कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

स्वस्तिमाले जितिन् सार्क जुरी अवार्ड

काठमाडौँ — श्रीलंकाको नेसनल फिल्म कर्पोरेसनमा अवस्थित द सिनेमा हलमा असार १७ देखि ६ दिनसम्म चलेको सार्क फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘बुलबुल’ बाट अभिनेत्रीमा स्वस्तिमा खड्काले जुरी अवार्ड जितेकी छन् । 

स्वस्तिमाले जितिन् सार्क जुरी अवार्ड

यसअघि सन् २०१४ मा फिल्म ‘झोला’ का लागि गरिमा पन्तले उत्कृष्ट अभिनेत्रीको सार्क अवार्ड जितेकी थिइन् । बिदेसिएको पतिको पर्खाइमा टेम्पो चलाएर रोगी बाबु र छोरीलाई जेनतेन पालेर जीवन संघर्ष गरिरहेकी पात्रको शीर्ष भूमिकामा रहेकी स्वस्तिमालाई उत्कृष्ट प्रस्तुतिका लागि उक्त अवार्ड दिइएको हो । त्यसैगरी, निर्देशन र पटकथातर्फको जुरी अवार्डतर्फ भारतको फिल्म ‘वाकिङ विथ द विन्ड’ का लागि प्रभ्रेन मोर्चालीलाई दिइयो ।


सार्क देशहरू अफगानिस्तान, बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंकाका प्रतिनिधि फिल्म तथा सर्ट फिल्महरूको प्रतिस्पर्धा रहेको फेस्टिभलमा नेपालका तर्फबाट विनोद पौडेल निर्देशित ‘बुलबुल’ र दिनेश राउत निर्देशित ‘प्रसाद’ प्रतिस्पर्धामा थिए भने सफल केसी र प्रतीक गुरुङको निर्देशन रहेको ‘हरी’ अप्रतियोगी मास्टर फिल्मका रूपमा संलग्न थियो । अविनाशविक्रम शाहको सर्ट फिल्म ‘तटिनी’ ले ‘स्पेसल जुरी रेकोग्निसन’ पाएको छ । यसमा अवार्ड भने दिइँदैन ।


फेस्टिभलको मुख्य प्रतिस्पर्धातर्फ उत्कृष्ट फिल्मको अवार्ड भारतको ‘नगरकीर्तन’ जित्यो । सर्ट फिल्मतर्फको अवार्ड पनि भारतकै ‘नो बेल वो हराम’ ले पायो । ‘नगरकीर्तन’ बाटै उत्कृष्ट निर्देशकको अवार्ड पनि कौशिक गांगुलीले जिते भने यसै फिल्मबाट उत्कृष्ट अभिनेताको अवार्ड रिद्दि सेनलाई प्रदान गरियो । उत्कृष्ट अभिनेत्रीतर्फको सार्क अवार्ड श्रीलंकाको फिल्म ‘दावेना विहागोन’ बाट अना जनादरीले जितिन् ।


सोही फिल्मबाट उत्कृष्ट सम्पादनको अवार्ड पनि जित्दा उत्कृष्ट पटकथाको अवार्ड अफगानी फिल्म ‘लेटर टु प्रेसिडेन्ट’ का लागि अजिज देल्दारलाई प्रदान गरिएको थियो । उत्कृष्ट छायांकनको अवार्ड बंगालादेशी फिल्म ‘फागुन हावए’ बाट इनामुल हुकी सोहेलले पाए ।


फेस्टिभलमा फिचर र सर्ट गरी ३५ फिल्म देखाइएका थिए ।

प्रकाशित : असार २४, २०७६ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?