२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

शम्भू राईसँग सहमति गरेपछि प्रकाश सपूतले भने, 'मानसिक रुपमा कति विचलित भएको छु मलाई थाहा छ'

काठमाडौँ — प्रकाश सपूत । अहिले दुई कारणले चर्चामा छन् । एक- गलबन्दी गीतले र अर्को- गलबन्दी गीत चोरी गरेको आरोपले । लोकगायक शम्भु राईले सपूतलाई गलबन्दी गीतको भाका आफ्नो गीतबाट चोरी गरेको आरोप लगाए । चोरी गरेको आरोपमा राईले मुद्धा दायर समेत गरे । तर पछि राई र सपूत दुवै मिले । बुधबार सहमति गरे। सहमतिपछि सपूतलाई कान्तिपुरकर्मी विमल खतिवडाले बिहीबार बिहान ६ प्रश्न गरे । सपूतले आफू रिकभर हुन केही समय लाग्ने बताए । प्रस्तुत छ खतिवडाले सपूतसँग गरेको कुराकानी :

शम्भू राईसँग सहमति गरेपछि प्रकाश सपूतले भने, 'मानसिक रुपमा कति विचलित भएको छु मलाई थाहा छ'

गीत विवादमा आएपछि कस्तो लाग्यो ?

म एकदम सामान्य मान्छे हो । शान्त रहने चाहने र धेरै मान्छेसँग तर्क/वितर्क, झगडा नगर्ने स्वभावको मान्छे हुँ । म बढी अन्तरमुखी छु । आफ्नोबारेमा गलत तरिकाले प्रचार/प्रसार गरिदिदाँ एकदमै निरिह महसुस हुँदो रैछ । विषय त सामान्य हो जस्तो लाग्छ । खास के हो भन्ने कुरा त हामीलाई थाहा हुन्छ नि ! मान्छेहरुले यो विषयलाई असम्मानित बनाइरहँदा उदेक लाग्दो रैछ । दुनियाँ कत्रो भ्रममा हुँदो रैछ भन्ने लाग्यो ।


विवाद समाधान भयो, अबचाहिँ कस्तो अनुभुति गरिरहनु भएको छ ?

विवाद तत्कालीन समस्या समाधान मात्र हो । म एउटा झन्झटबाट मुक्त भए भन्ने मात्र हो । विषय त ज्यूँका त्यूँ हुनु पर्छ । बहस हुन जरुरी छ । कानुन निर्माणकालागि सर्जकहरुले पनि व्यवसायिक हिसावले सोच्न र बहस गर्न जरुरी छ । एकखालको मेरो समय बचत भएको छ भन्ने लागेको छ । मानसिक रुपमा म कति विचलित भएको छु यसले मलाई कति समयसम्म असर गर्छ भन्ने कुरा आफैंमा छ । जुन म भोगिरहेको छु । प्रहरीमा जानु पर्ने झन्झटबाट मुक्त भएँ भन्ने लागेको छ ।


यो विवादले आगामी दिनमा तपाँईको साँगितिक यात्रालाई प्रभाव पार्छ कि पार्दैन ?

ममा आत्मविश्वास थोरै खस्किएको छ । एकदमै स्पिडमा अघि बढिरहेको थिएँ । गलबन्दी आएपछि त व्यस्तता बढेको थियो । गीत/संगीत सम्बन्धि धेरै काम गरिरहेको थिएँ । अन्य क्षेत्रमा पनि हात हाल्ने सोच बनाइरहेको थिएँ । तर अब मलाई रिकभर हुन समय लाग्ने भयो । सांगितिक रुपमा त्यस्तो असर गर्छ भन्ने त लाग्दैन । थोरै प्रभाव त पार्ने नै भयो । आम दर्शक/स्रोतामाझ आउने गरी मैले अर्को काम गर्दा अझै बढी चुनौतीकासाथ गर्नु पर्ने हुन्छ ।


शम्भु राई सत्ता निकट भएकाकारण डराएर सम्झौता गर्नु भयो भन्ने छ नि, हो ?

स्पष्ट के हो भने मुद्धा दायर गर्छु भनेर अन्तिम निर्णयमा पुग्नु भयो । दायर गर्नु पनि भयो । मैले अहिलेकालागि भन्ने हो भने कुनै दबाबबाट होइन । पटक-पटक अदालत जानु पर्ने, प्रहरी चौकी धाउनु पर्ने, मान्छेहरुलाई भेट्नु पर्ने होला, कन्भिन्स हुनु पर्ने होला, प्रमाणहरु पेश गर्नु पर्ने होला, तर्क/वितर्क गर्नु पर्ने होला । यी किसिमका झन्झटबाट मुक्त हुनका लागि मैले यस्तो गरेको हो । त्यस्तो कुनै दबाब महसुस गरेको छैन ।


अलि तनावमा हुनुहुन्थ्या, यसले तपाईंको सिर्जनामा कुनै असर त गर्दैन ?

तपाईसँग कुरा गरिरहँदा अहिलेसम्म दिमागमा केही आएको छैन । पहिला धेरै दिमागमा क्रियटिभ कुराहरु फुर्थे । सिर्जनशिलता हुन्थ्यो । अहिले जाम भएर बसेजस्तो महसुस भएको छ । गीत सुन्न पनि मन लागिरहेको छैन । फ्रेस हुन समय लाग्ला । मेरो स्वभावले होला, एक किसिमले समस्या समाधान भइसक्यो । हाँसी खुशी हिँड्दा पनि हुन्थ्यो । तर मलाई कुनै कुराले छोयो भने लामो समय सम्म छुन्छ ।


समय कसरी बिताइरहनु भएको छ ?

घरमै बसिरहेको छु । म मोडलिङ पनि गर्छु । अहिले तीज गीतको सुटिङको समय हो । १०/१२ वटा सुटिङ क्यान्सिल गरिसकेँ । धेरै जनालाई पेन्डिङमा राखेको छु । पहिला नै सम्झौता गरेको एक/दुई वटा कामहरु जबरजस्ती गरिरहेको छु । भेटघाट गर्न वातावरण सहज बनिराखेको छैन ।

प्रकाशित : असार १३, २०७६ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?