कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

कता हराए खेतका गरा ?

सुशीला तामा‌ङ

काठमाडौँ — तीव्र सहरीकरण र बस्ती विस्तारको चेपुवामा नदीनाला पर्न थालेपछि केहीअघि राजधानीको टेकु र कलंकी बस्तीमा बाढी पस्यो । पछिल्लो दशक मात्रै पनि काठमाडौंको ल्यान्डस्केपमा ठूलो उतारचढाव आएको छ ।

कता हराए खेतका गरा ?

खेतीयोग्य जमिन मासिँदै गएका छन् । हराउँदै गएका खेतका गरा अब तस्बिर, चित्र या स्मृतिभित्र खोतल्नुपर्ने समय आउँदै छ । यही

समयलाई संकेत गर्छ सागर मानन्धरका पछिल्ला चित्रले ।


पुल्चोकस्थित फ्रान्सेली केन्द्रमा जारी ‘फ्रान्स–नेपाल’ शीर्षकको दुईदेशीय कला प्रदर्शनीमा मानन्धरले ‘खेतका कथाहरू’ अन्तर्गत चारवटा सिरिजमा काठमाडौं उपत्यकाको खेतका कथा प्रस्तुत गरेका छन् । स्वयम्भू डल्लुका मानन्धर खेतका गरा नियाल्दै हुर्के । बितेका एक दशकमै उनले खेतका धेरै दृश्य हेरफेर भएको देखे । हेर्दाहेर्दै धान फल्ने खेतमा ठूलाठूला भवन बने ।


अहिले बाँकी खेत पनि बाँझो र थुप्रै टुक्रामा विभाजित छन् । ‘तीव्र सहरीकरणका कारण उब्जनी दिँदै आएको खेतको महत्त्व मान्छेले भुल्दै गएका छन्,’ उनले आफ्नो कलाबारे भने, ‘मेरो कलाले खेतको कथामा केही परिवर्तन त आउँदैन होला तर खेतप्रतिको मेरो लगाव भने मैले चित्रमा पोखेँ ।’


अमूर्त शैलीमा एक्रेलिक माध्यममा बनाइएका चित्र हेर्दा कहीँ खेतकै गराको भान हुन्छ, कहीँ चाहिँ प्लटिङले कुरूप बनाएको खेतको आभास हुन्छ । यो सिरिजमा उनले खेतमा भिन्नाभिन्नै रङ प्रयोगमा ल्याएका छन् । कतै रातो, कतै हरियो, कतै निलो छ भने कतै खैरोजस्ता थुप्रै रङ छन् । रङकै माध्यमबाट खेतको सौन्दर्य झल्काउन खोजेको मानन्धर बताउँछन् ।


‘समय र मौसमअनुसार खेतका रूपरङ र स्वरूपमा परिवर्तन आइरहन्छ,’ उनी भन्छन्, ‘बिहान हेर्दा एउटा रङमा देखिने खेत राति अर्कै रङको देखिन्छ । धान रोपेका बेला देखिने खेतको रङ धान पाकेका बेला देखिँदैन । त्यतिखेर अर्कै रङ र दृश्य छाइसकेको हुन्छ ।’ खेत सिरिजमै उनले धान उब्जनी प्रक्रियादेखि किसानको परिश्रमसमेत झल्काउन खोजेका छन् ।


प्रायः ल्यान्डस्केपमा रमाउने चित्रकार बिके नरबहादुर भने प्रदर्शनीमा हिमाल सिरिजसहित उपस्थित छन् । उनी प्रायः हिमाललाई मात्रै कलामा उतार्दैनन्, हिमाली जनजीवन, सम्पदा र सांस्कृतिक पक्षको छनक दिन्छन् । साँघुरा हिमनदी, साँघु, छ्योर्तन, दर्ज्युजस्ता पक्ष कहीँ न कहीँ आएकै हुन्छन् ।


यसपटक उनले हिमालमाथिको आकाशमा दर्ज्युको रङको प्रभावलाई प्रस्तुत गरेका छन् । अग्रज कलाकार किरण मानन्धरले पनि प्रदर्शनीमा ‘लभ एन्ड इमोसन’ शीर्षकका चित्र राखेका छन् । हल्का फिगरसहितका अमूर्त शैलीमा तयार भएका उनका कलामा विशेष गरी नारी भाव र मनोविज्ञान अभिव्यक्त हुन्छ । ‘हाम्रो समाज र संस्कृतिमा नारीलाई शक्तिको प्रतीक मानिन्छ,’ उनले भने, ‘त्यही भएर नारीलाई नै केन्द्रमा राखेर कलाकर्मलाई निरन्तरता दिइरहेको छु ।’


प्रायः उनी कमलको फूलसित महिलासँग दाँजेर भाव अभिव्यक्त गर्छन् । प्रदर्शनीमा फ्रान्सेली चित्रकार भिसेन्टको ‘इन्काउन्टर,’ ‘फ्लावर इन वाइल्ड,’ ‘विन्टर फ्लावर,’ ‘मारियान्ने’ शीर्षकका कलाकृति राखिएका छन् । प्रदर्शनी दस दिन जारी रहनेछ ।

प्रकाशित : श्रावण ६, २०७६ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?