२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

नेपालीलाई लाग्यो मिस इंग्ल्यान्ड

लन्डन — करिब २२ हजार आवेदकमध्येबाट छानिएर ’मिस इंग्ल्यान्ड प्रतियोगिता–२०१९’ को अन्तिम चरणमा पुगेकी नेपाली चेली प्रतिष्ठा ‘तृष’ राउतलाई जिताउन नेपाली समुदाय जुटेको छ । बेलायतको एउटा प्रतिष्ठित सौन्दर्य प्रतियोगितामा पहिलो पटक नेपाली प्रतिस्पर्धी त्यो चरणसम्म पुग्नुलाई बेलायतस्थित नेपाली डायस्पोराले गर्वका रूपमा लिएको छ । 

नेपालीलाई लाग्यो मिस इंग्ल्यान्ड

अल्डरसट निवासी २६ वर्षीया प्रतिष्ठा भूपू गोर्खा प्रकाश राउतकी छोरी हुन् । गोर्खा पृष्ठभूमिबाट भएकाले पनि उनको जित सुनिश्चित गर्न नेपाली र गोर्खा समुदाय लागेका छन् । ‘उनको जित केवल राउत परिवारको मात्र होइन, यो नेपालकै गर्वको विषय हुने छ,’ शनिबार प्रतिष्ठाकै सहयोगार्थ आयोजित च्यारिटीका एक संयोजक सामाजिक अभियन्ता रामशरण सिंखडाले भने, ‘उनको च्यारिटीलाई सहयोग गरेर वा मत दिएर जिताउन हामी सामूहिक पहलमा लागेका छौं ।’


लन्डन हयारोमा आयोजित च्यारिटी डिनरमा करिब १० हजार पाउन्ड सहयोगको प्रतिबद्धता आएको संयोजक सिंखडाले जानकारी दिए । क्षेत्री समाज यूके, इन्टेक १९८२ लगायत संस्थाबाट संस्थागत र अन्य व्यक्तिगत सहयोग अप्रत्याशित रूपमा पाएपछि आशावादी थिइन् प्रतिष्ठा । पेसाले आर्किटेक्ट प्रतिष्ठाले मानसिक स्वास्थ्य सचेतना र त्यस समस्याबाट पीडित व्यक्तिको सहयोगका लागि च्यारिटी जुटाइरहेकी छन् ।


प्रभावकारी च्यारिटी कामले प्रतियोगीलाई ‘ब्युटी विथ पर्पोज’ टाइटिल जिताउने छ । ‘मानसिक स्वास्थ्यलाई मानिसले सहज रूपमा लिइरहेका छन् । तर, यसको पीडा त्यसलाई मात्र थाहा हुन्छ जसले प्रत्यक्ष भोगेको छ,’ आँसु झार्दै भावुक बनेकी प्रतिष्ठाले भनिन्, ‘म यस प्रतियोगिताभर मात्र होइन, भविष्यमा पनि मानसिक स्वास्थ्यबाट पीडित व्यक्तिको सहयोग र जनचेतना जगाउन लागि पर्ने छु ।’


५४ प्रतिस्पर्धीबीच १० राउन्डमा मिस इंग्ल्यान्ड २०१९ फाइनल यही ३१ जुलाई र १ अगस्टमा न्यु क्यासल अपन टाइनमा हुने तयारी छ । ३१ जुलाईमा स्पोर्टस डे र सौन्दर्यसम्बन्धी परीक्षा अनि भोलिपल्ट ‘ग्र्यान्ड फिनाले’ हुने आयोजकले जनाएका छन् ।


सबै प्रतियोगी फाइनल क्याटाकमा देखिने छन् भने क्रमशः टप २० र टप ५ छानिने छ । १ अगस्ट बिहीबार १२ बजेसम्म भोटिङ समय–सीमा छ । प्रतिष्ठाले ‘मिस इंग्ल्यान्ड ४२ टु ६३३३३ मा टेक्सट’ गरेर वा अनलाइन भोटमार्फत सहयोग गर्न पनि अपिल गरेकी छन् ।

प्रकाशित : श्रावण ५, २०७६ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?