लोकगीतमा मौलिकता खै ?

बुटवल — लोकगीतमा ‘ब्याटल’ संस्कृति बढिरहेको छ । पछिल्लो समय त यसमा डिस्कोसमेत नाच्न थालिएको छ । लोकगायक तथा कलाकार यसमा चिन्तित छन् ।

शनिबार आयोजित जमघटमा लोक तथा दोहोरी गीत प्रतिष्ठानका पदाधिकारीले संस्कृतिको संरक्षण गर्न आफैंबाट सुरुवात गर्नुपर्ने बताए । ‘लोकगीतमा मौलिकता हुनुपर्छ,’ प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष रमेश बीजीले भने, ‘कम्तीमा लोक गीतको यो धरातल नबिर्सौं ।’


पहिले लोकगीत संकलन गरिन्थ्यो । मेलापात, हाटबजार, रोधी, मारुनीमा स्वतःस्फूर्त लोकगीत निस्किन्थे । प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले लोक संस्कृतिको प्रवर्द्धन र विद्यमान समस्याको अन्त्य गर्न अभियान चलाउनुपर्ने बताए । ‘नेपाली लोकगीत, लोकभाका देशको मौलिक सम्पत्ति हो,’ उनले भने, ‘यसैले लोकसंस्कृतिको विकास र जगेर्ना गर्न राष्ट्रले पनि सहयोग गर्नुपर्छ ।’ लोकसंगीतका माध्ययमबाट समाजमा सुशासन कायम गर्न र समाज रूपान्तरण गर्न लोकसंस्कृति संरक्षणका लागि राज्य उदार भएर लाग्नुपर्ने उनले बताए ।


लोकगीतको सुर, ताल, लय, शब्द संयोजन, हाउभाउ सबैमा लोकसंस्कृति र मौलिकता हुनुपर्छ । लोकगीत र दोहोरीको ऐतिहासिक महत्त्व र रोचकता जनमानसमा पुर्‍याउन प्रतिष्ठानले पछिल्लो समय देशका विभिन्न स्थानमा लोकमहोत्सव आयोजना गर्न थालेको छ ।


प्रतिष्ठानका निवर्तमान अध्यक्ष चन्द्र शर्माले मौलिक लोकसंस्कृतिको संरक्षणका लागि व्यक्तिगत स्वार्थभन्दा माथि उठ्न आवश्यक रहेको बताए । ‘छिटो नाम र दाम कमाइने लोभमा मौलिक संस्कृतिभन्दा बाहिर जानु हुन्न,’ उनले भने, ‘कलाकार सचेत भए मौलिकता जोगाउन सकिन्छ ।’

प्रकाशित : श्रावण ६, २०७६ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?