ठ्याक्कै रवीन्द्र

सुशीला तामा‌ङ

काठमाडौँ — फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा संस्कृति तथा पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाले ज्यान गुमाए । उनीसित अब भेट सम्भव छैन । लाजिम्पाटस्थित सिर्जना कलेज अफ फाइन्ट आर्टस्मा पुग्नु भयो भने तपाईं झस्किन हुने छ ।

ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा दिवंगत संस्कृति तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको ढलोट मूर्तिसँगै मूर्तिकार महेन्द्र पुन मगर राजधानीको लाजिम्पाटस्थित सिर्जना कलेज अफ फाइन आर्टस् परिसरमा । तस्बिर : सुशीला/कान्तिपुर

युवा कलाकार महेन्द्र पुन मगरले दुरुस्तै रवीन्द्र अधिकारी उतारेका छन् ढलोटमा मूर्तिमा । डँडेलधुराबाट काठमाडौं आई ललितकला स्नातक पढिरहेका उनले साढे ६ फिटको मूर्तिमा रवीन्द्रको भावभंगिमा मिहिनेतका साथ उतारेका छन् ।

सोही दुर्घटनामा परी ज्यान गुमाएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको पनि उनले मूर्ति तयार गर्दै छन् । आफ्नै लगानीमा बनाउँदै गरेको मूर्तिमा ३ लाख जति खर्च भएको उनले बताए । ‘मैले पनि बाल्यकालमा बाबु गुमाएँ,’, उनले मूर्ति बनाउनुको उद्देश्य खुलाए, ‘मेरी आमाले त्यतिबेला भोगेको पीडाको सम्झना आएपछि मैले यो मूर्ति बनाएको हुँ ।’ आफूले कमाएको पैसा थोरै–थोरै जम्मा पारेर उनले मूर्ति तयार गरेका हुन् ।

पछिल्लो समय उनी कमर्सियल हिसाबले पनि आशालाग्दो ढंगले कलाकर्म गरिरहेका छन् । सामाखुसीस्थित उनको एउटा कोठामा चित्र र मूर्तिकलाहरूले भरिएको छ । ल्यान्डस्केप पेन्टिङ तथा यथार्थवादी मूर्तिकलाका विभिन्न भावहरूले उनको कोठाका सजिएको छ । ‘मेरो लागि यही कोठा कार्यशाला हो,’ हालैको भेटमा उनले भने, ‘पुस्तकमा सिकेको सैद्धान्तिक पाटोलाई यही कोठामा व्यावहारिक रूप दिन्छु ।’

उनको कार्यशालामै चितवनका सूर्यमान श्रेष्ठ र पुराना नेता पुष्पलाल श्रेष्ठको मूर्ति पनि तयारी अवस्थामा छन् । मुलुकका चर्चित केही नेताका मूर्ति बनाउने पनि उनको योजना छ । प्रधानमन्त्री केपी ओलीदेखि राष्ट्रपति विद्यादेवी भण्डारीसम्म । सबै आफ्नै खर्चमा । कलाबाट आर्जन गरेको केही रकम यसरी विभिन्न मूर्तिमा खर्च गर्दा ‘इच्छा पूरा भएको अनुभूति मिल्ने’ उनले बताए ।

पहिलोपटक मूर्तिकला देख्दा नै उनमा यस्तो इच्छा पलाएको थियो । ३/४ वर्षको उमेरमा ठूलीआमासित डँडेलधुरा बजार घुम्दै जाँदा पहिलो पटक उनले मूर्ति देखे । मूर्तिसँग बोल्दा कुनै प्रतिक्रिया नदिएपछि उनी झन् अचम्ममा परे । ठूलीआमाले गाली गरिन् । उनले देखेको पहिलो मूर्ति सहिद भीमदत्त पन्तको रहेछ, पछि थाहा पाए । ‘त्यसपछि नै हो मूर्तिकार बन्छु भन्ने ध्येय बोकेको,’ उनले सुनाए, ‘यसपछिका धेरै दिन माटोसँग, पिठोसँग, माहुरीको मैनसँगै खेलेँ ।’

७/८ कक्षामा अध्ययन गर्दा नै शिवको मूर्ति बनाएबापत् उनले ५ हजार रुपैयाँ कमाए । त्यसपछि उनी मूर्तिकारको रूपमा गाउँमा चिनिन थाले । ‘स्कुले जीवन सकिने बेलासम्ममा मैले मूर्तिकलाबाट नै ४०/४५ हजार कमाइसकेको थिएँ,’ उनले भने, ‘तर, यहाँ आएपछि ठूलो संघर्ष गर्नुपर्‍यो ।’

काठमाडौंका गल्लीमा उनी धेरै भौंतारिए, बाँच्नकै लागि अनेक काम गरे । तैपनि मूर्तिकार बन्ने ध्येय छाडेनन् । अनि सिर्जना कलेज भर्ना भए । ‘पढेपछि मूर्तिमा हुने नाक, मुख र पूरै संरचनाबारे विस्तृत थाहा पाएँ,’ उनले भने, ‘अहिले जो कसैको पनि दुरुस्तै मूर्ति बनाउन सक्छु ।’ हाल कला अध्ययन सँगसँगै ६ वटा स्कुलमा मूर्तिकला पढाउने उनको एउटै धोको छ– ‘डडेलधुरामा कला विद्यालय खोल्ने ।’

प्रकाशित : श्रावण ९, २०७६ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्

किन झम्टिन्छन् सिगल चरा ?

