२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

रंगमञ्चमा महिला : देखिँदै हराउँदै

सुशीला तामा‌ङ

काठमाडौँ — रंगमञ्चमा झन्डै डेढ दशक अगाडि उदाएकी सरस्वती चौधरी बितेका ३/४ वर्षदेखि टाढा भइन् । तत्कालीन आरोहण गुरुकुलमा रंगकर्मी सुनील पोखरेलको निर्देशन तथा संस्कृतिविद् सत्यमोहन जोशीको लेखन रहेको नाटक ‘बाघभैरव’ बाट उनले रंगमञ्च यात्रा सुरु गरिन् ।

४ वर्षअघि नाटक ‘हेड्डा ग्याब्लर’ मा देखिएकी उनी विवाह र सन्तानपछि रंगमञ्चमा देखिन छोडे पनि अहिले भने शंकर लामिछानेको कथा तथा प्रवीण खतिवडाको नाट्य रूपान्तरण र निर्देशन रहेको नाटक ‘मिमांश’ बाट मण्डलाको रंगमञ्चमा उदाउने तयारीमा छिन् ।

रंगमञ्चमा टिक्न चाहेर पनि टाढिरहेका महिला रंगकर्मीहरूमा सरस्वती एक्ला छैनन् ।

लामै समय क्रियाशील रहेर दर्शकमा राम्रै छाप छाड्न सफल भए पनि अहिले टाढिएका महिला रंगकर्मीहरू धेरै छन् । कुनै समय जोसिला महिला रंगकर्मी मानिने समुना केसी, प्रमिला कटुवाल, मञ्जु देवकोटा, पूजा ढकाललगायतका कथाकार अहिले नाट्य दुनियाँबाट टाढा छन् ।

पछिल्लो समयमा रंगमञ्च व्यावसायिकतातिर लम्किरहेको भए पनि महिला रंगकर्मीलाई निरन्तरता दिइरहन भने गाह्रै रहेको रंगकर्मीहरू स्विकार्छन् । झन्डै डेढ दशक उमेर नेपाली रंगमञ्चलाई सुम्पेकी र अहिले पनि उत्तिकै सक्रिय रहेकी पशुपति राई महिलालाई अन्य क्षेत्रजस्तै रंगमञ्चमा पनि सहज नभएको बताउँछिन् ।

‘हाम्रो यहाँ सानो बजार छ । आर्थिक रूपमा भर्खरै हिँडन सुरु गरेको रंगमञ्चमा त्यसै पनि महिलालाई हेर्ने नजर नै फरक छ र विवाहपछि घरको भार पनि महिलामाथि नै थुप्रिन्छ । यसले गर्दा महिला प्रतिभा पछि परिरहन्छन्,’ उनी भन्छिन्, ‘फेरि रंगमञ्चमा आजको भोलि नै केही प्रगति भइहाल्ने भन्ने हुँदैन । ठूलो सपना लिएर निरन्तर लाग्न कठिन नै छ ।’

रंगमञ्चमा आउन चाहे पनि घरमा परिवार र बच्चाको हेरचाह गर्दागर्दै आफू पछि परिरहेको पत्तो नै नहुने चौधरीले अनुभव सुनाइन् । ‘पछि आउने इच्छा भएर फर्कन खोज्दा आमाको हिसाबले प्राकृतिक रूपमै शारीरिक परिवर्तन भइसकेको हुन्छ,’ उनी भन्छिन्, ‘त्यसमाथि यसले काम गर्न सक्ला र ? समय दिन भ्याउँछ र ? भन्ने प्रश्नहरूको जवाफ खेप्नुपर्ने हुन्छ ।’

पछिल्लो समय नेपाली रंगमञ्चमा महिलाहरू निकै सक्रिय रहे पनि केही कठिनाइ भने भोग्नुपर्ने अवस्थामै रहेको रंगकर्मी दयाहाङ राईको टिप्पणी छ । रंगमञ्चबाटै उदाएर नेपाली फिल्म क्षेत्रमा स्थापित बनेका राई भन्छन्, ‘समस्याकै बाबजुद अहिले कतिपय महिला रंगकर्मी साथीहरू नाटक रिहर्सलका लागि नानी बोकेरै आउनुहुन्छ । यो उहाँहरूको आँट र साहस हो ।’

उनका अनुसार पितृसत्तात्मक सोच भएको हाम्रो समाजमा जुनसुकै क्षेत्रमा महिलालाई नै गाह्रै नै छ । घरायसी कामको जिम्मेवारीमा अझै पनि महिलामाथि नै अपेक्षा गरिन्छ । ‘घरव्यवहारलाई महिलाको मात्र नसम्झेर पुरुष साथी र परिवारले साथ दिएमा र महिला स्वयंले पनि इच्छाशक्ति देखाएमा परिस्थिति बदलिन सक्छ,’ उनको धारणा छ ।

राईलाई सही थप्दै अर्का रंगकर्मी केदार श्रेष्ठ भन्छन्, ‘सबैतिर पुरुषवादी सोचको हाबी छ । रंगमञ्चमा पनि त्यसको प्रभाव छ । महिलालाई पुरुषले मात्र होइन, महिलाले महिलालाई पनि डोमिनेसन गरिरहेको हुन्छ ।’ साठीको दशकबाट नै विद्रोही महिला पात्रका नाटकहरू आउनु र लेखन तथा निर्देशनमा महिलाहरू आउनु भने सुखद पक्ष रहेको उनी बताउँछन् ।

