कलामा सम्पदा

सुशीला तामा‌ङ

काठमाडौँ — ढुंगामा देउता, माटोमा पनि । मन्दिरमा देउता, बाटोमा पनि । पानीमुनि देउता, आकाशमा पनि । सहरको कुनै पुरानो गल्लीमा पैदल हिँड्नुभयो भने पक्कै पनि यस्तै देखिन्छ । यतिबेला भने यस्तै दृश्य देखिन्छ बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा । 

बबरमलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा जारी ‘रेमिनिसेन्सेस’ शीर्षकको कला प्रदर्शनीमा सर्वत्र देउतैदेउता देखिन्छ । चित्रहरूको सन्देश यति बलियो छ कि, ‘यी सम्पदाहरू जोगाउन सकिएन भने भोलिका लागि सम्झना मात्रै रहने छ ।’
चित्रकार इशान परियारले काठमाडौंका पुराना सांस्कृतिक सम्पदाहरूको अवलोकनलाई स्मृतिमा राख्दै त्यसलाई कलामा उतारेका हुन् । प्रदर्शनीमा राखिएका कलाहरूले पुरानो सांस्कृतिक सम्पदाको झल्को दिन्छ । युवा चित्रकार परियारले पुराना सांस्कृतिक सम्पदालाई नजिकबाट नियाल्दै ती सम्पदाहरूलाई कलामार्फत नै प्रस्तुत गरेका छन् भने सम्पदामाथि अहिले भइरहेको गलत व्यवहार चित्रणसमेत गरेका छन् ।

बितेका कालखण्डमा बनेका कलाकृतिहरू अहिलेको पुस्तालाई पुराना पहिचान दिलाउने संस्मरण भएजस्तै सांस्कृतिक सम्पदा जोगाउन सकेनौं भने भविष्यका पिँढीका लागि अर्को संस्मरण बन्ने परियारको मत छ । ‘मानव जातिका जति पनि पुराना इतिहास छन्, ती सबै संस्मरणका रूपमा रहन्छन्,’ उनले भने, ‘क्यान्भासमै भए पनि पुराना सम्पदा जोगाउने कोसिस गरेको हुँ ।’

प्रदर्शनीमा रहेका २८ वटा सांस्कृतिक सम्पदाका प्रत्येक चित्रसँगै डुंगाको पनि चित्र उतारेका छन् परियारले । पोखरावासी परियारले फेवातालमा डुंगाहरू हेरेर हुर्कंदै जाँदा त्यसलाई जीवनका हरेक पलहरूसँगै दाँज्दै लैजाँदा चित्रमा समेत यसको प्रभाव उतारेका हुन् ।

विभिन्न भगवान्को कला उनले डुंगाभित्र नै बनाएका छन् । डुंगालाई भने सांस्कृतिक सम्पदा र मानिसको जीवनको उद्देश्य बुझाउने प्रतीकात्मक रूपमा प्रस्तुत गरेको उनले बताए । ‘डुंगाबाट निश्चित ठाउँमा यात्रा गरेजस्तै मानिसको जीवन पनि अन्त्यसम्म नै यात्रामा नै रहन्छ,’ उनले भने ।

चित्रमा प्रायः धार्मिक आस्था पनि झल्काएका छन् उनले । ‘द अनडाइनेवल ट्रुथ’ शीर्षकको चित्रमा उनले पानी नै पानीको बीचमा डुंगा र भगवान्लाई धेरै टाढाको दूरीमा देखाएका छन् । उनका अनुसार मानिसको जीवन, डुंगा र हाम्रा सांस्कृतिक सम्पदा उस्तै रूपमा आएका छन् । डुंगा खिइँदै गएजस्तै मानिसको जीवन पनि सकिँदै जान्छ । मानिसको जीवन सकिएजस्तै पुस्तापिच्छे नै हाम्रो सांस्कृतिक धरोहर पनि मासिँदै गएका छन् ।

पोखराबाट काठमाडौंको पहिलो यात्रामा नै परियारलाई उपत्यकाभित्र मासिएका र अतिक्रमण भएका प्राचीन सांस्कृतिक सम्पदाले तानेको थियो । ती सबैलाई स्मरणमा राखेर एकत्रित गर्दै उनले एक्रेलिक, पेन एन्ड इन्कका माध्यमबाट चित्र कोरेका हुन् ।

काठमाडौं उपत्यकामा सडक विस्तारकै क्रममा अतिक्रमण भएका प्राचीन अस्तित्व बोकेका विभिन्न मूर्तिलाई डुंगाहरूमा राखेर डोजरको चित्रसहितका ‘द गार्जियन अफ टाइम’ शीर्षकको चित्र कोरेका छन्, यो अहिलेको विकासे समयप्रतिको सबभन्दा ठूलो व्यंग्यझैं लाग्छ । त्यस्तैगरी ‘होयर आर वी हेडिङ ?’, ‘द फ्लो अफ टाइम’, ‘माई गड इन अ प्राइभेट कलेक्सन’ जस्ता शीर्षकमा नेपालबाट हराएर गएका कतिपय मूर्तिहरू, भूकम्पले क्षति पुर्‍याएका सांस्कृतिक सम्पदा, रानीपोखरीको बालगोपालको मन्दिरजस्ता सम्पदालाई अर्थपूर्ण रूपमा डुंगामा राखेर उतारेका छन् उनले ।

‘द वर्ल्ड एक्जिस्टेन्ट’ शीर्षकको कलामा आफ्नै पोट्रेट बनाई हत्केलामा इँटाहरू राखेर त्ससमाथि लाखे नाचेको क्यानभासले पनि मन छुन्छ ।

प्रकाशित : असार ८, २०७६ ०९:०५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

'युद्ध भए इरान ध्वस्त’

एजेन्सी

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले नचाहेको तर इरानले युद्ध सुरु गरे पूर्णरूपमा ध्वस्त पारिदिने चेतावनी दिएका छन् । 

एनबीसीसँग कुराकानी गर्दै ट्रम्पले ‘अमेरिका इरानसँग वार्ता गर्न तयार रहेको तर कुनै पनि हालतमा परमाणु हतियार निर्माण गर्न नदिने’ बताए । राष्ट्रपति ट्रम्पले यसअघि ‘इरानमाथि आक्रमण गर्ने योजना अन्तिम समयमा स्थगित गरिएको’ दाबी गरेका थिए । तर १५० इरानी सर्वसाधारणको मृत्यु हुने देखिएपछि आक्रमण योजना अन्तिम समयमा रोकिएको ट्रम्पले बताए ।

इरानी नेतालाई सम्बोधन गर्दै ट्रम्पले भनेका छन्, ‘तपाईंहरूले परमाणु हतियार निर्माण गर्न पाउनुहुन्न । यदि तपाईँहरू यसबारे वर्ता गर्न चाहनुहुन्छ भने त्यो राम्रो हो ।’

इरानको इस्लामिक रेभोलुसनरी गार्ड (आईआरजीसी) ले दक्षिणी प्रान्त होर्मोजुमा अमेरिकी जासुसी ड्रोनलाई बिहीबार गोली हानी खसालेपछि आक्रमणको योजना बनाइएको ट्रम्पको दाबी छ । यद्यपि, विश्लेषकहरूले राष्ट्रपतिको उक्त अभिव्यक्ति इरानलाई त्रसाउने भएको हुन सक्ने जनाएका छन् ।

अमेरिकी तल्लो सदनकी सभामुख नान्सी पेलोसीले ‘राष्ट्रपतिले इरानमा आक्रमण नगरेर राम्रो गरेको’ जनाइन् । उनले ‘राष्ट्रपति ट्रम्पले कुनै पनि सैनिक कदम चाल्नुअघि सदनको अनुमति लिनुपर्ने’ जनाइन् । तेहरानले ‘आफ्नो आकाशमा प्रवेश गरेकाले ड्रोनलाई गोली हानी खसालेको’ जनाएको थियो ।

इरानी समाचार संस्थाका अनुसार ‘मोबाराक पहाडी इलाकाको हवाई क्षेत्रमा अनधिकृत रूपमा प्रवेश गरेको ‘आरक्यू–४ ग्लोबल हक’ जासुसी ड्रोन खसालिएको हो ।’ तर अमेरिकाले सैनिक ड्रोन अन्तर्राष्ट्रिय जल क्षेत्रमाथि रहेको दाबी गरेको थियो । यसबारे राष्ट्रसंघीय सुरक्षा परिषद्मा सोमबार छलफल चलाउन अमेरिकाले आग्रह गरेको छ ।

गतसाता ओमानको खाडीमा दुई तेल ट्यांकरमाथि इरानले आक्रमण गरेको अमेरिकी दाबीपछि दुई देशबीचको सम्बन्ध थप बिग्रेको हो । अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले ‘गोप्य सूचना तथा प्रयोग गरिएका हतियारका आधारमा’ इरानी इरानी विशेष फौजले आक्रमण गरेको दाबी गरेका थिए ।

त्यसविरुद्ध पोम्पियो र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टन कडा कदम चाल्नुपर्ने पक्षमा उभिएका थिए । तर संसदा नेताहरू त्यसको विपक्षमा उभिएका अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेसले जनाएको छ ।
ओमानको खाडी तेल ट्यांकरहरूको आवतजावत हुने प्रमुख रणनीतिक जलमार्ग हो ।

इरानी अधिकारीले भने आक्रमणसँग ‘इरानको कुनै सम्बन्ध नभएको’ बताएका छन् । जापानी स्वामित्वको कोकुका करेजस र नर्वेली स्वामित्वको फ्रन्ट अल्टेअरमा बिहीबार ट्यांकरमाथि आक्रमण भएलगत्तै चालक दलका सदस्यहरूको उद्धार गरिएको थियो । त्यसलगत्तै अमेरिकाले ‘इरानको शत्रुतापूर्ण व्यवहारका कारण’ खाडी क्षेत्रमा एक हजार सैनिक थप गरिसकेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा एकपक्षीय रूपमा सन् २०१५ को इरानी परमाणु सम्झौताबाट अलग हुने घोषणा गरेपछि दुई देशबीच तनाव चर्केको हो । त्यसयता अमेरिकाले इरानमाथि दुई पटक पानीजहाजमा आक्रमणको अरोप लगाइसकेको छ ।

प्रकाशित : असार ८, २०७६ ०९:०४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT