मेहन्दी मौसम

सुशीला तामा‌ङ

ललितपुर — केही दिनको झरीपछि हल्का उग्रिएको साउन महिनाको पहिलो दिन । हरियो पहिरन, दायाँपछि बायाँ हत्केलामा मेहन्दीको बुट्टाहरू सजिँदै थिए । बुट्टाकै बीचतिर अंग्रेजीमा पतिको नाम कोरिएको थियो ‘शैलेन्द्र’ ।

ललितपुरमा आयोजित मेहन्दी फेस्टिभलमा हात रंग्याउँदै महिला । तस्बिर : कान्तिपुर 

हातदेखि नाडीसम्म मेहन्दीको जति सजिँदै गएका थिए त्योभन्दा बढी मुहारमा चमक थपिँदै थियो अञ्जु मिश्रको । उनकै शब्दमा उनको हातमा सजिएको मेहन्दीको डिजाइन चाहिँ ‘फुलह्यान्ड्स’ मेहन्दी रे । अर्थात् हत्केलाको दुवैतर्फ नाडीसम्म नै लगाउने मेहन्दी ।

राजधानीस्थित विशालनगरमा बस्दै आएकी जनकपुरकी अञ्जुले पतिको दीर्घायु, सुख, शान्तिका लागि नै मेहन्दी लगाउने परम्परा रहेको बताइन् । साउन महिना वर्षात् र हरियालीको हिसाबले विशेष भए पनि तराईमा चाहिँ संस्कृति पनि जोडिएर आउने उनले बताइन् ।

‘जनकपुरतिर त साउन र भदौ महिना पूरै मेहन्दीमय हुन्छ,’ उनले भनिन्, । मेहन्दीसित जोडिएको पारिवारिक प्रेमको पुरानो मान्यता पनि उनले प्रकाश पारिन् । उनका अनुसार साउन महिनाको मेहन्दी पतिप्रति समर्पित हुन्छ भने भदौ महिनाको मेहन्दीचाहिँ भाइप्रति । ‘यो परम्पराले दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्धलाई पनि प्रगाढ पारिराख्न सहयोग पुर्‍याउँछ ।’

काठमाडौंमा भने मेहन्दी परम्परा केही वर्ष यतामा मात्रै भित्रिएको उनको अनुभव छ । ललितपुरको पुलचोकस्थित लाबिम मलमा ओपन स्पेसले गरेको दुईदिने ‘मेहन्दी फेस्टिभल’ मा अञ्जुजस्तै थुप्रै विवाहित तथा अविवाहित महिलाको भीड देखिन्थ्यो ।

फेस्टिभलमा पाँच जना मेहन्दी कलाकारहरू निरन्तर व्यस्त बनेका थिए । पालो कुर्नेहरूको भीड उस्तै । मेहन्दी पारखीलाई मिलाएर राख्न नै व्यस्त देखिएकी फेस्टिभल संयोजक फलक पर्विनले बुधबार २ घण्टाको अवधिमा मात्र २५ जनाले मेहन्दी लगाइसकेको बताइन् । सुलभ र सहज रूपमा मेहन्दी पारखीलाई सेवा दिँदै मेहन्दी कला प्रर्व्द्धन गर्ने ध्येयले फेस्टिभल गरिएको पर्विनले बताइन् ।

पहिले विवाह, पार्टी र कुनै पर्वहरूका बेला मात्र मेहन्दी लगाउने प्रचलन भए पनि बितेका ३/४ वर्षअघिदेखि साउन महिनामा मेहन्दी लगाउनेहरू सहरमा निकै बढेको कलाकार कविता रोक्काले बताइन् । उनका अनुसार अरू बेला पनि मेहन्दी लगाउनेको क्रेज बढदो छ । तर साउन महिनामा भने कहिल्यै नलगाउने महिलाहरू पनि हातभरि मेहन्दी लगाइदिन उनीकहाँ आइपुग्छन् ।

मेहन्दी लगाउन नै लाइनमा बसेकी थिइन् नैकापकी सुनीता पाण्डे । उनीचाहिँ साउन महिनालाई विशेष बनाएर मेहन्दी लगाउन आएकी होइनन् । ‘साथीभाइका हात सजिएको देखेर रहर लागेको हो,’ उनले भनिन्, ‘हाम्रोमा मेहन्दी संस्कार छैन । तैपनि यो कला मलाई मन पर्छ । अहिले त यो फेसनजस्तो भयो ।’

