दै जाँदा पहिलो पटक उनले मूर्ति देखे । मूर्तिसँग बोल्दा कुनै प्रतिक्रिया नदिएपछि उनी झन् अचम्ममा परे । ठूलीआमाले गाली गरिन् । उनले देखेको पहिलो मूर्ति सहिद भीमदत्त पन्तको रहेछ, पछि थाहा पाए । ‘त्यसपछि नै हो मूर्तिकार बन्छु भन्ने ध्येय बोकेको,’ उनले सुनाए, ‘यसपछिका धेरै दिन माटोसँग, पिठोसँग, माहुरीको मैनसँगै खेलेँ ।’

७/८ कक्षामा अध्ययन गर्दा नै शिवको मूर्ति बनाएबापत् उनले ५ हजार रुपैयाँ कमाए । त्यसपछि उनी मूर्तिकारको रूपमा गाउँमा चिनिन थाले । ‘स्कुले जीवन सकिने बेलासम्ममा मैले मूर्तिकलाबाट नै ४०/४५ हजार कमाइसकेको थिएँ,’ उनले भने, ‘तर, यहाँ आएपछि ठूलो संघर्ष गर्नुपर्‍यो ।’

काठमाडौंका गल्लीमा उनी धेरै भौंतारिए, बाँच्नकै लागि अनेक काम गरे । तैपनि मूर्तिकार बन्ने ध्येय छाडेनन् । अनि सिर्जना कलेज भर्ना भए । ‘पढेपछि मूर्तिमा हुने नाक, मुख र पूरै संरचनाबारे विस्तृत थाहा पाएँ,’ उनले भने, ‘अहिले जो कसैको पनि दुरुस्तै मूर्ति बनाउन सक्छु ।’ हाल कला अध्ययन सँगसँगै ६ वटा स्कुलमा मूर्तिकला पढाउने उनको एउटै धोको छ– ‘डडेलधुरामा कला विद्यालय खोल्ने ।’

प्रकाशित : श्रावण ९, २०७६ ०८:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्