मूर्तिमा मोह

सुम्निमा चाम्लिङ

इटहरी — खोटाङ रतन्छाकी रेनुका तिम्सिनाको बाल्यकालदेखि किशोरावस्थासम्म घाँस–दाउरामै बित्यो । बाह्र वर्षको कलिलो उमेरमै विवाह भयो । सानैदेखि चित्र कोर्ने रहर मनमै सीमित रहृयो । ७० वर्षीया उनी यति बेला, इटहरीमा जारी मूर्तिकला कार्यशालामा रमाउँदै छिन् । चित्र सिक्ने अधुरा सपना मूर्तिकलामा पोख्ने कोसिस गर्दै छिन् । 

रोचक के भने मूर्तिको विषय चाहिँले उनले जाँतोलाई बनाइन् । ‘जीवनको लामो समय ढिकीजाँतोमै बित्यो,’ अनुहार हँसिलो बनाउँदै उनले भनिन्, ‘नयाँ पुस्ताले जाँतो बिर्संदै गएको छ । त्यसैले यसैको मूर्ति बनाएकी हुँ ।’ हुन त मूर्तिकार विक्रमश्री उनकै जेठा छोरा हुन् । अन्य दुई जना छोरासमेत मूर्तिकार तथा चित्रकार छन् । यद्यपि छोराहरूको काम बुझ्ने मौका उनलाई कहिल्यै जुरेन । कार्यशालामा उनले दिवंगत छोरीको स्मृतिमा पनि मूर्ति बनाएकी छन् । ७० वर्षको उमेरमा आफ्नै हातले छोरीको आकृति बनाएपछि उनले चार सन्तान पूर्ण भएको महसुस गरेकी छन् ।

बुद्ध भन्नेबित्तिकै पुरुषको आकृति मानसपटलमा आउने गर्छ । इटहरीकी यशोदा लम्सालले भने देवीको आकृति झल्कने गरी वृद्ध बनाएकी छन् । बुद्धका दुई आँखा बन्द छन्, तेस्रो आँखा भने खुल्ला छ । तेस्रो आँखाको माध्यमबाट संसार हेरिरहेको भावलाई मूर्तिमा ढाल्न चाहेको लम्सालले बताइन् ।

उनको मूर्तिमा बुद्धले शिरमा मुकुट र शरीरमा गरगहना लगाएका छन् । झट्ट हेर्दा राजासी ठाँटमा बसेको देखिन्छ । उनका विचारमा बुद्ध कसैले पनि देखेका छैनन् । कल्पना गरेको आधारमा चित्र कोरिएको हो भन्ने उनको बुझाइ छ । ‘बुद्धको वास्तविक आकृति छैन,’ उनले भनिन्, ‘मेरो मस्तिष्कले जस्तो सोच्यो, त्यस्तै बनाएँ ।’

तेह्रथुम आठराईकी १५ वर्षीया अनिसा इस्बो कार्यशालामा सहभागीमध्ये सबैभन्दा कान्छी हुन् । कक्षा १० मा अध्ययन गर्दै आएकी उनी मूर्तिकला सिक्नका तेह्रथुमबाट इटहरी आएकी हुन् । असारे बिदामा कार्यशाला सुरु भएकाले उनले स्कुल छुटाउन परेन । उनले फुर्सद हुनेबित्तिकै घर लिप्ने माटो लिएर गणेश तथा बुद्धका मूर्ति बनाउने गरेको बताइन् । एसईई पूरा गरेपछि ललितकला पढ्ने उनको योजना छ । कार्यशालामा उनले पनि बुद्धको मूर्ति बनाइन् ।

दोस्रो चरणमा भने उनले एक आदिवासी युवतीको मूर्ति बनाएकी छन् । उनले बनाएको मूर्ति कसैको हुबहु आकृति भने होइन । कल्पना गरिएको आकृति हो । कार्यशालामा सहभागी भएर धेरै कुरा सिक्न पाएको बताइन् । ‘घरमा हुँदा हातले सिधै मूर्ति बनाउँथें,’ उनले भनिन्, ‘यहाँ आएपछि टुल्स चलाउन जाने । मूर्ति बनाउनुअघिका प्राविधिक ज्ञान पाएँ ।’

यस्तै, कानेपोखरी ५ मोरङकी हेमा सुनुवार राई कार्यशालामा सगरमाथा चढ्ने पहिलो नेपाली महिला पासाङल्हामु शेर्पाको मूर्ति बनाउँदै गरेकी भेटिइन् । उनमा सानैदेखि पासाङप्रति सम्मान थियो । यही सम्मान आफ्नो मूर्तिकलामा पोख्न पाउदा निकै खुसी छिन् ।

प्रदेश नं. १ सरकारको सामाजिक विकास मन्त्रालयले गरेको डेढ महिने आवासीय कार्यशालाको इटहरी मेट्रिक्स र शन्ति निकेतनले संयोजन गरेको छ । कार्यशालामा प्रदेश १ का ३२ जना सहभागी छन् । जसमध्ये चार जना महिला छन् ।

प्रकाशित : श्रावण ५, २०७६ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

उपाध्यायलाई यात्री वाङ्मय

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्णप्रकाश नेपाल यात्री अध्ययन तथा अनुसन्धान केन्द्रले साहित्यकार/समालोचक प्रा. केशवप्रसाद उपाध्यायलाई यात्री वाङ्मय पुरस्कार प्रदान गरेको छ । 

यात्रीको ८६ औं जन्मजयन्ती पारी नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार आयोजित समारोहमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रा. उपाध्यायलाई पुरस्कार अर्पण गरे । ५१ हजार रुपैयाँसहितको उक्त पुरस्कार यसअघि राष्ट्रकवि माधवप्रसाद घिमिरे,वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी र भाषाशास्त्री बालकृष्ण पोखरेललाई प्रदान गरिसकिएको छ ।

यसैगरी, शोधार्थी प्रमिला गुरागाईंलाई १० हजार राशि रहेको यात्री विद्या पदक प्रदान गरियो । उक्त पदक यात्रीका कृतिमाथि शोध गर्नेलाई दिइँदै आएको छ । पूर्वप्रधानमन्त्री नेपालले मुलुकलाई समग्रमा चिनाउन यात्रीले लोक विश्वविद्यालयको सपना देखेको स्मरण गर्दै आफू त्यसको स्थापनाका लागि प्रयत्नशील रहने प्रतिबद्धता जनाए ।

प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले यात्री मुलुकलाई चिन्ने थोरै विद्वान्हरूमध्ये एक रहेको बताए । प्रा. महादेव अवस्थीले यात्री आफ्नो समयका नेपालविज्ञ रहेको उल्लेख गर्दै थपे, ‘हाम्रो मुलुकको प्रकृति, मानवजीवन, विभिन्न पक्षको जानकारी लिनुपरे यात्रीजीलाई पढ्नैपर्छ ।’

प्रा. उपाध्यायले समकालीन स्रष्टाको नामको पुरस्कार पाउनु आफ्ना लागि विशेष खुसीको विषय रहेको बताए । केन्द्र अध्यक्ष डा. शैलेन्दुप्रकाश नेपालले स्थापित र नवोदित कलमजीवीको सम्मानको परम्परालाई अघि बढाइरहने सुनाए । समारोहमा यात्रीको नियात्रा कृति ‘भेरीका गाउँघर’ पनि लोकार्पण गरियो ।

प्रकाशित : श्रावण ५, २०७६ ०८:०७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT