लोकलयमा विवाद : ‘गलबन्दी च्यातियो...’ चोरी आरोप

सुशील पौडेल

काठमाडौँ — युट्युबमा अपलोड भएको २५ औं दिनमा पनि प्रकाश सपूतको ‘गलबन्दी’ गीत एक करोड ३५ लाखभन्दा बढी भ्युजसहित अझै नेपाल ट्रेन्डिङको ३३ औं स्थानमा छ । नेपाली ग्रामीण समाजमा गाइने रोधी परम्परामा आधारित उक्त लोकभाकालाई यति बेला भने चोरीको बात लागेको छ ।

सपूतको गीत २०४८ सालमै रेकर्डिङ गरिएको गायक शम्भु राईको ‘आऊ नाचौं साथी हो...’ सँग लय मिल्न गएको आरोप लागेको छ ।

‘शम्भु राईको गीत र प्रकाश सपूतको गीतको नोट्सको हिसाबले मुख्य टुक्काको फ्रेमिङ मेलोडी ६० प्रतिशतभन्दा बढी मिलेको देखिन्छ,’ संगीतकार अर्जुन पोखरेलले कान्तिपुरसँग भने, ‘प्रकाशजीले भयंकर ठूलो गल्ती गरे, सजाय दिनुपर्छ भन्ने ठाउँ पनि छैन ।’

पोखरेलले प्रकाश सपूत आफैंमा प्रतिभावान् सर्जक भएकाले नियतवश नै मिल्ने गरी बनाए भन्ने आफूलाई नलागेको जिकिर गर्दै कहिलेकाहीँ जान/अञ्जानमा मिल्न जाने सम्भावनालाई नकार्न नमिल्ने बताए । उनले गायक सपूतले आफूलाई संगीतकारका रूपमा भन्दा पनि संकलकका रूपमा राखिदिएको भए यति धेरै बबन्डर नमच्चिने पनि ठान्छन् ।

तर गायक शम्भु राई भने आफ्नो गीतसँग ‘गलबन्दी’ को लय ठ्याक्कै मिल्न गएको दाबी गर्छन् । उक्त देउसी गीत उनले २८ वर्षअघि नै ‘फूल फुल्यो गाउँबेंसी’ एल्बमका लागि रेकर्ड गराएका थिए भने पछि रि–रेकर्डिङ गराए । ‘आफ्नै संगीतमा मिल्न आउँदा संगीतकारमा नाम छ कि भनी हेरें, नदेख्दा दुःख लाग्यो,’ सपूतको गीत सुनेपछिको अनुभव सुनाउँदै गायक राईले थपे, ‘आफ्नै सृजनामा बलात्कार गरेजस्तो, छातीमा छुरा हानेजस्तो महसुस भयो । मलाई यो उपयुक्त लागेन । मेरो लय मिलेको छ, सम्बोधन गर्न अनुरोध गरेको छु ।’

गायक राईले आफ्नो नाम सपूतले संगीतमा दिनुपर्ने माग गरेका छन् ।

प्रकाश सपूत यति बेला चोरीको बात लागेपछि आफू डिस्टर्ब भएको बताउँछन् । ‘हतासिएको छु । यसले गर्दा कतै मेरो सिर्जनशीलतामा ह्रास आउने हो कि भन्ने डर छ । एकोहोरो काममा लाग्न सकिरहेको छैन । पहिले गीतका श्रोता/दर्शकबाट शतप्रतिशत नम्बर पाइरहेको थिएँ । यो आरोपपछि मेरो विश्वसनीयतामा नम्बर काटिएको छ,’ ‘गलबन्दी’ गायक तथा रचना, संगीतमा आफ्नै नाम राखेका सपूतले भने, ‘रत्यौली भाकामा भजन तालमा पश्चिम भेगमा गाइने नितान्त लोकभाका हो । त्यसलाई मैले परिमार्जित गरी पस्केको हुँ ।’

सपूतले गायक राईको गीत सुन्दा ताल, मिटर उस्तै जस्तो सुनिए पनि सरगमको हिसाबले प्राविधिक रूपमा हेर्दा ठ्याक्कै नमिल्ने जिकिर गरे । भने, ‘हो, उस्तै सुनिन्छ तर गायकीको लवज, लय ठ्याक्कै मिलेको छैन । उहाँको गीत सुनेर मैले कपी गरेको पनि हैन ।’ उनले बरु लोकभाकामा अग्रजको योगदानको कदर गर्दै संगीत शुद्धीकरणका लागि आफू हर्दम तयार रहेको बताए ।

लोकभाका र चोरीका विषयमा बहस हुन जरुरी रहेको संगीतकार पोखरेलको धारणा छ । उनी भन्छन्, ‘यति बेला अग्रज र नयाँ स्रष्टाबीचको भाषा फरक परिरहेको छ । लोकगीत सामाजिक सम्पत्ति हो तर त्यसलाई जसले पहिले रेकर्ड गर्‍यो त्यसमा उसको अधिकार हुन्छ । लोकगीत बगेको गंगा हो, जसले त्यहाँबाट लोटामा पानी निकाल्छ, त्यो पानीउसैको हुन्छ ।

