बेथितिको कथा–“विकास भर्सेस निकास”

सुशीला तामा‌ङ

काठमाडौँ — सरकार यतिबेला ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा छ । विकासको नाममा हरेक क्षेत्रमा बेथिति र विसंगतिले कसरी जरा गाडेको छ ? मुलुकको पहिचान र मौलिकतालाई बिर्सेर आधुनिक विकासका नाममा के कस्ता उन्नति र निकास खोजिरहेका छौं ?

पसिना र श्रमको कसरी अवमूल्यन भइरहेको छ र चाकडी संस्कृति कुन हदसम्म मौलाउँदै गइरहेको छ ? यी सबै प्रश्नको एकमुष्ट जवाफ दिन्छ नाटक ‘विकास भर्सेस निकास’ ले ।

सर्वनाम थिएटरमा नियमित मञ्चन भइरहेको नाटकले डाक्टर एसडी नामक पात्रमार्फत मुलुकमा विद्यमान शिक्षा, स्वास्थ्य, धर्म–संस्कृति लगायतका क्षेत्रमा व्याप्त बेथितिलाई उजागर गरेको छ । शक्तिको पहुँच भएन भने क्षमता मात्रैले पनि केही हुँदैन भन्ने सन्दर्भ डाक्टर एसडीको भूमिकामार्फत पुष्टि हुँदै जान्छ । आफ्नै मुलुकमा केही गर्न खोज्दा कतै पनि उनले उचित ठाउँ भेट्टाउन सक्दैनन् । ऊनी यस्तो सशक्त पात्र हुन्, जसले योग्यता भए पनि देशमा कुण्ठित भएर बसेका हजारौं युवाहरूको प्रतिनिधित्व गर्छ ।

भौतिक विकासतिर मुलुक जतिसुकै लम्के पनि मानिसको सोच र स्वास्थ्य अवस्था अति नै नाजुक भएर गएको पक्षलाई पनि नाटकले सबल रूपमा प्रस्तुत गरेको छ । कामभन्दा पनि नाम र पदको पछिपछि मानिस कसरी दौडिरहेका छन् भन्ने प्रश्न नाटकले उठाउँछ । नेपाली समाज र राजनीतिको यथार्ततालाई चित्रण गर्न खोज्ने क्रममा नाटक तयार भएको निर्देशक तथा लेखक रामबाबु रेग्मीको भनाइ छ ।

राजधानीको रत्नपार्कमा घुम्दा भेटिएका चरित्र, विषयवस्तु र गोरखाका विभिन्न थलोमा सडक नाटक गर्दाको अनुभवबाट यो नयाँ नाटक जन्मिएको उनले बताए ।

आखिर यो देश कसको ? आधुनिक विकासका नमुनाहरू कसका लागि ? नाटकले अर्को गम्भीर प्रश्न गर्छ । जस्तो कि सहरमा ठूलाठूला भवन र महल छन् । बाटो हिँड्ने बटुवाका लागि भने चाहेको बेला शौच गर्ने एउटा शौचालय पनि छैन । पिउने पानी त धेरै परको कुरा । उता शौच गर्न पाँच रुपैयाँ खर्च गर्नुकोसट्टा भट्टीमा गएर मदिरा सेवन गर्ने निम्न
वर्गीय चरित्रका आफ्नै कथा व्यथा छन् । रक्सीको गिलास हुँदै मृगौलाको रोगसम्मकोयात्रा हाम्रै समाजभित्र भेटिने पात्रहरूकै कथाजस्तो लाग्छ ।

