हार्नेको कथामा “कीर्तिपुर”

कान्तिपुर संवाददाता

काठमाडौँ — इतिहास जित्नेको लेखिन्छ । त्यसैले पनि प्रायः इतिहास शासकको आँखाबाट व्यक्त हुन्छ भनिन्छ । के इतिहासमा हार्नेको आजाव सुनिएला ? इतिहासमा के होला, तर फिल्म ‘कीर्तिपुर : द लिजेन्ड अफ कीर्तिलक्ष्मी’ ले भने यति बेला हार्नेहरूको कथा पस्कन खोजेको छ । 

नेपाल एकीकरणका क्रममा गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाहले तीन पटकको हमलापछि मात्र कीर्तिपुरमाथि विजय हासिल गरेका थिए । तर ‘कीर्तिपुर’ ले विजयी गोरखा राज्यको नभई हारेको कीर्तिपुरको आवाज उठाउन खोजेको बताइएको छ । निर्माण क्रमको पाँच वर्षपछि असार १३ देखि उक्त फिल्म प्रदर्शनमा आउँदै छ ।

निर्देशक प्रदीप खड्गीले ९० प्रतिशतभन्दा बढी भीएफएक्सको काम गर्नुपरेकाले पनि निर्माणमा लामो समय लागेको उल्लेख गर्दै चलचित्र जाँचपास (सेन्सर बोर्ड) बाट पनि समयमै प्रदर्शन अनुमति नपाएका कारण प्रदर्शन मिति थप लम्बिएको खुलाए ।
‘इतिहासमा पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माताका रूपमा चिनाइएको छ ।

उनको गोरखा फौजले गरेको कीर्तिपुर आक्रमणलाई वीरता र चतुरताका रूपमा प्रशंसा गरिन्छ । तर कीर्तिपुरवासीको आवाज कतै सुनिएको छैन । बरु विजयपछि पृथ्वीनारायण शाहले कीर्तिपुरेको नाक काटेको अफवाह फैलाइएको छ,’ निर्देशक खड्गीले सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा फिल्मबारे प्रस्ट्याउँदै भने, ‘यो फिल्मले कीर्तिपुरे फौज र कीर्तिलक्ष्मीको वीरताको कथा बोकेको छ भने धेरै नयाँ तथ्यको उजागर पनि गर्नेछ ।’ उक्त फिल्म साहित्यकार वासु पासाद्वारा लिखित उपन्यास ‘भैरवसिंह’ मा आधारित भनिएको छ ।

फिल्ममा अभिनेता यशराज गराचले पृथ्वीनारायण शाहको भूमिका निर्वाह गरेका छन् भने हिसिला महर्जनले कीर्तिलक्ष्मीको मुख्य भूमिकामा अभिनय गरेकी छन् । त्यसैगरी फिल्ममा मदनदास श्रेष्ठ, सुशील राजोपाध्याय, लक्ष्मी गिरी, सुरवीर पण्डित, विनेश श्रेष्ठलगायत कलाकारहरू पनि रहेका छन् ।

अभिनेता गराचले ऐतिहासिक विषयमा आधारित फिल्मको एउटा महत्त्वपूर्ण अंग हुन पाउँदा गौरवान्वित महसुस गरेको बताउँदै भने, ‘एउटा वीर योद्धाको भूमिका निर्वाह गर्नु मेरा लागि कम चुनौतीपूर्ण थिएन । यद्यपि, मैले आफ्नो तर्फबाट सक्दो प्रयास गरेको छु ।’
उनले ‘कीर्तिपुर’ लाई लिएर निकै उत्साहित रहेको बताए ।

कीर्तिलक्ष्मीको भूमिकामा रहेकी अभिनेत्री महर्जनले भने उक्त चरित्रका बारेमा आफूले बाल्यकालदेखि नै सुन्दै आएको बताइन् । भनिन्, ‘एक दिन उक्त भूमिका निर्वाह गर्ने सपना देखेको थिएँ ।

यस फिल्मले पूरा गरिदियो ।’ पृथ्वीनारायणले कीर्तिपुरमा तीन पटक आक्रमण गर्दा त्यसको प्रतिकार गर्ने कीर्तिपुरवासीको नेतृत्व कीर्तिलक्ष्मीले नै गरेकी हुन् । फोकस पिक्चर्सको व्यानरमा अनन्तकुमार श्रेष्ठले निर्माण गरेको ‘कीर्तिपुर’ को छायांकन काठमाडौं, भक्तपुर, नुवाकोट तथा गोरखामा गरिएको हो । शंकर महर्जन र नविन जोशीले फिल्मको छायांकन गरेका हुन् ।

