१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

दोहोरीमा घम्साघम्सी

सुशीला तामा‌ङ

काठमाडौँ — रातो माटो र सेतो कमेरोले लिपपोत गरी चिटिक्क बनाइएको घर । खरको छानो । पालीमाथि नाङ्लोमा केही बिस्कुन सुकाइएको छ भने त्यतैतिर फर्सी लडाइराखेका छन् । रातै माटोले लिपेर सजाइएको आँगनमा डोको, तुलसीको मठ । पिँढी माथितिर लाल्टिनहरू झुन्ड्याइएका छन् ।

दोहोरीमा घम्साघम्सी

ठिक त्यसैमुनि युवायुवतीको दुई समूहबीच दोहोरी गीतको घम्साघम्सी चलिरहेको छ । गाउँघरमा चल्ने रोदी र दोहोरीको ठ्याक्कै झल्को दिने यो दृश्य राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आइतबार आइतबारदेखि जारी ‘राष्ट्रिय खुला लोक दोहोरी प्रतियोगिता’ को हो ।


नेपाली लोक गीत र संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यले सांस्कृतिक संस्थान र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले गरेको लोक दोहारी प्रतियोगितामा लोक गायक एवं संगीतकार नारायण रायमाझी भावुक बने । सहरले गुमाउँदै गएको नेपाली मौलिकतालाई कलाकारले झक्झक्याउन खोजेकोप्रति उनी खुसी थिए । उनैले शुभारम्भ गरेको प्रतियोगिताको पहिलो दिन नगरकोट दोहोरी साँझ, डालीमा दोहोरी, जुनकेरी दोहोरी साँझ, विश्वकर्मा कलाकार मञ्चलगायतका समूहले दोहोरी प्रस्तुति दिए । जुनकेरी र विश्वकर्माले भने बराबरीमा टुंगिएकाले दोस्रो दिन सोमबार पनि पुनः प्रस्तुति दिए ।


‘झिमझिम सानु नझिम्काउ परेली...’ लोकभाकामा सुरु दोहोरीमा दुवै पक्षका कलाकारहरूले चिनजान नभएको अवस्थादेखि प्रेम प्रस्ताव हुँदै हालै गायक प्रकाश सपूतले दलित भन्दै भोग्नु परेको पीडासम्मलाई गीतैमार्फत पोखे । समाजमा अझै विद्यमान कुरीति, कुसंस्कारलाई हटाउन र कलाकारको समस्या समाधानका लागि कलाकार नै एकजुट भएर लाग्नुपर्नेसम्मका भाव र सन्देश पनि गीतमार्फत नै अभिव्यक्त गरिएको थियो । पोखरा दोहोरी साँझ र कान्तिपुर दोहोरी साँझका समूहहरूबीच ‘मायाले मार्‍यो...’ भाकामा दोहोरी चलेको थियो । उनीहरूले मायाप्रेम र ख्यालठट्टालाई केन्द्र राखेर गीत गाए । दर्शक रमे ।


बबिता बानियाँ (जेरी) र वसन्त विश्वकर्माबीच ‘दैलोमुनि जौ...’ लोकभाकामा चलेको चर्काचर्कीले अर्कौ रौनकता प्रदान गर्‍यो । उनीहरूले गीतमार्फत नै छेडखानी र प्रेम संवाद गरेका थिए । कान्तिपुर दोहोरी साँझकै महिलाहरूसँग टेकराज भण्डारी र सपना रोक्काबीच ‘वनको काफल, वनकै चरीलाई...’ भाकामा भएको दोहोरीमा सहर पसेका प्रेमिल जोडीहरूले विगतको गाउँघर र लेकबेंसीको स्मरण गरेका थिए । सफलताको सिँढी चढेपछि प्रेमीले प्रेमिकालाई भुलेको पीडाहरू पनि गीतमा थियो । बाराही दोहोरी साँझ, दोहोरी प्रतिष्ठान धादिङ, बसपार्क क्षेत्र समितिबाट प्रतिनिधित्व गर्दै दिनेश क्षेत्रीलगायतका थुप्रै समूहहरूले पनि विभिन्न लोकभाकामा आ–आफ्ना प्रस्तुति दिए ।


प्रतियोगितामा सहभागी समूहहरूमध्ये उत्कृष्ट समूहको छनोटका लागि निर्णायक मण्डलमा रमेश बीजी, तेजबहादुर केसी, बद्री पराजुली, पशुपति शर्मा, लक्ष्मी न्यौपाने, कृष्ण गुरुङ, दुर्गा गुरुङलगायत कलाकार थिए । लोकगीत प्रतियोगितामा नेपाली कला संगम, श्रीफूल दोहोरी साँझ, धौलागिरि दोहोरी साँझ, मिर्मिरे दोहोरी साँझ, चाँदनी दोहोरी साँझ, डाँफे दोहोरी साँझ चितवन, नेपाली दोहोरी साँझ, गामबेंसी दोहोरी बसपार्क, निरमाया रोदी क्लब, दोहोरी प्रतिष्ठान बाग्लुङलगायतका २८ वटा समूहहरूको उपस्थिति रहेका छन् । प्रतियोगिता असार २५ गतेसम्म जारी रहने छ ।

प्रकाशित : असार २४, २०७६ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?