१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

छवि–शिल्पाको सम्बन्धमा पूर्णविरामको संकेत

रामजी ज्ञवाली

काठमाडौँ — पछिल्लो एक हप्ता नेपाली चलचित्रको बजार निर्माता छविराज ओझा र अभिनेत्री तथा उनकी धर्मपत्नी शिल्पा पोखरेलको झगडाले तताएको छ । सामान्य भनाभनपछि सुरु भएको उनीहरूको झगडा यतिमाथि पुगेको छ कि अब शिल्पा छविको घर फर्किने सम्भावना छैन । छविको मनमा समेत आशा मर्दै गएको छ ।

छवि–शिल्पाको सम्बन्धमा पूर्णविरामको संकेत

छविराज र शिल्पाको बिहे भएको तीन वर्ष पुरा भएको छ । उनीहरूको बिहे २०७३ असार २९ मा भएको थियो । तर उनीहरुलेसँगै रहेर तेस्रो वैवाहिक वर्षगाँठ मनाउन पाएनन् । लगभग २५ दिनअघि घर छोडेकी शिल्पालाई वैवाहिक वर्षगाँठको अवसरमा उनका श्रीमान् छविराजले ‘हृयाप्पी थर्ड एनिभर्सरी’ भनेर म्यासेज पठाए, शिल्पाको मोबाइलमा । यति मात्रै होइन उनले म्यासेजमा आउनुस् बसौँ, विगतका कुराहरू बिर्सिएर नयाँ किसिमले जिन्दगीको सुरुवात गरौँ समेत भनेका छन् । तर, शिल्पाको रिप्लाई आएन । हिजो मात्रै उनीहरूको फोनमा कुराकानी भएको छ । कुराकानीमा छविले ‘तपाईँ भएको स्थानमै आउँछु, बसेरै कुराकानी गरौँ’ भने । तर, शिल्पाले ‘म भेट्न सक्दिन,मेरो वकिलले भेट्छ’ भनेर जवाफ फर्काइन् ।


उनीहरूको पछिल्लो गतिविधि नियाल्ने हो भने वैवाहिक सम्बन्धमा पूर्णविराम लाग्ने संकेत देखिएको छ । शिल्पाले छविसँग डिभोर्सको प्रक्रिया थालिसकेकी छिन् । तर, छविले शिल्पालाई घरको ढोका खुलै रहेको बताएका छन् । ‘५२ वर्षको उमेरमा ३ जना श्रीमतीसँग सम्बन्ध विच्छेद भइसकेपछि शिल्पासँग जिन्दगी बिताउन सक्छु होला भनेर जिन्दगीका सबै थोक कम्प्रमाइज गरेर बिहे गरेको श्रीमती हो’, छविले भने,‘यदि शिल्पा पनि आफूलाई सच्याएर, बिहे गर्ने बेलामा आश्वासन दिलाए जस्तै मेरो बुढेसकालको सहारा बनेर बस्न सक्नुहुन्छ भने म पनि मेरा कमी कमजोरीहरु सच्याएर गान्धीवादी भएर बस्न सक्छु ।’ उनले शिल्पालाई अरूका कुरा नसुन्न र घर फर्किन आग्रह गरेका छन् ।


असार ८ गते छवि र शिल्पाबीच झगडा सुरु भएको हो । ११ बजे शिल्पा घरबाट निस्किइन् । ५ बजे पुनः घर आइन् । र, आफ्ना कपडा लिएर फेरी आफन्तकोमा फर्किइन् । त्यसको दुई हप्तापछि २२ गते टेकु प्रहरीले शिल्पाले घरेलु हिंसा अन्तर्गत उजुरी हाले पश्चात् छलफलका लागि छविलाई बोलायो । यस घटनापछि मात्र मिडियामा उनीहरुबीच बढिरहेको खटपट पहिलो पटक बाहिरिएको हो ।


शिल्पाले लामो समयदेखि आफूलाई अनावश्यक शंका गर्ने, हरेक काममा रोक्ने र सधैँ झगडा गर्ने गरेको तथा निरन्तर झापडसमेत हान्ने गरेको बताएकी छिन् । उनले पछिल्लो समय छविले आफ्नो कानको जाली फुट्ने गरी झापड हानेपछि घर छोडेको बताएकी छिन् । तर, छविले भने यो आरोप मात्रै हो भनेका छन् । छवि भन्छन्,‘त्यो दिन कानको जाली फुटेको भए किन १५ दिनपछि उजुरी हालेको त ? त्यसबीचमा विभिन्न पार्टीमा पुगेको थाहा पाएको छु ।’


अन्याय त मलाई पो भएको छ : छविराज

यस घटनालाई लिएर धेरैले विभिन्न किसिमले व्याख्या गरेका छन् । कतिपयले यो सबैको कारण छविराज हो भनेका छन्, कतिले शिल्पा । छविले भने शिल्पा नभएर आफू अन्यायमा परेको बताएका छन् । ‘म पुरुष हो, ५५ वर्षको भएँ ।


मेरो बारेमा को बोल्छ ? जिन्दगीभर साथ दिन्छु भन्नुभएको थियो, अहिले यो के गरिरहनुभएको छ ?’ उनले भने, ‘सधौ तीनवटा बिहे भएका र अघिका बिहे फापेन भन्दैमा जहिले पनि मेरो गल्ती हुन्छ ?’ बिहेअघि तीनवर्ष डेटमा रहेका बेला सबै कुरा बुझेपछि बिहे बन्धनमा बाँधिएको बताउँदै उनले अहिले अनावश्यक रूपमा आरोप लगाएको बताए । ५५ वर्षका छविराजले आगामी समय पनि शिल्पासँगै बिताउन चाहेका छन् । शिल्पासँग डिभोर्स भयो भने आगामी समयमा कोही कसैसँग पनि बिहे नगर्ने बताए । छविले यसअघि तीनवटा बिहे गरिसकेका थिए । शिल्पा चौथो श्रीमतीको रूपमा छविको घर भित्रिएकी थिइन् ।


शिल्पा भन्छिन्,‘डिभोर्स दिन्छु, छविको घर फर्किने छैन’

तीन वर्षदेखि माफी दिइरहेकी थिएँ तर अन्तिम समयमा पुलिस स्टेसनमा जान बाध्य भएँ, उनले भनिन्,‘अरू बेलामा घाँटी थिचेर छोड्नुहुन्थ्यो, तर अन्तिम समयमा घाँटी थिचेको थिच्यै गर्नुभयो र मैले खुट्टाले हानेर हिँडेकी हुँ ।’ शिल्पाका अनुसार बिहे भएको एक महिनापछि घरमा झगडा सुरु भएको हो ।


बिहे भएको एक महिनापछि विभिन्न किसिमका आरोप लगाउन सुरु गरेको, शङ्का गर्ने गरेको उनले बताइन् । छविले आफूलाई असाध्यै धेरै पिडा दिएपछि मात्रै डिभोर्सको कदम चालेको शिल्पाले बताइन् । ‘अब म खुसी भएर बाँच्न चाहन्छु’, उनले भनिन्,‘म धेरै रोएँ, धेरै सहे तर अब म घुम्न चाहन्छु, रमाउन चाहन्छु, पुरानै किसिमले जिन्दगी बिताउने रहर छ ।’ शिल्पाले तीन वर्षदेखि आफू चुप रहेर बसेको र पछिल्लो समय मार्न खोजेपछि पुलिसको सहारा लिएको बताइन् ।


दिनहुँ घरमा रोइरहेका बेलामा समेत कहिल्यै सहारा नदिएको, घुम्न निस्कने बेलामा समेत अनावश्यक टर्चर दिने गरेको, सामान्य विषयमा समेत झापड हान्ने गरेको शिल्पाको भनाई छ ।

प्रकाशित : असार ३१, २०७६ १५:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?