हुन त नाटकमा निरन्तर रूपमा लागिरहेका महिला रंगकर्मी पनि छन् । लुनिभा तुलाधार, जसले निरन्तर रूपमा रंगमञ्चमा २ दशक बिताइसकेकी छन् । तर महिला भएकै कारण रंगमञ्चमा कठिनाइ भोग्नुपर्ने भने उनी पनि स्विकार्छिन् । ‘परिवारमा छोरी मान्छे सुरक्षित छैनन् भन्ने पुरातन मान्यता एकदमै हाबी छ,’ उनी भन्छिन्, ‘रंगमञ्चमा कलाकार भएपछि कहिले कसैको श्रीमती, कहिले कसैको प्रेमिकाको भूमिका निभाएर सँगै छोएर बस्नुपर्ने, अंगालो हाल्नुपर्ने, चुम्बन गर्नुपर्ने हुन्छ । यी सबै कुरा पचाउन हाम्रो समाज अझै पूर्ण रूपले तयार छैन ।’ उनका अनुसार रंगमञ्चको स्पेसले पनि महिला रंगकर्मीहरूलाई कठिन भएको बताउँछिन् । रिहर्सलको समयमा जुनसुकै समय र दिनमा पनि तयार हुनुपर्ने वातावरणले यसमा नै लागिरहन नसक्ने पनि उनले बताइन् ।

रंगमञ्चमा सबैजना एकै परिवारका सदस्यजस्तै हुन्छन् । सबैसँग दाजुभाइ दिदीबहिनीको जस्तै सम्बन्ध रहन्छ । यसले पारिवारिक वातावरण र एकअर्कामा सहयोगी भावनाको विकास गराए पनि कहिलेकाहीँ अप्ठ्यारो पार्ने रंगकर्मी आकांक्षा कार्की बताउँछिन् । ‘सबैजना आफ्नै जस्ता हुन्छन् । चित्त नबुझेको कुरा पनि रिसाउला कि भन्ने डरले भन्न सकिँदैन,’ उनी भन्छिन् ।

रंगमञ्चमा पेसागत कुरामा पनि बढी नै व्यक्तिगत विचार हाबी हुनाले पनि महिला रंगकर्मीहरूलाई गाह्रो हुने उनले उल्लेख गरिन् । रंगमञ्चमा टिकिरहन भने मिहिनेत र लगाव दुवै हुनुपर्ने महिला रंगकर्मीहरू नै सुझाउँछन् । आफू कसरी र कतिसम्म कुनै क्षेत्रमा टिक्ने भन्ने कुरा स्वयं महिलामा नै भर पर्ने रंगकर्मी सिर्जना सुब्बाको धारणा छ । एक दशकभन्दा बढी समयदेखि रंगमञ्चमा सक्रिय उनी भन्छिन्, ‘महिलाहरू विवाहपछि प्राकृतिक रूपमै केही पछि त पर्छन् नै, तर समयसँगै म कता हिँड्ने, कसरी सक्षम र सजक हुने, समस्यासँग कसरी लडेर अगाडि बढ्ने भन्ने विवेक महिलाहरू आफैंमा हुनुपर्छ ।’

नाटकबाटै फिल्मलगायत अन्य विधातिर गएर नाम र दाम पाएका थुप्रै रंगकर्मीहरू पनि छन् । यो पनि आफ्नो कला प्रस्तुत गर्ने अर्को माध्यम रहेको रंगकर्मीहरू स्विकार्छन् । रंगमञ्चमा आएपछि कलाकारितालाई बाहिर ल्याउने अनेक विकल्पहरूबारे कलाकारले स्वयंले सोच्नुपर्ने गकर्मी सरिता गिरी बताउँछिन् । ‘नाटक विधामा मात्र लाग्छु, यसैबाट जीवन चलाउँछु भन्ने अवस्था अहिले छैन,’ फिल्मतिर बरोबर देखिरहने गिरी भन्छिन्, ‘टिकिरहनकै लागि पनि फिल्म एउटा सशक्त अवसर बनेको छ ।’

मानिसमा रहेको ठूला महत्त्वाकांक्षाले पनि रंगमञ्चमा टिकिरहन सहज नभएको रंगकर्मी तथा नेपाल संगीत तथा नाट्य प्रतिष्ठानको नाट्य विभागकी प्रमुख निशा शर्मा बताउँछिन् । ‘मानिसलाई आजको भोलि नै नतिजा चाहिन्छ । थोरै समयको कामले नाम र दाम दुवै एकैचोटि चाहने परिपाटीले पनि महिला रंगकर्मीहरू पछाडि परेका छन्’, उनी भन्छिन्, ‘परिवारमा सम्झौता, सपनाको लिमिटेसन, कामप्रतिको सम्मान गर्ने हो भने निरन्तर अघि बढ्न सकिन्छ ।’

पछिल्लो समयमा मीटू अभियानले नेपाली रंगमञ्चमा पनि ठूलै बहस नै चल्यो । तर यसकै पछि लागेर महिला कलाकार रंगमञ्चबाटै टाढिनुपर्ने वातावरण नरहेको रंगकर्मीहरूको विचार छ । यसले त झनै पूरै रंगमञ्चलाई सचेत बनाएको धारणा रंगकर्मी सोमनाथ खनाल बताउँछन् । ‘रंगमञ्चमा यस्ता बहस भइरहनुपर्छ,’ उनी भन्छन्, ‘यसले सजगताका साथ अघि बढ्न झन् सहयोग पुर्‍याउँछ ।’ यस्ता बहसले महिला रंगकर्मीहरूलाई रंगमञ्चमा उभिन नयाँ स्पेस पाएको रंगकर्मीहरू राई र श्रेष्ठ दुवैको दाबी छ ।’

प्रकाशित : असार ६, २०७६ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?