गंगा सार्वजनिक सम्पत्ति होला तर लोटाको पानी सार्वजनिक हैन ।’ उनले लोकभाका सबैको साझा भन्दैमा पुराना चर्चित लोकगीतकै भाकामा अर्को गीत रेकर्ड गर्न नपाइने बताउँछन् । अर्का संगीतकार शम्भुजित बाँस्कोटा भने यसलाई त्यति ठूलो मुद्दा बनाइरहनुपर्ने नदेखेको टिप्पणी गर्दै थप्छन्, ‘फेरि नबनाई नहुने अवस्था पनि आएको छ । सबै स्रष्टाको आफ्नो सृजना जोगाउने अधिकार पनि हुन्छ ।’ गायक राईले भने अरूको सृजनाको टिपनटापन गर्दा पुराना स्रष्टा मेटिँदै जाने र उनीहरूको सृजना पनि खाल्डोमा मिल्ने भन्दै चिन्ता व्यक्त गरे ।

‘लोकगीत कसैको पेवा हैन तर कम्पोज गरेर लय हालेर बनाइएको सृजनामा लोकगीत भनेर साझा सम्पत्ति मान्न सकिन्नँ,’ राईले ‘आऊ नाचौं...’ आफ्नो प्याटेन्ट भएको जिकिर गर्दै कसैको निजी कम्पोजलाई अरूले आफ्नो भन्न नपाउने बताए । भने, ‘पुराना सृजना, स्रष्टालाई जुन ठाउँमा छन्, त्यहीं रहन दिनुपर्छ । कसैको सृजनालाई हत्या गरेर स्थापित हुने काम नगरौं ।’

गायक सपूतले भने, यो मुद्दालाई संगीतको फोरममा बसेर छलफलमार्फत टुंग्याउनुपर्नेमा पहिल्यै मिडियाबाजी गरिएकोमा चित्त बुझाइ रहेको बताए । उनले आफू अग्रजको विरुद्धमा जान नचाहेको खुलाउँदै भने, ‘म ‘गलबन्दी’ बाट संगीतकारको नाम हटाउन पनि तयार छु ।

यसलाई लोकभाका मानेर लयको जस दिनै परे केवल शम्भुदाइलाई हैन, समग्र लोकभाकाका सर्जकहरूलाई दिन तयार छु ।’ संगीतकार पोखरेलले पनि सपूत लय संकलकको हिसाबले बसिदिएको भए यति काण्ड नमच्चिने ठान्छन् ।

प्रकाशित : असार ४, २०७६ १०:१८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

शुभबहादुरको स्याक्सोफोनले मन्त्रमुग्ध

कान्तिपुर संवाददाता

काठमाडौँ — स्याक्सोफोन वादनमा संगीतकार शुभबहादुर सुनामको आफ्नै नाम छ । यही स्याक्सोफोनमार्फत सोमबार उनले राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा संगीत पारखीलाई डेढ घण्टा मन्त्रमुग्ध तुल्याए ।

प्रस्तुतिको नाम दिइएको थियो– स्याक्समान्डौं । प्रस्तुतिको पहिलो चरणमा संगीतकार सुनामले नेपाली र अंग्रेजी गरेर आठ गीतको धुन स्याक्सोफोनमार्फत प्रस्तुत गरे ।

उनले ‘मलाई नसोध कहाँ दुख्छ घाउ...’, ‘राजमति कुमति...’, ‘आँखा छोपी नरोऊँ भनी...’, ‘हुँ यात्री एउटा...’, ‘उकाली ओरालीहरूमा...’ लगायतका गीतलाई स्याक्सोफोनको धुनमा उर्तादा दर्शकदीर्घाबाट अग्रज गायक प्रेमध्वज प्रधान, गीतकार यादव खरेलदेखि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसम्मले ताली बजाए । नाचघरकै कलाकारले उनलाई वाद्यवादनमा साथ दिएका थिए ।

सुनामले ‘टाइटानिक’ फिल्मको ‘माई हार्ट विल गो अन...’, ‘गोइ्ङ होम...’ जस्ता गीतलाई पनि स्याक्सोफोनमार्फत प्रस्तुत गरे । यसपछि उनले ‘पिङ प्यान्थर...’, ‘समर टाइम...’ जस्ता धुन पस्के । नेपाली धुन ‘गोरेटो यो गाउँको...’ ‘रेलिमाई रेलिमाई...’ प्रस्तुत गर्दा पनि सुनामले ताली पाए ।

स्याक्सोफोनमा पाँच दशकको अनभुव बटुलेका सुनामले सात सयभन्दा बढी गीतमा संगीत गरिसकेका छन् । अधिकांश नेपाली गीतमा स्याक्सोफोन वादन उनैले गर्दै आएका छन् ।

कार्यक्रममा शुभबहादुरकै संगीतमा नाति रोमिल सुनामले ‘लभ विल...’ र ‘स्ट्यान्ड बाई मी...’ गाए भने गायिका सृष्टि केसीले पनि स्याक्सोफोनकै धुनमा अंग्रेजी गीत ‘बोनिता...’ गाइन् । त्यस्तै अमुल कार्की ढलीको समूहले ‘सङबर्ड...’, ‘स्टिल अन माई माइन्ड...’ र ‘डिस प्यासिटियो ...’ जस्ता गीतका धुन स्याक्सोफोनमार्फत प्रस्तुत गर्‍यो । सांस्कृतिक संस्थान (नाचघर) का महाप्रबन्धक राजेश थापाले वाद्यवादन कलाको प्रवर्द्धन गर्न कार्यक्रम गरिएको बताए ।

प्रकाशित : असार ४, २०७६ १०:१५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×