कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

शताब्दीपछि पुर्खाको देश 

सुशीला तामा‌ङ

काठमाडौँ — झन्डै डेढ शताब्दीअघि तत्कालीन भारतको चटगाउँ (चित्तगंग) हिल्समा ब्रिटिस इस्ट इन्डियाविरुद्ध एउटा विद्रोह भयो । अहिले बंगलादेशमा पर्ने यही थलोमा ६ पुस्ते पुर्ख्यौली इतिहास बोकेर बाँचिरहेका कलाकार मनोजबहादुर गोर्खाका अनुसार उक्त विद्रोहमा नेपालीहरू पनि सामेल थिए ।

शताब्दीपछि पुर्खाको देश 

त्यतिबेला बृहत् नेपाल निर्माणको अभियानको क्रममा केही नेपाली त्यहाँ पुगेका थिए । ‘त्यसपछि हाम्रो बाउबाजे उतै बसेका रहेछन्,’ बुधबार साँझ जमलस्थित राष्ट्रिय नाचघरमा प्रस्तुति दिनुअघि गायक मनोजले भने, ‘एक सय पचास वर्षपछि पुर्खाको भूमि आइपुगेको छु ।’


यतिका वर्षपछि यो भूमिमा उनी खाली हात आएका छैनन् । नेपाली गीत, संगीत, साहित्य, इतिहासलाई बोकेर परिवारलाई समेत पुर्खाको माटो चिनाउन ल्याएका छन् । सांस्कृतिक संस्थान र सिस्नुपानी नेपाल–बंगला सोसाइटीले गरेको मैत्री सांस्कृतिक कार्यक्रममा उनी र उनीसँगै आएका सुर निकेतन संगीत विद्यालयका कलाकारले बंगलादेशी र नेपाली गीतसंगीतको प्रस्तुति दिँदै गर्दा माहोल भावुक बनेको थियो ।


नेपाली ढाका टोपीमा सजिएर नेपालीभाषामै मनोजले पुख्यौली संस्कृति र माटोप्रतिको माया दर्साए । उनकै अगुवाइमा बंगलादेशबाट आएका करिब एक दर्जन कलाकारले बंगलादेशी लयमा नेपाली राष्ट्रिय गानको प्रस्तुति पनि दिए ।


यसपछि उनले नारायण गोपालको ‘तिम्रा जस्तो मुटु...’, देखि पछिल्लो समय चर्चित श्याम कार्कीको गीत ‘तिम्रो मायाले बाँधेर राख...’ जस्ता नेपाली गीत गाए । उनले नै अनुवाद गरेका नेपाली गीतहरूलाई बंगाली भाषामा अन्य कलाकारहरूले प्रस्तुत दिए भने सिस्नुपानी नेपालका तर्फबाट लक्ष्मण गाम्नागेले ‘मेरा बा’ शीर्षकको कवितामा सम्बन्धकै कुरा गरे ।


मनोजसँगै आएका उनकी छोरी तनुश्री माझीले नृत्य गरिन् भने अनामिका डे र पण्डित स्वर्णमय चक्रवर्तीको शास्त्रीय संगीत प्रस्तुति निकै लोभलाग्दो थियो । ‘नागरिकको हिसाबले बंगलादेशको भए पनि पुस्तौंदेखि पुर्खाहरूले जोगाएको नेपाली संस्कृति र पहिचानलाई निरन्तरता दिन लागि परेका छौं,’ मनोजले भावुक हुँदै भने ।


उनले बंगलादेशमै ‘दसैं–तिहार मनाउनेदेखि देउसीभैलो खेल्ने परम्परालाई निरन्तरता दिँदै आएको बताए । ‘आफ्ना सन्तानलाई पनि नेपाली भाषा र संस्कार सिकाउँदै आएका छौं,’ उनले भने, ‘वर्षौंदेखि भिन्न देशमा छौं, तर मनमा भने नेपालकै माया लागि रहन्छ ।’ पुर्खाको देश हेर्ने उनको चाहनालाई हास्य कलाकार मनोज गजुरेलले पूरा गरिदिएका हुन् । सामाजिक सञ्जालकै माध्यमबाट मनोजबहादुर गोर्खालाई सम्पर्क गरी काठमाडौंसम्म ल्याएको गजुरेलले बताए ।


‘देशबाट शताब्दी अगाडिदेखि परदेसिएको नेपालीलाई पुर्खाको देशमा ल्याउन पाउँदा एकदमै खुसी छु,’ गजुरेलले भने । कार्यक्रममा संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, संघीय मामिला तथा प्रशासन मन्त्री लालबाबु पण्डितलगायतले बंगलादेशीमा रहेका गोर्खालीहरूको इतिहास समेटेर मनोज स्वयंले लेखेको पुस्तक ‘हिस्ट्री अफ गोर्खाज अफ चित्तगंग हिल्स ट्राक्ट्स’ को लोकार्पण पनि गरे । शताब्दी पुरुष जोशीले चितगंगबाट पितृको भूमिलाई सम्झेर आएका सबैप्रति आभार व्यक्त गरे ।


‘संगीतको कुनै भाषा र भूमि हुँदैन,’ उनले भने । कार्यक्रममा संस्थानकै तर्फबाट नेपाली कलाकारहरूले धिमे, सखिया, सेलोलगायत नेपाली लोकनृत्य देखाइएको थियो भने हास्य कलाकार मनोज गजुरेल र एउटै खुट्टाका सहाराले नाच्ने रोमा न्यौपानेको प्रस्तुति पनि रहेको थियो । कलामार्फत दुई देशको जोड्ने उद्देश्यले

कार्यक्रम गरिएको सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले बताए ।

प्रकाशित : असार २७, २०७६ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?