कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

प्रधानमन्त्रीसँग प्रितम र आयुष

ललितपुर — भारतीय टेलिभिजन जी टीभीको रियालिटी शो ‘सारेगमा लिल च्याम्स २०१९’ को ग्रान्ड फिनालेमा तेस्रोभएका इटहरीका प्रितम आचार्य र चौथो बनेका सिन्धुपाल्चोक ठोकर्पाका आयुष केसीको व्यस्तता आइतबार लोभलाग्दो थियो ।

प्रधानमन्त्रीसँग प्रितम र आयुष

ललितपुर झम्सीखेलमा एउटा सम्मान थाप्नेबित्तिकै उनीहरू प्रधानमन्त्री निवास बालुवाटारतिर सोझिए । त्यहाँ प्रधानमन्त्री केपी ओलीसँग आ–आफ्ना सफलताको कथा मात्रै सुनाएनन्, गीत पनि गाए । प्रधानमन्त्रीको बाल्यकाल पनि कोट्याउन भ्याए । छुट्टिने बेलामा प्रधानमन्त्रीको तर्फबाट छेवैको भाटभाटेनी सुपर मार्केट गए, किनमेल गरे ।


केही महिनाअघि मात्रै भारतमा प्रतिभा देखाएर फर्केका यी दुईले बालुवाटारमा भक्तराज आचार्यका ‘जहाँ छन् बुद्धका आँखा...’ लगायत केही गीतका अंश सुनाउँदै गर्दा प्रधानमन्त्रीले भने, ‘संगीतको चारैतिर प्रशंसा हुन्छ तर राजनीतिमा त्यसो हुन्न । आलोचना पनि खेप्नुपर्ने हुन्छ ।’ यसपछि आयुषले आफू भर्खर १३ वर्ष लाग्दै गरेको बताउँदै प्रधानमन्त्रीको १४ वर्षे जेलयात्रा सुन्न चाहेको बताए । प्रधानमन्त्रीले चाहिँ सानो छँदा धनी मान्छेहरूले हेपेको र भैंसीगोठालो गएको लगायत केही सम्झना सुनाए । प्रधानमन्त्री पत्नी राधिका शाक्य आफैले खाजा बनाएर खुवाइन् ।


कार्यक्रम संयोजन गरेका सञ्चारकर्मी एवं चलचित्रकर्मी दिनेश डीसीका अनुसार प्रधानमन्त्रीको तर्फबाट प्रितम र आयुषले भाटभटेनीमा सपिङ पनि गरे । उनीहरूले जुत्ता, पाइन्ट, ज्याकेटदेखि चस्मासम्म किने ।


आइतबारै सुरशाला म्युजिक एकेडेमीले यी दुईको सम्मान पनि गर्‍यो । गायक रामकृष्ण ढकाल, उद्यमी उपेन्द्र महतो, सुरशाला संस्थापक अमृत क्षत्रीलगायतले खादा, माला तथा प्रमाणपत्र हस्तान्तरण गरे । कार्यक्रममा आफूलाई सहयोग र समर्थन गर्ने सम्पूर्णमा आभार प्रकट गर्दै प्रितम र आयुष दुवैले सांगीतिक प्रस्तुतिसमेत दिए ।


दुवैले नेपाली र हिन्दी गरी चार गीत गाए । प्रितमले भक्तराज आचार्यका ‘जहाँ छन् बुद्धका आँखा...’ र हिन्दी गीत ‘सन्देशे आते हे...’ गाए भने आयुषले अमृत क्षत्रीको ‘म एउटा बालक...’ र हिन्दी फिल्म ‘जिरो’को ‘मेरे नाम तु...’ गाए । दुवैको स्वरको प्रशंसा गर्दै गायक ढकालले संगीतमा कसैको पोजिसनभन्दा पहिचान ठूलो हुने भएकाले दुवैलाई निरन्तरताको कामना गरे ।

प्रकाशित : श्रावण ६, २०७६ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?