एजेन्सीहरू

काठमाडौँ — समुद्रको तटीय क्षेत्रमा पाइने सेतो चरा सिगल पछिल्लो समय आक्रामक बन्दै गएको छ । उसले मानिस र साना जनावरलाई आक्रमण गर्न थालेको हो ।

बेलायतको अनलाइन ‘डेलिमेल’ का अनुसार सिगल चराले डोरसेटको लाइमस्थित रेजिस समुद्री तटमा गर्मीमा शीतलताको आनन्द लिइरहेकाहरूमाथि आक्रमण गरेको छ । बेलायतमा यो वर्ष अचाक्ली गर्मी महसुस गरिएको छ । बुधबार बेलायतको तापक्रम ३६.११ डिग्री सेल्सियस मापन गरिएको छ ।

भोलि (बिहीबार) अझ उच्च तापक्रम ३८.८८ डिग्री सेल्सियस पुग्ने भविष्यवाणी बेलायतका मौसमविद्ले गरेका छन् । यस्तो अवस्थामा शीतलताको खोजी गर्दै समुद्री तटमा चिसो हावाको आनन्द लिन सयौं मानिस तटमा पुग्ने गरेका छन् । तर, अब उक्त स्थान पनि असुरक्षित बन्दै गएको महसुस गरिन थालिएको छ । समुद्री तटमा पुग्नेहरूमाथि सिगल चराले आक्रमण गर्ने गरेको पाइएको छ । चराविद्हरूका अनुसार यसको प्रमुख कारणमा मानिसले फाल्ने खाद्यपदार्थ, समुद्र किनारमा हुने बस्ती विस्तार र ध्वनि प्रदूषणलगायतका हुन् ।

एक आर्निथोलजिस्टले सिगलको बढ्दो आक्रामक व्यवहारको दोषी मानिस नै भएको बताए । ‘डेलिमेल’ का अनुसार हालै एक कुकुर मालिकले आफ्नो घरपालुवा जनावर ‘चिहुआहुआ’ (कुकुर प्रजाति) लाई सिगलले झम्टेर लगेको दाबी गरेका छन् । यसको तस्बिर सार्वजनिक भएपछि भाइरल भएको बताइएको छ । आज लिइएको तस्बिरहरूमा डोरसेटको समुद्री तटमा आनन्द लिइरहेकाहरूमाथि सिगल चराले आक्रमण गरेको देखिएको छ । त्यहाँ हजारौं मानिस बढ्दो तापक्रममा शीतलताको आनन्द लिइरहेका थिए ।

३० वर्षयता चराबारे अध्ययन गर्दै आएका मार्टिन क्याडले भने, ‘मानिसले समुद्र किनारमा खाद्यजन्य फोहोर र चरालाई खुवाउन ती पदार्थ फाल्नुका कारण सिगल आक्रामक बनेको हो ।’ उनले यी कुराहरूलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘समुद्र किनारमा रहेका सहरहरूको विस्तारलाई हामीले प्रोत्साहित गरिरहेका छौं अनि दोष जति चरालाई दिइरहेका छौं । म भन्छु सिगल आक्रमण बन्नुको दोषी अरू होइनन् हामी नै हौं ।’
मार्टिनका अनुसार तिनीहरू समुद्र छेउमा रहेका चट्टानहरूमा प्रजनन् प्रक्रिया पूरा गर्छन् । ‘विगतमा त्यही गुँड बनाउँथे अनि समुद्रबाहिर निस्किन्थे,’ उनले भने, ‘पछिल्लो समय समुद्र किनारमा बस्ती विस्तार र मानिसको भीडभाड बढेकाले यो चराको बासस्थान संकटमा परेको छ । अझ त्यहाँ खाद्यपदार्थ त्यसै छाड्नु वा फाल्नुले सिगल चरालाई झनै आक्रामक बनाएको हुनुपर्छ ।’ सिगलमाथि सबै दोष थुपारिरहेका छौँ तर वास्तवमा त्यसो होइन ।

मानिसले समुद्र किनारमा खाद्यपदार्थ फ्याँक्नु प्रमुख कारण भएको मार्टिनको ठम्याइ छ । दक्षिणी इंग्ल्यान्डको समुद्री सहर वेमाउथ परिषद्का अधिकारीहरूले पटकपटक मानिसलाई सिगल चरालाई खुवाउन खाद्यपदार्थ नफाल्न आग्रह गर्दै आएका छन् । तर त्यसको बेवास्ता गर्दै चिप्सलगायतका खाद्यपदार्थ फ्याँक्ने गरिएका छन् । यसले त्यहाँको वातावरण प्रदूषित मात्रै भएका छैनन्, सिगललाई आक्रामकसमेत बनाइरहेको उनीहरूको ठम्याइ छ ।

‘दि गार्जियन अनलाइन’ का अनुसार सिगल बसोबास गर्ने क्षेत्रमा अनियन्त्रित रूपमा घर र बस्ती विस्तार भइरहेका छन् । ठुल्ठूला भवन निर्माणका कारण पहिलो उडान गर्न सिगललाई समस्या भइरहेको छ । ‘त्यसविरुद्ध लड्ने क्रममा सिगलहरू आक्रामक देखिएका हुन्,’ लामो समय सहरी सिगलबारे अध्ययन गर्दै आएका पिटर रोकले भने, ‘सिगलका बच्चा सुरुमा उड्ने बेला घरमा ठोक्किएर बगैँचामा खस्ने गरेका छन्,बचाउन माउ सिगलले आक्रामक व्यवहार देखाउने गरेका छन् ।’ हालै गरिएको एक सर्वेक्षणअनुसार बेलायतमा करिब ४४ प्रतिशत मानिस सिगल चरा दिन प्रतिदिन आक्रामक बन्दै गएकाले जोगिने उपाय अवलम्बन गर्नुपर्ने सुझाएका छन् ।

के हो सिगल चरा ?
प्रायः सेतो रंगको यो जलीय चरालाई सामुद्रिक चराको रूपमा चिनिन्छ । हेरिंग र थोरै कालो पिठ्युँ भएको गुल गरी दुई प्रजातिका चरालाई सिगल भनिन्छ । यसको प्वाँख लगभग पाँच फिटसम्म फैलिएको हुन्छ । यसको तौल २.५ एलबी (१.१३ किलोग्राम) सम्म हुन्छ ।

यसको प्वाँख लामो र खुट्टा छोटो हुन्छ । विशेष रूपमा शीतल ठाउँ र समुद्री क्षेत्रमा पाइन्छ । चिसो मौसममा यो चरा झन्डै दुई हजार किमिसम्म यात्रा गर्न सक्छ । चराविद्हरूका अनुसार यो ४९ वर्षसम्म बाँच्न सक्छ । बेलायती नौसेनाले पहिलो पटक विश्वयुद्धका क्रममा सिगललाई जासुसका रूपमा प्रयोग गरेको थियो । 

सिगल किन यति आक्रामक ?
मानिस वा सानो जनावरमाथि आक्रमण गर्नका लागि सिगललाई उत्प्रेरित गर्ने कारणचाहिँ समुद्री तटमा बढ्दो कोलाहल, खाद्य फोहोर, सहर विस्तार र मानिसको भीडभाडलगायत हुन् । यस्तो अवस्थाकै कारण सिगलले मानिस वा घरपालुवा जनावरमाथि झम्टिने गरेको हो ।

बेलायतमा समुद्री तटमा सिगलले दुःख दिनुलाई एउटा चुनौतीका रूपमा लिइएको छ । यसका कारण समुद्री किनारमा पुग्ने मानिस र पशु मालिकहरू डराउने गरेका छन् । उसको अत्यन्तै तिखो चुच्चो, पन्जा र शक्तिशाली प्वाँखको अर्थ उसले साना जनावर र पूरै कन्टेनरलाई समेत झम्टेर उड्न सक्ने क्षमता राख्नु हो । इंग्ल्यान्ड, स्कटल्यान्ड वेल्स र उत्तरी आयरल्यान्डका स्थानीय सरकारले सिगल चरालाई खानेकुरा दिनबाट रोक्न र उसलाई गुँड बनाउन तथा प्रजनन्का लागि प्रोत्साहन गर्न उपयुक्त वातावरण कायम गर्ने उद्देश्यले कानुन नै बनाइसकेको छ ।

‘रोयल सोसाइटी फर द प्रोटेक्सन अफ बर्डस्’ ले पछिल्ला समय सिगल चरा जोडले चिच्चाउनु र झम्टनुको प्रमुख कारण ध्वनि प्रदूषणलाई मानेको छ । अहिले प्रायः छतका सामग्रीहरूमा बनाएको गुँडमा आफ्नो खाद्यसामग्री लैजाने गर्छन् । मानिसले रोक्ने प्रयास गर्दा सिगल आक्रामक बन्ने गरेको हो ।

प्रकाशित : श्रावण ९, २०७६ ०८:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्