पुराना फिल्मलाई नयाँ ज्यान

फूलमान वल

काठमाडौँ — ७० वर्षअघि तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरू नेपाल आएका थिए । टुँडिखेलमा उनको नागरिक अभिनन्दन गरिएको थियो । त्यहाँ उभिएर उनको भाषण सुन्नेहरू केही मात्र जीवित होलान् । 

पुराना फिल्मलाई नयाँ ज्यान

बेलायती महारानी एलिजावेथ द्वितीय पञ्चायतकालमा दुई पटक नेपाल आइन् । विसं २०१७ मा राजा महेन्द्र र २०४३ मा वीरेन्द्रसित बग्गी चढ्दै उनले काठमाडौं घुमिन् । यी दुवै पलको साक्षी बन्ने पनि थोरै नै होलान् ।


नेपाली भाषामा निर्मित पहिलो फिल्म ‘आमा’ २०२२ मा काठमाडौं उपत्यकाभित्र प्रदर्शनमा आयो । राजा महेन्द्रले नै भारतको देहरादूनबाट हिरासिंह खत्री झिकाएर फिल्म निर्देशन गर्न लगाए । यो फिल्म हेरेको अनुभव बताउने सक्ने दर्शक यतिबेला सहरमा कति होलान् ?


यी तीनवटै ऐतिहासिक क्षणको प्रत्यक्ष अनुभव गर्ने सौभाग्य नमिले पनि चिन्ता गर्नु पर्दैन । लामो समय ढुसी परेर थन्किएका फिल्मी टेप डिजिटाइजेसन भएर नयाँ स्वरूपमा आएको छ । पञ्चायतकालमा बनेका १० फिल्मसँगै विभिन्न ऐतिहासिक क्षणमा कैद महत्त्वपूर्ण भिडियो सामग्रीलाई चलचित्र विकास बोर्डले डिजिटल माध्यममा ढालेर नयाँ ज्यान दिएको हो । अब कुनै फिल्म महोत्सव या हलमा गएर तपाईं ती पुराना क्षणको साक्षी बन्न सक्नुहुनेछ ।


झन्डै तीन करोडमा अघिल्लो वर्ष थालिएको डिजिटाइजेसन कार्य अन्तिम चरणमा पुगेको हो । बोर्डले ०२२ मा बनेको ‘आमा’ देखि ०४० मा रिलिज ‘के घर के डेरा’ सम्म डिजिटाइजेसन गरेको छ । यी दुई फिल्मसँगै ‘हिजो आज भोलि’, ‘परिवर्तन’, ‘मनको बाँध’, ‘जीवन रेखा’, ‘कुमारी’, ‘सिन्दूर’, ‘बदलिँदो आकाश’ र ‘शान्तिद्वीप’ को सम्पूर्ण काम सकेको बोर्डका कार्यकारी अध्यक्ष केशव भट्टराईले जनाए ।


यी दसवटा कथानक फिल्मबाहेक राजा महेन्द्र र वीरेन्द्रका विदेश भ्रमण, राज्यारोहण, विभिन्न मुलुकका राष्ट्रप्रमुख नेपाल आउँदाको क्षणलगायतका भिडियो सामग्री डिजिटल माध्यममा रूपान्तरण गरिएका छन् । यी सबै सामग्री तत्कालीन शाही नेपाल चलचित्र संस्थानले निर्माण गरेको थियो । बोर्डले वार्षिक उत्सव पारेर असार १६ डिजिटाइजेसन भइसकेका फिल्मका केही दृश्य देखाउँदै छ ।

‘अब नयाँ प्राण पाएका फिल्मको महोत्सव गर्ने योजना बनाइरहेका छौं’, अध्यक्ष भट्टराईले भने, ‘कमर्सियल सोका लागि पनि फिल्म उपलब्ध हुनेछन् ।’ कमर्सियल हलबाट आउने आम्दानी भने चलचित्रकर्मी कल्याण कोषमा जम्मा गर्ने बोर्डको योजना छ । पुराना फिल्म डिजिटाइजेसन प्रक्रिया भने सहज नभएको अग्रज छायांकार एवं निर्देशक मञ्जुकुमार श्रेष्ठको अनुभव छ ।


मुम्बईबाट डिजिटाइजेसन प्रविधि झिकाएर बोर्डमै जडान गरी वर्ष दिनअघि यो प्रक्रिया थालिएको थियो । बितेका ६ महिनादेखि यही कार्यमा व्यस्त श्रेष्ठले धेरैजसो भिडियो टेप ढुसी परेर ध्वनि नै उडेको अवस्थामा भेटिएको बताए । टेप प्रायः टुक्रिएका थिए । ‘प्रायः फिल्म आफैंले खिचेकाले टुक्राटाक्री जोड्न सजिलो भयो,’ उनले भने, ‘ध्वनि उडेका ठाउँमा पनि पुनः स्वरांकन गरेर पहिलेकै अवस्थामा फर्काउने काम भइरहेको छ ।’


स्वरांकन र डिजिटाइजेसनका लागि वरिष्ठ ध्वनि विज्ञ प्रदीपकुमार उपाध्यायले पनि योगदान गरेका छन् । उनीलगायतकै टोलीले ध्वनिमा काम गरेको हो । ‘अस्तित्व नै मेटिन लागेका पुराना कृति नयाँ प्रविधिमा ढालेका छौं,’ उनले भने, ‘मुलुककै लागि यो ठूलो उपलब्धि हो ।’ फिल्म ‘विश्वास’ मा भने टोलीले ज्यान भर्न सकेन ।


यी सबै फिल्मको टेप चलचित्र विकास कम्पनीको बालाजुस्थित ल्याबमा भण्डारण गरिएको थियो । निश्चित तापक्रममा राख्नुपर्नेमा लापरबाही भएका कारण ‘विश्वास’ को रिल डिजिटाइजेसन गर्न नसकिने गरी बिग्रिएको बोर्ड अध्यक्ष भट्टराईले बताए । ‘झन्डै दुई सयवटा फिल्मको टेप त्यही ल्याबमा छन्,’ उनले भने, ‘त्यहाँ सुरक्षित नहुने अवस्था देखेपछि बोर्डमै मगाएका छौं । यस वर्ष पनि केही फिल्म डिजिटाइजेसनको प्रक्रियामा जानेछन् ।’

प्रकाशित : असार १२, २०७६ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?