शास्त्रीय नृत्यमा दशावतार

सम्राज्ञी भण्डारी

काठमाडौँ — सोह्र शृंगारले सजिएका दुई युवती जब पाउमा लगाएको घुङरु छमछम बजाउंँदै साँझको झिसमिसे अँध्यारोमा नाच्न थाले, माहोल धपक्कै बल्यो । 

शास्त्रीय नृत्यमा दशावतार

बबरमहल रिभिजिटेडको स्टेजमा नृत्यांगना अरूपा लहेरी र लिना मालाकारको भरतनाट्यम र कथक नृत्य हेरेपछि दर्शक मात्र हैन, प्रमुख अतिथि बनेका भारतीय राजदूत मनजीवसिंह पुरी पनि प्रभावित बने ।


पहिलो प्रस्तुति थियो, शिवशक्ति स्वरूपको अर्धनारीस्वर । यो प्रस्तुति क्रममा हातका औंला, खुट्टाका ताल र शरिरको लचकतासँगै नयनको चमकले वातारण नै चकमन्न पारेको थियो । हरेक मानिसमा हुने नारी र पुरुषको स्वभावलाई देखाएको यस नृत्यले पुरुषको उग्र भाव र महिलाको लजालु भावलाई एकसाथ प्रस्तुत गरेको थियो ।


उनीहरूले ‘जय जय शंकर...’ बोलको गीतमा नृत्य गर्दा पृष्ठभूमिमा कुँदिएको राणाकालीन कला पनि नृत्यांगनाहरूसँगै नाचिरहको आभाष हुन्थ्यो ।


भरतनाट्यमकी नृत्यांगना भारतीय चेली लहेरी र भारतमै लामो समयदेखि कथक नृत्यमा क्रियाशील नेपाली चेली मालाकारले चारवटा शास्त्रय नृत्य प्रस्तुति दिएका हुन् । ‘नेपालमै आएर सिकाउन निकै लालायित छु, नेपालमा धेरैजसो युवा यस नृत्यमा आकर्षित हुँंदै गएका भएपनि अनुकूल वातारण अभाव देखिन्छ’, मालाकारले भनिन् । दोस्रो प्रस्तुतिअन्तर्गत वर्षा ऋतु नृत्यमा आत्मा र जीवात्माको मिलन हुँदाको क्षणलाई नृत्य मार्फत उतारिएको थियो ।


मन्दिररूपी मानिसको शरीर र आत्मालाई एक अनुशासित ढंगमा जीवन व्यतीत गर्न क्लासिकल नृत्यले कसरी सहयोग पुर्‍याउँछ भन्ने सन्देश दिएको यस प्रस्तुितले वर्षाकाल, पानी र धर्तीबीचको प्रेम दर्साएको थियो ।


एउटा नायिकालाई कृष्ण भगवान्सँग प्रेम भएकाले उनलाई भेट्ने व्याकुलतामा सखीको सहयोग माग्दै तेस्रो प्रस्तुति सुरु भएको थियो । यसमा नायिकाले कृष्णको सोझो अनुहारमा लुकेका अनेक चारित्रिक वर्णन आफ्ना सखीहरूबीच गरेकी थिइन् । नाचको हाउभाउ र भावभंगी मार्फत जसरी पनि कृष्णको उपस्थिति गराउन आग्रह गर्छिन् ।


चौथो प्रस्तुतिमा अनुहारमा कुनै भावबिना नृत्य मार्फत भगवान्लाई प्रार्थना गर्दै उनीहरू नाचेका थिए । यसमा विष्णु भगवान्को दस अवतारलाई छ मिनेटमा देखाइएको थियो ।


दुई नृत्यांगनाको घम्साघम्सी युद्व र गहिरो प्रेमको प्रस्तुतिमा विष्णुको दस अवतार वर्णन गरिएको थियो । यो प्रस्तुतिमा मत्स्य, कूर्म, बराह, नृसिंह, वामन, पशुराम, बलराम, बुद्व तथा कल्की अवतारका चरित्र भावलाई संगीतका रागमा प्रस्तुत गरिएको थियो ।

प्रकाशित : असार १५, २०७६ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?