कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रिय अवार्डको तयारीमा बोर्ड

काठमाडौँ — राज्यको उपेक्षामा पर्दै आएको राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मानलाई यसपालि भव्य बनाउन चलचित्र विकास बोर्डले कसरत थालेको छ । 

बोर्डको १९औं वार्षिकोत्सव अवसर पारेर २७ असारमा राष्ट्रपति भवन, शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा वितरण गरिने अवार्ड तथा सम्मानका लागि बोर्डले विशेष तयारी थालेको उल्लेख गरेको छ । बोर्डले यसअघिका दुई वर्षको अवार्ड आयोजना गर्न सकेको थिएन ।


यसपटक तीन वर्षकै अवार्ड वितरण गरिनुका साथै २५ हजार रुपैयाँ पुरस्कार पनि दिइने बोर्डका अन्तर्राष्ट्रिय सम्बन्ध अधिकृत चिरञ्जीवी गुरागाईंले बताएका छन् । यसै वर्षदेखि पुरस्कारसँगै नगद पनि राखिनुमा पुरस्कृत स्रष्टाहरूप्रतिको सम्मानका खातिर भएको बोर्ड अध्यक्ष केशव भट्टराईले बताए । उनले आगामी वर्ष पुरस्कार राशिलाई बढाएर दोब्बर पारिने निर्णय पनि बोर्डले गरेको जानकारी दिए । त्यसैगरी, बोर्डले स्थापना दिवसको अवसर पारेर सम्मानित गरेका फिल्मकर्मी र सर्जकलाई पनि २५ हजार रुपैयाँ प्रदान गर्ने भएको छ ।


यसअघि अवार्ड वितरणमा मात्रै सीमित रहँदै आएको राष्ट्रिय चलचित्र पुरस्कार समारोहलाई यसपटकदेखि अग्रजदेखि अहिलेका क्रियाशील अभिनेता तथा अभिनेत्रीसहितको करिब १२ मिनेटको नृत्य प्रस्तुत पनि राखिने बोर्डले उल्लेख गरेको छ । उक्त प्रस्तुतिमा पहिलो नेपाली फिल्म ‘आमा’ देखि हालसम्मका फिल्मका छानिएका प्रतिनिधि गीतमा नृत्य प्रस्तुति हुने जनाइएको छ ।


यसका लागि यतिबेला नृत्य निर्देशकहरू वसन्त श्रेष्ठ, राजु शाह र कविराज गहतराजले अभिनेता, अभिनेत्रीहरू अभिनेत्री सरोज खनाल, गौरी मल्ल, सनी रौनियार, रमेश उप्रेती, दिलीप रायमाझी, दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, रेजिना उप्रेती, केदार घिमिरे, पुष्प खड्का, नीता ढुंगाना, पवित्रा आचार्य, विमला केसी, छुल्ठिम गुरुङलगायत कलाकारलाई नृत्य प्रशिक्षण दिइरहेका छन् ।

प्रकाशित : असार २४, २०७६ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?