निर्देशक रेग्मीका अनुसार ‘हामी जता हावा चलेको छ, त्यतैतिर लम्किरहेका छौं ।’ जसकारण ‘हाम्रो भनेर गर्व गर्ने मौलिकताहरू मास्सिदै गएका छन् ।’ खानेकुरा, गीत संगीत, जीवनशैलीदेखि विकासका परियोजनाहरूले नेपालीपन र मनलाई खासै प्रवर्द्धन गर्न सकिरहेको छैन । विदेशमा लामो समय बसेर आफ्नै मुलुकको कुनै एक विकास
परियोजनामा लगानी गर्छु भनेर आएका एनआरएन पात्र एसडी अन्तिममा शौचालय उद्घाटन गर्न पुग्छन् ।

मुलुकमा भइरहेको विकासको मोडलप्रति यो ठूलो व्यंग्य हो । रंगकला गोर्खाको प्रस्तुतिमा रहेको नाटकमा एसडीको भूमिकामा दीपक आचार्य छन् । मिलन गरुङ, विक्रम माझी, गौरव सापकोटा, सन्दिप घिमिरे, उमाकान्त सापकोटा, प्रकाश कट्टेल, अमृता श्रेष्ठ, सुरज केसी, शशांक उप्रती, वीरेन्द्र मुखिया, अजय रेग्मी, प्रियना आचार्य, प्रेम अर्याललगायतको अभिनय रहेको नाटक यही असार २८ गतेसम्म नियमित मञ्चन हुने छ ।

प्रकाशित : असार १७, २०७६ ०८:०९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

गर्मी बिसाउन नारायणी किनार

पछिल्लो समय भरतपुर महानगरले नदी किनारलाई ॅसी—विच’ मोडेलमा विकास गर्न योजना अघि सारेको छ
प्रमिता ढकाल

भरतपुर — मार्केटिङ गर्ने भरतपुर १० की सृष्टि चौधरी दिनभर गर्मीमा फिल्डमा हिँडिरहेकी हुन्छिन् । अफिसको काम सकेर फुर्सद हुनासाथ उनी नारायणी नदी किनार पुग्छिन् । साँझ अफिसको काम सकेपछि साथी बटुलेर नदी किनार जानु उनको दैनिकी नै बनेको छ । ‘चर्को गर्मी छ दिनभर कामको तनाव उस्तै’ सृष्टिले भनिन्, ‘साँझमा यहाँ आउँदा मन नै चंगा हुन्छ ।’ 

चितवनको नारायणगढको नारायणी नदी किनार गर्मी बिर्साउने थलो नै बनेको छ । अत्यधिक गर्मीले आतिएकाहरू सांँझपख नदी किनारमा चिसो मौसममा रमाउन जान्छन् । चितवनको मुख्य व्यापारिक केन्द्र नारायणगढ र आसपासमा खुला ठाउँ तथा पार्क नभएपछि खुल्ला ठाउँमा सुस्ताउन चाहनेहरूको वर्षभरि नै चहलपहल हुने नदी किनारमा गर्मी याममा भिड थेगिनसक्नु हुन्छ । आसपासका स्थानीय मात्र नभई टाढा घर भएकाहरू पनि केहीबेर नदी किनारमा रमाउन पुग्छन् ।

नदी किनारमा बहने चिसो हावाको आनन्द लिएर साथीहरूसँग घुम्दा दिनभरको कामको तनाव र थकान बिर्सिन सहज हुने भरतपुर १५ की श्वेता शर्माले बताइन् । ‘अफिससकेर एकछिन यहाँ नबसी घर जानै मन लाग्दैन,’ उनले भनिन्, ‘गर्मी भगाउन नसके पनि बिर्सन सजिलो हुन्छ ।’

उनको घर नदी किनारबाट करिब १६ किलोमिटर टाढा छ । नदी किनारमा उनी आफ्नो समूहसँग रुचिअनुसार चिसो पेय पदार्थ, चिया, चटपटे खान रुचाउँछिन् । व्यावसाियक स्ट्रिटफुड स्टल, आइसक्रिम, पानीपुरी तथाचटपटे स्टल, पोलेको मकै, फुल्कीको व्यापार यहाँ निकै फस्टाएको छ ।

