१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

फलफूल कि बुद्ध? 

लक्ष्मी लम्साल

बेइजिङ — यस वर्षको जुनमा हनान प्रान्तको शाङ्छ्यु नामको गाउँमा लु चन नामक युवाले अचम्मको काँक्रा फलाए । काँक्रो असाधारण आकृतिको थियो । काँक्रो हेर्नमा निकै मायालु र लोभलाग्दो थियो । लु चनले भने, ‘यो काँक्रो आम काँक्रोभन्दा २० गुणा महँगोमा बिक्री भयो ।’

फलफूल कि बुद्ध? 

धेरै ग्राहकले किन्न रूचि देखाए पनि यो ठूलो परिमाणमा उत्पादन भएको थिएन । लु चनले आफ्नो ग्रिन हाउसमा यस्तो खालको काँक्रो उत्पादन गरेपछि चिनियाँ सञ्चारमाध्यमहरूमा वाहवाही कमाएको छ । जन्मजात हृदय आकारको फलेको काँक्रो थिएन यो । यसलाई साँचो लगाएर चाहेको आकारमा ढालिएको थियो ।


यति मात्रै हैन, चिनियाँ सब्जी बजारमा बेलामा बेलामा यस्ता बुद्ध वा अन्य विषयवस्तु अंकित फलफूलहरू देख्न सकिन्छ । यसको कारण धार्मिक विश्वास र कृषिप्रतिको अभिरूचि पनि हो ।


चीनको श्रव्यदृश्य इतिहासमा सर्वाधिक लोकप्रिय बौद्धधार्मिक धारावाहिक शृंखला छ, ‘सियौची’ अर्थात् पश्चिमको यात्रा । प्राचीन भारतबाट बुद्धसूत्र ल्याउने क्रममा भिक्षु र उनका चेलाहरूको यात्राको क्रममा एउटा फल देखेपछिको एउटा किस्सा यसमा जोडिएको छ । उनीहरूले फल देखेपछि खाने इच्छा राख्छन् ।


तर छुनेबित्तिकै त्यो फल बिलाउँछ, जमिनमा खस्नेबित्तिकै कहाँ हो कहाँ, हराउँछ । ती यात्रीले यो फल खान मरिहत्ते गर्नुका पछाडि यसमा निहीत एउटा मान्यता थियो, जुन फल खाएपछि चिरायु हुन सकिन्थ्यो । त्यो फलबारेमा निकै ठूलो विश्वास पनि छ । त्यो फलफूलको बास्ना सुँघ्न मात्रै पाइयो भनेपनि ३६० वर्ष बाँच्न सकिन्छ र एउटा मात्रै खान पाइयो भने ४७ हजार वर्ष बाँच्न सकिन्छ ।


चिनियाँ मिङ राजवंशकाल (१३६८–१६४४) मा वु छङ अन नामक लेखकले पश्चिमको यात्रा लेखेपछि चीनको कान्सु प्रान्तमा पाइने रनशङक्वोलाई मानिसले त्यस्तो फल ठानेका थिए । त्यसमा फ्याट कम, प्रोटिन धेरै, सुगर कम, भिटामिन धेरै भएकाले स्वास्थ्यका लागि राम्रो हुन्छ ।


किम्वदन्तीअनुसार त्यो दुर्लभ फल बच्चाको आकृतिजस्तो हुन्छ । यसको विशेषता हो, सुनसँग छोइयो भने भुइँमा खस्छ, काठसँग छोइयो भने बिग्रिन्छ, पानीमा मिसियो भने पग्लिन्छ । आगोसँग छोइयो भने अँगार हुन्छ । माटोमा पर्‍यो भने हराउँछ ।


चिनियाँ इतिहासको प्रभाव पनि हो, वर्तमान युगमा चिनियाँहरूले त्यसको पिछा गर्ने गर्दछन् । बेइजिङकी स्थानीय बासिन्दा चाङ चिङ भन्छिन्, ‘चिनियाँहरू इतिहास वा किम्वदन्तीमा विश्वास गरेर के कुरामा सौभाग्य प्राप्त हुन्छ, त्यस्तै कुराको सिर्जना गर्न खोज्ने यो एउटा प्रमाण पनि हो ।’


