१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

गुगल स्मृतिमा अमरिश

काठमाडौँ — विश्वको सर्वाधिक ठूलो सर्च इन्जिन गुगलले शनिबार भारतीय अभिनेता अमरिश पुरीको ८७ औं जन्मदिन पारेर डुडल बनाई उनको जीवनी र करिअरप्रति सम्मान व्यक्त गरेको छ । पुरीको निधन भने २००५ मा नै भएको हो । पुरीले खलपात्रमा गरेको वजनदार अभिनयमार्फत विश्वभर आफ्ना फ्यान कमाएका थिए ।

गुगल स्मृतिमा अमरिश

‘मिस्टर इन्डिया’ फिल्मको ‘मोग्याम्बो खुस हुआ’ संवादलाई उनले आफ्नो सिग्नेचर डायलग नै बनाइदिएका थिए । जसका कारण उनलाई आज पनि दर्शकले मोग्याम्बो भनेर पनि चिन्ने गर्छन् ।


रंगमञ्च हुँदै ३९ वर्षको उमेरमा ‘रेश्मा और शेरा’ मार्फत बलिउड डेब्यु गरेका पुरीले करिअरमा झन्डै चार सय फिल्म खेले । उनले ओस्कार विजयी हलिउड फिल्म ‘गान्धी’ देखि स्टेभन स्पिलवर्गका दुई फिल्ममा पनि खेले । लाहोरमा जन्मेका पुरी फिल्ममा जति आफ्ना डरलाग्दा आँखा र रुखो अनुहारका कारण खलपात्रमा जमेका थिए, उति नै उनको स्वर पनि तर्साउने खालको थियो ।


पुरीको जन्मदिनको अवसर पारेर उनका छोरा राजीवले बुबासँग जोडिएका केही किस्सा सुनाएका छन् । ‘परिवारमा त हामीले बुबालाई फिल्ममा आउनु केही वर्ष अघिदेखि नै पनि थिएटरमा देख्दै आएका थियौं । हामीलाई थाहा थियो, बुबाले केवल चरित्र मात्रै निर्वाह गर्नुभएको हो ।


तर जब उहाँ फिल्ममा खतरनाक खलपात्रका रूपमा देखिन थाल्नुभयो, तब मेरा साथीहरू घरमा आउँदा बुबालाई देख्नेबित्तिकै डराएर भाग्थे । पछिपछि बल्ल डराउन छोडे ।’ खलपात्र खेलेरै ठूलो स्टारडम बनाउन सफल पुरी फिल्ममा जति डरलाग्दा, रुखो र आततायी देखिन्थे, त्यसको विपरीत वास्तविक जीवनमा भने नरम स्वभाव रहेको राजीवले बताए । भने, ‘अहँ, बुबा कत्ति पनि कठोर स्वभावको हुनुहुन्नथ्यो । बरु हिम्मतिलो र पारिवारिक व्यक्ति हुनुहुन्थ्यो । अनुशासित जीवन बिताउन चाहने र सही तरिकाबाट काम गर्न रुचाउने व्यक्ति हुनुहुन्थ्यो ।’


त्यसो त स्टेभन स्पिलवर्गले नै विभिन्न अन्तरवार्तामा पुरी आफ्नो सर्वाधिक मनपर्ने भिलेन भनी टिप्पणी दिने गर्थे । ८० र ९० को दशकमा बनेका अधिकांश बलिउड फिल्ममा भिलेनमा पुरी नै हुने गर्थे । ‘हम पाँच’ बाट खलचरित्रमा एकाएक जमेका पुरीले त्यसपछि आफ्नो डरलाग्दो छविलाई ‘विधाता’, ‘शक्ति’, ‘हिरो’ लगायत फिल्ममार्फत बढाउँदै लगे । ‘मेरी जंग’, ‘त्रिदेव’, ‘घायल’, ‘करण अर्जुन’ हुँदै ‘दिलवाले दुल्हानियाँ ले जायगें’, ‘फूल और काँटे’, ‘परदेश’, ‘घातक’, ‘चाइना गेट’, ‘मोहम्बतें’ जस्ता फिल्मबाट पुरीले आफूलाई चिरस्मरणीय बनाउन सफल रहे । यी फिल्ममा पुरी यति घटिया भूमिकामा देखिन्थे कि हिन्दी फिल्मका लागि उनी सर्वाधिक ‘नराम्रो व्यक्ति’ बन्न सफल भए । ‘बुबाले भूमिकालाई जुन तरिकाले निर्वाह गर्नुहुन्थ्यो, त्यस्तो त आजसम्म सायद कसैले पनि गर्न सकेको छैन । उहाँको जस्तो भिलेनका लागि प्रयोग आजसम्म कसैले गर्ने हिम्मत गरेको छैन,’ छोरा राजीवले एक अन्तरवार्तामा भनेका छन् ।


‘नसिब’, ‘अन्धा कानुन’, ‘अर्धसत्य’, ‘गदर’ जस्ता फिल्मबाट त पुरीले खलनायकका रूपमा यस्तो छाप छोड्न सफल रहे कि दर्शकको मनमा उनीप्रति सधैं एकखाले डर कायम रहन्थ्यो । राजीवलाई भने आफ्नो बुबाका आठ फिल्म ‘विरासत’, ‘घातक’, ‘कोयला’, ‘त्रिदेव’, ‘विश्वात्मा’, ‘मिस्टर इन्डिया’, ‘गदर’ र ‘नागिन’ सबैभन्दा मन पर्नेमा पर्दा रहेछन् । पुरीले छोरालाई भने कहिल्यै बलिउडमा ल्याउन चाहेनन् । उनी फिल्म क्षेत्रमा खास भविष्य नरहेको ठान्थे । तर यतिबेला पुरीका नाति हर्षवर्धन भने सहायक निर्देशकका रूपमा बलिउडमा क्रियाशील छन् ।

प्रकाशित : असार ८, २०७६ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?