कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मुखिया दैनिकी

(ललितपुर) — कलाकार टेकबीर मुखिया भन्नासाथै सयौं साहित्यिक पुस्तकको आवरण र भित्री रेखाचित्रको अर्थपूर्ण हुलिया आँखामा उत्रिहाल्छ । करिब आधा शताब्दी अघिदेखि छाएको यो एकछत्र कला र कलाकारको नाम ‘मू’ केही वर्षयता अलिक ओझेलमा बसेको देखिन्छ ।

मुखिया दैनिकी

इतिहासका जोरगणेश प्रेस, रत्न पुस्तक भण्डार, साझा प्रकाशन र अरू निजी तहका पुस्तकहरूमा गरेर ६ हजारभन्दा बढी रेखाचित्र कोर्ने मुखियाको अहिलेको व्यस्तता भने भिन्न छ, ध्याउन्न अलग छ ।


भैंसेपाटी हाइटभित्रको घरमा टेकबीर मुखियाको दैनिकी सुरु हुन्छ– बिहान ४ बजेबाट । ‘बेलुका आँटा भिजाएर राख्छु । बिहानै रोटी पोल्छु । अनि ससानो टुक्रा गरेर परेवालाई दिन्छु,’ टेकवीरको खुसीको बिहानी यसरी सुरु हुन्छ । अनि, ढुकुर, काग, भँगेराको पालो सुरु हुन्छ । भँगेरा र ढुकुरका लागि चामल दिने बेग्लै कुनो छ, बगैँंचामा । टोलभरका १०/१२ कुकुरहरू बिहानै घरको गेटमा आएर बोलाउन थालिहाल्छन् । अघिल्लो दिन नजिकै मासु पसलबाट ल्याएको चिकेन लेग्स/हेड चामलमा मिसाएर पकाइएको हुन्छ, त्यही कुकुरहरूको खान्की हो । यति गर्दा कागको गोलो लागेको हुन्छ, घरको छतभरि । तिनलाई पनि खान्की जुटाउनै पर्‍यो ।


‘यो धर्तीमा सबैको अधिकार उत्तिकै छ, काग र भँगेराको पनि उत्तिकै हक छ । कुकुर, बिरालाको पनि उत्तिकै हक छ,’ मुखिया भन्छन्, ‘मलाई एकाबिहानैदेखि यी चराचुरुंगी, कुकुर बिरालाले मुखिया..ए मुखिया भनेर बोलाउन थालेजस्तै भान पर्छ ।’ नियमित योगा अभ्यास, मौलिक आयुर्वेदिक उपचार पद्धति र सात्विक खानपिन मुखियाको विशेषता हो ।


उमेरमा ८६ वर्ष उकालो लागेका मुखियाले श्रीमती शुक्रासँग पनि सर्त कबुल गरेका रहेछन्– घरकी श्रीमती र बाहिरी चराचरलाई माया बराबर । पढाइका क्रममा छोरो अमेरिका र छोरी नर्वेमा रहेकाले मुखिया दम्पतीको मायाको संसार अझ भिन्न बनेको हो ।


‘अहिले टाइम निकाल्नै मुस्किल छ । आफ्नो लुगा आफैं धुन्छु, भाडा माझ्छु । फूलबिरुवामा मल–पानी हाल्छु,’ मुखिया भन्छन्, ‘बाँकी समय चराचुरुंगी, कुकुर बिराला छँदै छन् । अझ भँगेरा र परेवाका लागि दिनको ३ टाइम चारो दिनुपर्ने हुन्छ । रेखाचित्र, कला सृजनाका काम आइरहे पनि समय दिनै मुस्किल छ । ‘भर्खरै यलम्बरको एउटा मुहारचित्र तयार गरिदिएको छु,’ मुखियाले सुनाए, ‘तर, काम दिनेहरू आफैं बेपत्ता भएका छन् ।’ अस्ति भर्खरै आदिकवि भानुभक्तको एउटा मुहारचित्र उनले देखेका रहेछन्, कुनै लिम्बूवान तन्नेरीको चेहराजस्तो । ‘यहाँ जसले जे गरेपनि हुन्छ, कुरा बुझ्ने अथवा सुन्नेहरू निकै कम छन्,’ मुखियालाई लाग्न थालेको छ ।


मुखियाले पञ्चायतकालीन संसद् होस् अथवा गणतान्त्रिक संसद्, दुवै अवधिका सांसदले लगाउने प्रतीकचिहृन बनाएका छन् । साझा प्रकाशनमा उनी २०२२ सालदेखि झन्डै ४ दशक लगातार सम्बद्ध रहे । मुनामदन, बसाइँ, गौरीजस्ता कृतिको ‘मु. आर्ट इमेज’ धेरैका आँखामा गडेकै छ ।


‘मैले सेवानिवृत्त हुँदा मुस्किलले २० हजार रुपैयाँ पाएँ । त्यहाँ अहिले पेपर–फोल्ड गर्ने कर्मचारीले पनि १२/१५ लाख रुपैयाँ निवृत्तिभरण भत्ता मागिरहेका छन् रे,’ समय अन्तरमा आएका ‘भिन्न’ कुरा सम्झिरहेका छन् मुखिया । पोट्रेट वा अन्य चित्रमा ‘तैल रंग’ मा रमाउने मुखियाले पुस्तक आवरणमा भने पानी–रंगमा खेलेका छन् । ‘मेरा लागि गरेको काममा ‘मुनामदन’ को आवरण सधैं सम्झिरहन्छु, त्यो चित्रमा आफैंमा आप्रवासन र वियोगको एउटा दुःखान्त कथा जोडिएको छ,’

मुखिया भन्छन् ।


दार्जिलिङमा जन्मेहुर्केका र कोलकातामा पढाइ अघि बढाएका मुखिया कला सृजनाको फराकिलो दुनियाँ खोज्दै सन् १९६५ मा नेपाल आएका थिए । अग्रज कलाकार लैनसिंह वाङ्देलसहितको साथ र संगतले पनि मुखिया बढी मानवीय र व्यावहारिक बनेका हुन् । ‘लङ्गडाको साथी’, ‘मुनामदन’ जस्ता पुस्तकको आवरण कोर्दा कथावस्तु पढेरै मुखिया एक/दुई दिन घोरिन्थे, कहिले रुन्थे पनि । अनि मात्रै कुची लिएर चित्र खाका उतार्न बस्थे ।


‘तिनै लेखक र पुस्तकको संगतले पनि हुन सक्छ, म कुकुर, बिराला, चराचुरुंगीलाई अन्तरआत्माले माया गर्छु,’ मुखिया भन्छन्, ‘हाम्रो पो आवाज छ त, यी पशुपक्षीको के छ र ? को छ र ? भन्ने लाग्छ ।’


प्रकाशित : असार २९, २०७६ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?