सयवर्षे जुरेली जिन्दगी

काठमाडौँ — उमेरले सय वर्षमा हिँडिरहेका शताब्दी पुरुष सत्यमोहन जोशीको योगदान संस्कृतिदेखि, साहित्य र रंगमञ्चसम्म छ । जोशीले आफ्नो जीवनभर गरेका योगदानका विविध आयाम समेट्दै लेखक अनिल पौडेलले ‘जुरेली दर्शन’ पुस्तक प्रकाशनमा ल्याएका छन् ।

पौडेलले जोशीको जीवनी, भाषा, साहित्य, लोकसंस्कृति अन्वेषणलगायतका विविध पक्षहरूको खोजी गरी अनुसन्धानमूलक कृति लेखेका हुन् ।


आइतबार राजधानीमा राष्ट्रकवि माधवप्रसाद घिमिरेले पुस्तकको लोकार्पण गरे । कार्यक्रम राष्ट्रिय नाचघरमा गरिएको भए पनि स्वास्थ्य अवस्थाका कारण लैनचौरस्थित घिमिरेकै निवासमा लेखकसहितको टोली पुगेर पुस्तक लोकार्पण गरिको थियो ।


औपचारिक कार्यक्रममा भने राष्ट्रकवि घिमिरेले रेकर्डेड भिडियो मार्फत सम्बोधन गरेका थिए । घिमिरेले सकारात्मक चिन्तनको प्रतीक मानिने ‘जुरेली दर्शन’ सँग जोशीको जीवनको तुलना गर्दै रिस, राग र अहंकारमुक्त भएर सबैले जोशीको जस्तै सादा जीवन जिउन आग्रह गरे ।


पुस्तकमा जोशीको जीवनका विभिन्न आयाम, नेपाल घुम्दै सुदूरपश्चिम पुगेर लोकसंस्कृतिको उत्खनन गरेको सन्दर्भ, उनकै परिकल्पनामा सांस्कृतिक संस्थानको जन्मेको कथा, अरनिकोको खोजी, सराकात्मक जीवनशैली र चिन्तनसहितको जुरेली दर्शनलगायतका सन्दर्भहरू छन् ।


विभिन्न क्षेत्र र सरकारी विभागमा रहेर जोशीले गरेका महत्त्वपूर्ण कार्य पनि पुस्तकमा छन् । जोशीसँगको तीन वर्षको लगातारको संगतपछि नै कृति लेखिएको लेखक पौडेलले बताए । ‘लेखनका क्रममा भेटाएजतिको विभिन्न शास्त्रको अभिलेखहरू साक्षीका रूपमा राख्ने कोसिस गरेको छु,’ उनले भने ।


पुस्तकमा विसं २०११ सालमा पोखराको महेन्द्र गुफामा पहिलो पटक मानव पाइला राख्ने व्यक्तिको रूपमा जोशी नै रहेको प्रमाणित हुने तथ्य पनि छन् । प्रत्यक्ष साक्षीका रूपमा कार्यक्रममा पोखराका ९७ वर्षका कृष्णबहादुर थापालाई समेत निम्त्याइएको थियो । उनले २०११ को जनगनणा क्रममा जोशीकै अगुवाइमा गुफा छिरेको क्षण सुनाए । जोशीसँग उनको पैंसठ्ठी वर्षपछि आइतबारै भेट भएको थियो ।


पुस्तक सांस्कृतिक संस्थानले छापेको हो । संस्थानका महाप्रबन्धक राजेश थापाले संस्कृतिविद जोशीबाटै जग बसालिएकाले संस्थानको मेघा हलको नाम ‘वाङ्मय शताब्दी पुरुष वरिष्ठ संस्कृतिविद् सत्ममोहन जोशी प्रेक्षालय’ को रूपमा नामकरण गरेको बताए ।


हलको नाम अनावरण आइतबार जोशीबाटै गराइएको थियो । जोशीले २०१६ मा ६ रोपनी जग्गा १ लाख ३७ हजारमा खरिद गरी टहरोको रूपमा संस्थान सुरु गरेको सुनाए । कार्यक्रममा पुस्तकमाथि समालोचक अभि सुवेदी, सुदन पौडेल, विन्दु शर्मा, वासुदेव अधिकारीलगायतले प्रकाश पारे ।

प्रकाशित : असार १६, २०७६ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?