कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

शीतल निवासमा कलाकारको छटपटी

काठमाडौं — गत शुक्रबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा चलचित्र विकास बोर्डले राष्ट्रिय चलचित्र पुरस्कार वितरण गर्‍यो  । स्टेजमा राष्ट्रपति विद्यादेवी भण्डारी स्वयं उपस्थित भई विजयी स्रष्टालाई अवार्ड दिँदा फिल्मकर्मीले अभिभावक पाएको महसुस गर्दै दंग परिरहेका थिए  ।

शीतल निवासमा कलाकारको छटपटी

तर त्यही कार्यक्रमको पर्दा पछाडि भने केही कलाकारहरू तीतो अनुभव संगाल्न बाध्य भए । यसको खुलासा गरे, अभिनेता सरोज खनालले । ‘कार्यक्रममा नाच्नका लागि बोलाइएका हामी २५ कलाकारले त्यस दिनभर असहज महसुस गर्‍यौं,’ अभिनेता खनालले कान्तिपुरसँग भने, ‘साँघुरो कोठामा लगेर कोचियो । त्यहाँ न कोही आएर सोधपुछ गर्‍यो, न भोक, तिर्खा लाग्यो कि भनी कसैले चासो नै देखायो । लुगा फेर्न कतै ठाउँ नपाएपछि ट्वाइलेट पस्नुपर्‍यो ।’


अभिनेत्री करिश्मा मानन्धरलाई कार्यक्रममा नृत्यका लागि आग्रह गरे पनि उनले मानिनन् । कार्यक्रम सकिएको साँझ फेसबुकमा स्टाटस लेखिन्, ‘एकादेशको कथा, पहिला पहिला देशमा राजा हुन्थे र राजा पनि प्रज्ञा प्रतिष्ठानको हलमा कलाकारलाई हेर्न आउँथे । घर गएर नाच्न बिल्कुलै स्वीकार्य छैन । बाहिर आउनुस्, तपाईं हाम्रो आमा हो । तपाईंका लागि ज्यान दिन्छौं ।’ करिश्माले यति लेखिसकेपछि बल्ल अभिनेता खनालले आफूले भोगेको पीडा खोलेका थिए ।


‘मलाई त प्रस्तुति नै छाडेर पो हिंडौं कि जस्तो भएको थियो । तर कलाकारका नाताले त्यसो गर्न दिएन । तर त्यो दिन स्टेजमा के नाचें, मलाई नै थाहा छैन,’ अभिनेता खनालले भने, ‘त्यहाँको व्यवहार हेर्दा त हामीले बिन्ती बिसाएर नाच्न गएजस्तो पो भयो । यस्तो व्यवहारका अघि मैले आफूलाई कलाकारका रूपमा भन्दा पनि केवल नर्तकका रूपमा मात्रै पाएँ ।’

खनालसहितका दुई दर्जन कलाकारले अवार्डको सुरुवातमै नेपाली फिल्मका छानिएका गीतमा नृत्य प्रस्तुति दिएका थिए । खनालले फेसबुकमा आफू शौचालयको कमोडमा बसेर प्रस्तुति पर्खिरहेको भन्दै तस्बिर नै राखेपछि चर्चा चुलिएको थियो । उनले आइन्दा यसरी प्रस्तुतिमा सरिक नहुने भन्दै अरू कलाकारलाई पनि भोलिका दिनमा नजान आग्रह गरे । भने, ‘यो कलाकारको बेइज्जत हो ।’

प्रकाशित : असार ३०, २०७६ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?