स्वयम्भू सानो भर्‍याङकी सानिमा शाहले पनि सुनीताको मतलाई समर्थन गरिन् । धार्मिक महिमाभन्दा पनि मेहन्दीप्रतिको सोख र रहरले उनी पनि तानिएकी थिइन् । हाँडीगाउँकी आकांक्षा गिरी र सञ्जुला पाण्डेले पनि रहरमै डोरिएर फेस्टिभल आएका थिए ।

भारतको दिल्लीबाट प्रशिक्षण लिएर विगत ८ वर्षदेखि मेहन्दी लगाउने कार्यलाई निरन्तरता दिइरहेकी श्वेता शर्माका अनुसार ‘महिलाका लागि शुभ र शृंगार’ दुवैको अर्थ राख्ने भएकाले पछिल्लो समय मेहन्दी क्रेज बढदो छ । ‘धार्मिक तथा सामाजिक परम्पराका कारण पनि मेहेन्दीको संस्कृति सजिलै विस्तार भएको हो,’ उनले भनिन् ।

मेहन्दी आर्टमा ५ वर्षको अनुभव संगालिसकेकी सानोठिमीकी अश्विनी भेटुवाल भने पछिल्लो समय धार्मिकभन्दा पनि फेसनेबल सोच अलि बढदै गइरहेको बताउँछिन् । ‘फेसनेबल देखिनकै लागि मेहन्दी लाउनेहरू थुप्रै छन्,’ उनले भनिन्, ‘एक थरीलाई आयआर्जनको राम्रो माध्यम पनि बनेको छ ।’

प्रकाशित : श्रावण २, २०७६ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्

भेडीगोठको फिल्म

कान्तिपुर संवाददाता

पोखरा — संस्कृतिलाई केन्द्रमा राखी गुरुङ फिल्म ‘मि न्होर्बे ट’ अर्थात् ‘आँखाभित्रको फूल’ बनेको छ । हालै पोखरामा सार्वजनिक फिल्मको प्रचार सामग्रीमा गुरुङ पोसाकमा सजिएकी युवतीको घाटु नाचेपछिको दृश्यलाई प्राथामिकतामा राखिएको छ ।

उनले प्राचीन परम्परा झल्किने क्राउन लगाएकी छन् । उनीसँगै एक युवक गोठालाको भेषमा छन् । उनले चाहिँ बरुवल भेडाको ऊनबाट निर्मित पुरानो बख्खु ओढेका छन् । पछिल्लो पंक्तिमा एकजना सहरिया युवकको बीचमा दुई जना गुरुङ पोसाकमा सजिएका युवती छन् ।

गुरुङ समुदायको मौलिक संस्कृति र आधुनिकीकरणबीचको द्वन्द्वलाई फिल्मले समेट्न खोजेको पोस्टरबाटै प्रस्ट हुन्छ । घाटु नाचपछि गोठालालाई राजा बनाइएको प्राचीन सन्दर्भसमेत समेटिएको फिल्म सांस्कृतिक धारमा बनेको निर्देशक उमानसिंह गुरुङले बताए । गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान) का पूर्वअध्यक्षसमेत रहेकामादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले गुरुङ फिल्मले गुरुङ मौलिकता प्रवर्द्धन गर्ने दाबी गरे ।

फस्टलुकसँगै कार्यक्रममा फिल्ममा समेटिएको ‘गलबन्दीई चैंस्यो ङोल्स्यो...’ (गलबन्दीले तनौंला सोल्टिनी)’ बोलको भिडियो पनि सार्वजनिक गरिएको थियो । अर्जुन गुरुङ मुख्य सहायक निर्देशक रहेको फिल्ममा मुख्य पात्र मिस चितवन २०१७ का विजेता सुमन गुरुङ छन् । उनको यो डेब्यु फिल्म हो ।

भेंडीगोठालाका पात्र लमजुङमा खेमराज घले छन् । सुमित गुरुङ, एलिजा गुरुङ, पवित्र गुरुङ, विवेक गुरुङ, अमीर गुरुङ (बन्दीपुरे ठागु), धर्मदेव घले, आशिष गुरुङ, दुर्गा गुरुङलगायतले पनि अभिनय गरेका छन् । गुरुङ समुदायको उद्गम थलो मानिने लमजुङको क्व्होलासोंथरमा खिचिएको फिल्म ३५ लाख रुपैयाँ लगानीमा निर्माण गरिएको बताइएको छ ।

प्रकाशित : श्रावण २, २०७६ ०८:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्