बालबच्चा लिएर आउने तथा युवायुवतीहरूका कारण व्यापार राम्रो हुने ठेलामा मकै पोलेर व्यापार गर्दै आएकी सानु श्रेष्ठले बताइन् । दैनिक एक सय घोगा मकै एकै ठाउँमा बसेर बिक्री हुने उनले भनिन् । दुई वर्षयता नदी किनारमै आफ्नो व्यवसाय सञ्चालन गर्दै आएकी उनले पछिल्लो समय नदी किनारमा आउनेको संख्या निकै बढेको अनुभव सुनाइन् । नदी किनारको करिब एक किलोमिटरको खुला क्षेत्रको छेउछाउमा दुई–दुई जना बस्न मिल्ने सिमेन्टका बेन्च बनाइएका छन् । नदी किनारमा शिवमूर्ति, बुद्धमूर्ति निर्माण गरिएका छन् ।

आसपासका टोल विकास समिति मिलेर सार्वजनिक शौचालय निर्माण गरेका छन् । हरेक उमेर समूहलाई रमाउने थलो बनेको नदी किनारमा विकास गरिएका पूर्वाधारले यहाँको रौनकलाई बढाएको छ । पर्यटकीय स्थलकै रूपमा विकास भएपछि नारायणगढ र आसपासका युवायुवतीहरू फुर्सदको समयमा घुम्न र साथीभाइ भेट्न नारायणी नदी किनार नै रोज्ने गरेका छन् ।

सौर्य बत्तीको उज्यालोका कारण गर्मीको समयमा नदी किनारको चिसोमा राति अबेरसम्म पनि टहलिनेहरू थुप्रै हुन्छन् । नयाँ वर्ष २०७६ को सुरुवात अर्थात् वैशाख १ गतेदेखि यहाँ गण्डक आरतीसमेत सुरु भएको छ । गण्डक नारायणी नदी संरक्षण समितिले नदी किनारको संरक्षणका लागि सुरु गरेको दैनिक आरती कारण साँझमा नदी किनार आउनेको चाप बढाएको छ ।

भजन किर्तनसहितको आरतीले धार्मिक पर्यटनको सम्भाव्यतालाई उजागर गरेको स्थानीय मणि भट्टराईले बताए । आरती सुरु भएयता धार्मिक आस्था हुने मात्र नभई आरती गरेको फोटो खिचेर रमाउनेहरू पनि बढेको उनकोभनाइ छ ।

दुई–दुई वर्षमा चितवन महोत्सव हुने नारायणी किनारको प्रदर्शनी मैदानलाई ०५७ देखि नै पर्यटकीय थलोको रूपमा विकास गर्न सुरु गरिएको हो । उद्योग वाणिज्य संघ चितवनले चितवन महोत्सवको आम्दानीको ६० प्रतिशत रकम नदी किनारको व्यवस्थापनका लागि छुट्याउने गरेको छ । पछिल्लो समय भरतपुर महानगरले नदी किनारलाई ‘सी—विच’ मोडेलमा विकास गर्न योजना अघि सारेको छ ।

नारायणी नदीमा तटबन्धसहितको रिङ रोड, सडक पुललगायतको भौतिक पूर्वाधारका कामहरू केन्द्र एवं प्रदेश सरकारको समन्वयमा अघि बढाइने महानगरका मेयर रेणु दाहालले बताइन् । नदी किनारको व्यवस्थापन तथा सौन्दर्य प्रवर्द्धन, घाट विकास, स्नान स्थल निर्माण, विभिन्न वाटर स्पोर्टस प्रवर्द्धन लगायतका कार्यका लागि निजी क्षेत्रसँग सहकार्य गरिने उनले बताइन् । ‘नदी किनारलाई चितवनकै महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बनाउन सकिन्छ,’ उनले भनिन्, ‘हामी सी विच मोडेलबाट अघि बढ्दै छौं ।’

प्रकाशित : असार १७, २०७६ ०८:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT