कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

उमेर बूढो भया पन मन बूढो छैन

मेनुका ढुंगाना

अछाम — साल बित्या, समय बित्या आउँदैन घुमेर
जोस जाँगर छ, रोग छैन, असी भो उमेर 
जात्रा लाग्दा बलि दिँदा पारि तिमिल्सैन
उमेर बूढो भया पन मन त बूढो छैन

उमेर बूढो भया पन मन बूढो छैन

वर्षाको समय किसानले रोपाइँ गर्ने, उज्गला (पाखोबारी) मा लगाएको धान, कोदो गोड्ने मौसम हो । पहाडका कुनाकन्दरासम्म बसोबास गर्ने बासिन्दालाई परम्परागत खेतीकिसानीको कामकै भ्याइनभ्याई छ । बालादेखि वृद्धसम्म खेतबारीमै खटिएका हुन्छन् । गीतका भाका हाल्दै ।


गाउँघरका बूढापाकाको जाँगर र उत्साह पनि तन्नेरीभन्दा कम देखिन्न । मंगलसेन नगरपालिका ५ की ८० वर्षीया कल्धरी सुवेदी नातिनातिनाको स्याहार गरेर दिन गुजार्नुपर्ने उमेरमा छोराबुहारीसँगै बिहानैदेखि खेतबारीमै हुन्छिन् । घरमा बसेका बेला खाना पकाएर परिवारलाई सघाउँछिन् । ‘घर भित्र–बाहिरको काम सासू–बुहारी मिलेर मिलिजुली गर्छौं,’ कल्धरीले भनिन्, ‘दिनभर घरमै त्यसै बस्नुपरे मन नै शान्त हुन्न ।’ खाना पचाउनका लागि पनि काम गरिराख्नुपर्ने उनको भनाइ छ । हालसम्म रोगव्याधिले थला पर्नु नपरेको उनले बताइन् । भनिन्, ‘अझै पनि तन्नेरीकै जति काम गर्न सक्छु भन्ने हिम्मत छ ।’


जेठानी, देउरानीहरू कलिलै उमेरका भएकाले उनीहरू ‘बूढी दी’ भनेर जिस्कने गरेका भए पनि सबैले आफूलाई माया गर्ने गरेको कल्धरी बताउँछिन् । गाउँमा हुने देउडा, रत्यौली, रोपारादेखि गोडमेललगायतका साझा काममा सबैले बोलाइदिँदा खुसी मान्ने उनले कुरा गर्दागर्दै देउडा गीतका टुक्का सुनाइरहन्थिन् ।


कल्धरीको विवाह ७ वर्षकै उमेरमा भयो । उनी आफ्नो विवाह भएको समय र अहिलेको समयलाई तुलना गर्दा धेरै फरक पाउँछिन् । ‘त्यति बेला चेलीबेटी पानी छाउ ओर्लेपछि कन्यादान दिन हुँदैन भन्ने चलन थियो । छाउ (महिनावारी) भएर पनि बिहे नगरेकी छोरीलाई मत्तली भन्थे,’ कल्धरीले भनिन्, ‘मलाई आफ्नै बिहे भएको दिन खासै याद छैन । डोलीमा बस्न नजानेर ससुराले काखमा च्यापेर ल्याएको मात्रै सम्झन्छु ।’


अहिलेको विवाह गर्ने चलन र आफ्नो बेलाको विवाह चलनलाई उनले तुलना गरिन्, ‘त्यतिबेला आमाबाबुलाई आफ्ना छोरी ५ वर्ष नाघ्न थालेपछि विवाहको चिन्ता सुरु हुन्थ्यो । अहिलेका छोरीहरू १७/१८ वर्षको उमेरमै बिहे गरेको देख्दा कति छिटो विवाह गर्न हतारिएका हुन् भन्ने लाग्छ ।’ अहिले घरछेउमै रहेको फराकिलो मध्यपहाडी लोकमार्गमा ओहोरदोहोर गरिरहने गाडी देखेर उनी खुसी हुन्छिन् । ‘त्यो बेला गाडी, मोटरका कुरै हुन्थेनन् । तर अहिले आँखै अगाडि बदलिएको जमान देख्न पाइयो ।’


