२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

मीतज्यू अब कता ?

महोत्सवमा मैथिली नाटक

काठमाडौँ — कुनै समय मैथिली रंगकर्मी राम भजन कामत घरमा पाकेको रोटी लिएर छिमेकीको घर जान्थे तरकारी माग्न । पहाडिया छिमेकीले उनको रोटीमा साग हालेर दिन्थे । विराटनगर पोखरियाका कामत यसरी नै छिमेक चहार्दै हुर्के । लोकतान्त्रिक आन्दोलनपछि भने तराईको परिवेश बदलियो ।

मीतज्यू अब कता ?

पहाडिया र मधेसी मनोविज्ञानले घर गर्‍यो । साग र रोटी साट्ने अवस्था बन्द भयो । भर्खरै रंगकर्ममा लागेका राम भजनलाई यो निको लागेन र नाटकमार्फत सद्भाव र सहअस्तित्वको वकालत गर्न थाले ।


राष्ट्रिय नाटक महोत्सवको अन्तिम दिन आइतबार दिउँसो राजधानीको सर्वनाम थिएटरमा उनी एउटा नाटकको रिहर्सलमा थिए । मैथिली भाषाको नाटकको नाम थियो ‘मिता आब कोना चलब’ । अर्थात ‘मीतज्यू अब कता जाने ?’ ‘यो नाटक मेरो सानैदेखिको प्रभाव हो,’ शो हुनुभन्दा ठीक अगाडि उनले भने, ‘मेरो आफ्नै भोगाइभन्दा पनि हुन्छ ।’


खासमा उनले पछिल्लो दशक मधेसमा बढ्दै गएको द्वन्द्व, त्यसले बुहसांस्कृतिक समाजमा पारेको असर र शक्तिकेन्द्रहरूको चलखेललाई नाटकमार्फत देखाउन चाहेका हुन् । यसलाई उनले नेपालीहरूको मीत लाउने संस्कृतिलाई आधार बनाएका छन् । तराईको राजनीतिक विकासक्रमसँगै दुई मीतज्यूको सम्बन्धमा आउने उतारचढावमार्फत उनले प्रतीकात्मक रूपमा तराई समाजका अप्ठ्यारालाई पस्केका छन् ।


कस्तो छ त अहिलेको तराई ? ‘पहिलेको अवस्था जस्तो त ठ्याक्कै छैन,’ निर्देशक कामतले भने, ‘विभाजित मानसिकताको अप्रत्यक्ष प्रभावबाट नयाँ पुस्ता हुर्किरहेको छ । यो पुस्तालाई पुरानो पुस्ताको अन्तर्घुलन उतिसारो महसुस हुँदैन । त्यही भएर अब पहिलेको जस्तो साग र रोटी साट्ने तहको सम्बन्ध निर्माण गर्न कठिन छ ।’ तैपनि रंगकर्ममार्फत उनी प्रयासरत छन् ।


‘महाकन्जुस’, ‘धोको’, ‘मिता आब...’ जस्ता मैथिली नाटकको निर्देशन, ‘मृत सडक, जीवित आत्मा,’ ‘प्रारब्ध’, ‘एक रात’ जस्ता नेपाली नाटकको सहनिर्देशन गरेका राम भजनले यो नाटकमार्फत सद्भाव बिथोल्ने अदृश्य शक्तिको पनि कुरा गरेका छन् । जस्तो नाटकमा पहाडिया र मधेसी दुई मीत मिल्नै खोज्दा अदृश्य शक्तिले भाँडिदिन्छ । उनलाई तराईको राजनीति पनि उस्तै लाग्छ । ‘मिलेरै आ–आफ्नो पहिचान र अधिकारको कुरा गर्दा भइहाल्छ नि,’ उनको मत छ, ‘तर, राजनीतिमा त्यस्तो भइरहेको देख्दिनँ ।’


मैथिली नाटकको दुःख

केही महिनाअघि मात्रै यही नाटकलाई उनले मैथिली भाषामै मञ्चन गरेका थिए अनामनगरस्थित मण्डला थिएटरमा । यसपटकको राष्ट्रिय नाटक महोत्सवमा यो नै एक मात्र मैथिली भाषाको नाटक हो । यद्यपि यो नाटक महोत्सवमा ‘सट्टामा’ मञ्चन गरिएको थियो, त्यही भएर आइतबार दिनभर कामतले हतारोको रिहर्सल खेप्नुपर्‍यो ।


खासमा एमआर्ट थिएटरको प्रस्तुतिमा वीरेन्द्र हमालको नाटक ‘कजरी’ महोत्सवका लागि छानिएको थियो । यो नाटक तयार नभएपछि आयोजक संगीत नाट्य प्रज्ञा प्रतिष्ठानले राम भजनको नाटकलाई सट्टामा मञ्चन गरेको हो ।


महोत्सवको समापन नाटक बनेको ‘मिता आब कोना चलब’ हेर्न दर्शक खचाखच पुगेका थिए । राम भजन खुसी नहुने कुरै भएन तर मैथिली भाषाको नाटकलाई ‘सट्टा’मा मञ्चन गर्नुपर्दाको दुःख भने उनले व्यक्त गरेनन् । उनी मक्ख नै थिए ।


हाल राष्ट्रिय नाचघरको जागिरे समेत बनेका उनी राजधानीमा मैथिली रंगकर्म गर्ने पछिल्लो पुस्ताका प्रतिनिधि पात्र हुन् । नेपाली रंगमञ्चले नयाँ विषय र प्रस्तुति खोजी गरिरहेको बेला उनको अनुभव भने मिश्रित छ । मिथिला नाट्य कला परिषद् (मिनाप) र लोक सञ्चारपछि राजधानीमा मैथिली भाषी नाटक भित्र्याउने जस उनैलाई जान्छ । हालै मण्डलामा मैथिली नाटक मञ्चनको अनुभव कस्तो रह्यो त ?


‘धेरैले प्रचार प्रसारकै कमी भयो भने’, उनले भने, ‘त्यही भएर दर्शक कम आए । नाटक नाफामा जान सकेन ।’ यद्यपि जति दर्शक आए, तिनले नाटकको खुलेर प्रशंसा गरेको उनले बताए ।


विषयवस्तु, प्रस्तुतिदेखि सामयिक प्रभावको पाटोबाट समेत नाटकको धेरैले प्रशंसा गरेको उनको अनुभव छ तर आर्थिक हिसाबले भने नाटक घाटामा गयो । ‘सहरमा मातृभाषी रंगकर्म पैसा कमाउने तहमा पुग्न सकेको छैन’, उनले भने ।

प्रकाशित : असार ९, २०७६ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?