सम्भवतः यस्तै प्रभावमा परेर चिनियाँ बजारमा अनेक अनौठा चिजबिजहरू देखिन्छन् । अन्य कतिपय फलहरू पनि चिनियाँले मानवीय वा शुभाकृतिमा ढालेर उत्पादन गरेको देख्न सकिन्छ । बेइजिङमा भर्खरै आएकी बारा, निजगढकी रोशिना अधिकारीले एउटा सुपर मार्केटमा बुद्ध स्वरूपमा नास्पाती देखेपछि अचम्म मानिन् । त्यसको मूल्य एउटाको १० आरएमबी अर्थात् नेपाली १६० रुपैयाँ जति पर्दथ्यो । चिनियाँको यो खालको फलफूल उत्पादन शैलीले धेरै विदेशीलाई यसैगरी आश्चर्यचकित पार्ने गर्छ ।


यस्ता फलफूल उत्पादन गर्नका लागि पहिला त चाहेको स्वरूपको साँचो वा निर्दिष्ट सामग्री हुनु जरूरी छ । नास्पातीको सवालमा १ इन्च जतिको होउन्जेलसम्म नास्पातीलाई हुर्कन दिनुपर्छ । तत्पश्चात् ती नास्पाती आकृतिमा ढाल्नका लागि योग्य हुन्छन् । नास्पातीको सिजनमा बजारमा यस्ता फलफूलहरू त देख्न सकिन्छ नै । तर अन्य फलफूलमा पनि यस्ता शुभचिह्न कुँदिएको भेट्न सकिन्छ ।


बेइजिङको छिमेकी हपै प्रान्तमा र अन्य प्रान्तबाट पनि यस्ता फलफूलहरू राजधानी भित्रिन्छन् मानिसले यस्ता फलफूल खाने वा किन्ने कारण रमाइलोका लागि नै हो । प्रत्येक गेडैपिच्छे साँचो जडान गर्नुपर्ने भएकाले धेरै उत्पादन गर्नु किसानका लागि पनि मुस्किल त हो नै ।


धेरै अगाडि बुद्ध आकृतिका १० हजार वटा नास्पाती बेलायत निर्यात गरेको खबर चिनियाँ अनलाइनमा पढ्न सकिन्छ । यस प्रकारका नास्पाती बेलायतमा ५ पाउन्डमा बेचिन्छन्, चिनियाँमा मूल्य ५० युआन जति हुन आउछ । चिनियाहरूका जीवनमा वसन्त चाड र त्यससँग सम्बन्धित खाद्य परिकारको ठूलो भूमिका हुन्छ । त्यस अवधिमा कतिपय स्याउमा पनि लिपि देखिन्छ । त्यो लिपिमा शुभकामना लेखिएको हुनाले ग्राहकलाई पनि त्यस्तो स्याउ घरमा लैजाने इच्छा हुन्छ । सुख, शान्ति, समृद्धिजस्ता शुभेच्छा शब्द स्याउमा कोरिएका हुन्छन् ।


हपै प्रान्तकी बासिन्दा यूए रोङले पनि यस्ता स्वरूपका फलफूलहरू चाखेकी छन् । उनले भनिन्, ‘स्वाद उस्तै हो तर भावना फरक छ । फल सानो हुँदाखेरि एउटा धातु वा प्लास्टिकको संरचनाभित्र हुलिदिने, बढ्दै गएपछि सम्बन्धित वस्तुको आकार अनुरूप बढ्दै जान्छ । धेरै आम्दानी गर्नका लागि किसान यस्तो गर्छन् ।’


केही उट्पट्याङ्ग किसानले खरबुजा वा ठूला फलफूलमा युवतीको आकृति निकालेर पनि उत्पादन गर्न सक्छन् । खेलवाडको रूपमा त्यस्तो दृश्य बनाएका भए पनि अपवादका रूपमा कतिपय फलफूलचाहिँ प्राकृतिक रूपमै अश्लील शैलीमा फलेका हुन्छन् । फलफूललाई आकार दिने गतिविधिले कृषक जीवनमा केही असर पर्ला/नपर्ला अनुसन्धानको पाटो हुन सक्छ । तत्कालका लागि खेतीकृषिप्रतिको आकर्षण बढाउन वा उत्पादनको बजार बढाउन उपयोगी हुन सक्छ । चीनमा त्यस्ता अनलाइन पनि छन्, जसले यस्ता फलफूलहरू विदेश निर्यात गर्नका लागि अर्डरहरू लिने गर्दछन् ।

प्रकाशित : असार ६, २०७६ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?