अहिलेको परिवर्तित अवस्था देखेर उनका समकालीन पनि चकित पर्ने गरेका छन् । जन्म, विवाह, मृत्यु र अन्य सामाजिक काम गर्ने शैली फेरिएका छन् । त्यति मात्र होइन, मान्छेका स्वभाव पनि बदलिएको छ । ‘हाम्रो पालामा जन्मदिन भन्ने थाहै थिएन । अहिले त बर्थ डेकै खर्च पनि थुप्रै लाग्छ । बिहेको त कुरै छोडौं ।’


कल्धरीकै छिमेकी ८१ वर्षीया कोकिला ढुंगानाका ५ छोरा र ३ छोरी छन् । उनी जेठा छोराबुहारी, नातिनातिनी बुहारीसँग बस्छिन् । ३ पुस्तासँगै बस्ने घरमा उनको अरूसँग कुरा मिल्दैन । कुरा नमिल्ने अरू केही किचलोका कारणले भने हैन । कोकिला आफू पनि हात खाली बस्दिनन्, घरका परिवारलाई पनि काम गरिरहून् भन्ने उनलाई लाग्छ ।


मेलापातदेखि खेतबारीकोको काममा सक्रिय कोकिला पहिलेको समयभन्दा अहिलेको समय देखेर उत्साहित पनि हुन्छिन्, निराश पनि । ‘यत्रो उमेर भइसक्यो, हामीलाई केही रोग छैन । अहिले त जन्मँदै रोग लिएर आउने र’ैछन्,’ उनले भनिन्, ‘काम नगरी बस्दा उकुसमुकुस हुन्छ । जति काम गर्‍यो त्यति हातखुट्टा हलुका हुन्छन् ।’


उनी सबेरै उठेर खेतबारीमा गएदेखि साँझ अँध्यारो नहुँदासम्म काममै व्यस्त रहन्छिन् । ‘ओखलमा धान कुट्दै, जाँतोमा गहुँ पिसेर गुजारा चलाउनेदेखि मिलमा कुटानीपिसानी हुनेसम्मका सुविधा देखिए,’ कोकिला भन्छिन्, ‘सुविधा मात्रै भएन यसले त मान्छेलाई अल्छी पनि बनायो ।’ आफ्नो उमेरका बूढापाकाहरू आफ्नै बेलाको जस्तो चलन खोज्छौं ।


तर बदलिएको समयमा नातिनातिनाको भाषाअनुसार पनि चल्नै पर्‍यो भनेर चित्त बुझाउँछु ।’ अछामका दुर्गम बस्तीमा सडक पहुँच, गाउँगाउँमा कुटानीपिसानी गर्ने मिलहरू स्थापना हुनुले स्थानीयको दैनिकी सहज भएको छ । ५/७ वर्षको अवधिमा गाउँमा भएको परिवर्तन देखेर बूढापाका खुसी देखिन्छन् । यातायातको सुविधा गाउँसम्मै पुगेपछि शिक्षा, स्वास्थ्य, रोजगारी र यहाँको समग्र जीवनशैली नै बदलिएको छ ।


नेपालसँग सिमाना जोडिएको भारतको तिकुनियाबाट १० दिनको बाटो हिँडेर नुन ल्याएर गुजारा चलाएका यहाँका स्थानीय अहिले घरआँगनबाटै नुन किन्छन् । ‘घामपानी र भोकन्द्रिा सहँदै तिकुनियाबाट नुन ल्याएको सम्झँदा अझै पनि थकित महसुस हुन्छ,’ मंगलसेन ८ का ८२ वर्षीय राप्रसाद खनालले भने, ‘हाम्रो गाउँमा गाडी आउँछ भन्ने कुरा त कथा सुनाएजस्तो लाग्थ्यो । यस्तो पहाडमा गाडी आउँछ होला भन्ने लागेकै थिएन ।’


लुगा कपडा आफैं बुन्ने, एउटै घरमा ७/८ भैंसी पाल्ने यहाँका स्थानीयको जीवनशैली थियो । समय बदलिएसँगै धेरैको पेसा पनि परिवर्तन भयो । ‘पन्ध्र किलोसम्म घ्यू बोकेर चिसापानी, बौनियाको बजारमा बेच्थ्यौं । त्यसबाट आएको पैसाले नुन किनेर ल्याउँथ्यौं,’ अर्का स्थानीय मानबहादुर भाटले भने, ‘अहिले गाउँमा भैंसी पाल्नेलाई नराम्रो नजरले हेर्छन् । तर मैले एउटा भैंसी अहिलेसम्म पालेकै छु । घाँसपात पनि आफैं गर्छु ।’

प्रकाशित : असार ३१, २०७६ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?