प्रकाशित : असार ३, २०७६ ०८:५९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

नाटकमा बालमनोविज्ञान

पर्वत पोर्तेल

इलाम — इलामको चुलाचुली दुई दिनसम्म नाटकमय बन्यो । चुलाचुली रंगमञ्चले गरेको थियो, ‘चलाचुली पाठशाला नाट्य उत्सव’ । यो उत्सवमा रमाए झापा र इलामका बाल रंगकर्मीहरू । दुई दिनमा ६ वटा बाल नाटक मञ्चन भयो । सबै नाटक बाल मनोविज्ञानमा केन्द्रित थियो । 

चमेली नाटकमार्फत बालविवाहको विरोध गरिएको थियो । चमेली टेलिशृंखलाद्वारा प्रेरित यो नाटक सन्तोष गिरीले परिकल्पना र निर्देशन गरेका थिए । उनी भन्छन्, ‘नेपाली समाजमा छोरी भएर जन्मिनुको अभिशाप नाटकमा देखाइएको छ ।’ दुई केटी शीर्षकको नाटकमा वैदेशिक रोजगारीका कारण हुने पारिवारिक विचलन र यसले बालवालिकामा पारेको मानसिकअसरको चित्रण थियो । यो नाटक विशाल लिम्बूको लेन र जेम्स लिम्बूले निर्देशन गरेका थिए ।

अर्को रोचक नाटक थियो छुई । यो नाटक परिवर्तन थिएटर झापाले तयार पारेको थियो । खासगरी युवतीमा हुने शारीरिक परिवर्तनसँगै हुने महिनावारी । महिनावारी भएकी छोरीलाई घरपरिवार र समाजले गर्ने दुर्व्यवहारमा नाटक केन्द्रित थियो । सुदूरपश्चिमतिर अझै पनि महिनावारी भएका युवतीलाई छाउघरमा राख्ने कुरीति छ । यस्तै कुरीतिमाथि नाटकले भण्डाफोर गर्छ । ‘महिनावारीका समयमा महिलाहरूमाथि गरिने विभेद र यसले बालमानसिकतामा पर्ने असर नै नाटकको मूल सन्देश हो,’ निर्देशक कविता नेपालले भनिन्, ‘यो महिनावारी बार्ने हाम्रो सामाजिक प्रथाविरुद्धको आवाज हो ।’

प्रवीन मगरको लेखन र विवेक खतिवडाको निर्देशनमा तयार पारिएको नाटक लौरीमार्फत लौरो देखाएर डराउन बाध्य पारिने अभिभावक, शिक्षक र समाजका अगुवाहरूविरुद्ध धावा बोलिएको छ । ‘लौरो देखाएर बालबालिकलाई सधैं डर र त्रासमा राख्दा यसले नकारात्मक रूप पनि लिन सक्छ भन्ने सन्देश यो नाटकको हो,’ निर्देशक खतिवडाले भने ।

कक्षा १० को पाठ्यपुस्तकमा आधारित कथा पुनर्मिलनलाई शिखर लाम्गादेले निर्देशन गरेका थिए । नाट्य रूपान्तरण भगीरथ पौडेलले गरेका थिए । सासुबुहारीबिचको द्वन्द्वको कथाबाट तयार पारिएको नाटकलाई जनता मावि चुलाचुलीका विद्यार्थीहरूले रोचक ढंगले प्रस्तुत गरेका थिए । सञ्जय विश्वकर्माले मंगली शीर्षकको नाटक लेखन र निर्देशन गरेका थिए । मंगलीमा पनि बालबालिकाका तमाम समस्याबारे चित्रण गरिएको थियो ।

भौगोलिक रूपले हेपिएका यो क्षेत्र रंगकर्ममा भने अग्रणी छ । विगतमा खेम नेपालीदेखि अहिलेका सशक्त रंकर्मीहरू अनिल सुब्बा, मानाङ लावती, चेतन आङथुपो, केशव भुजेल आदि चुलाचुलीकै उपज हुन् । यो क्षेत्रमा नयाँ कलाकारको खोजीसँगै रंगमञ्चमा बालबालिकाको आकर्षण बढाउन उत्सव आयोजना गरेको चुलाचुली थिएटरका अध्यक्ष आङथुपोले बताए । विकासका हिसाबले पनि चुलाचुली पछोटे छ । सदरमुकाम पुग्न झापाको सडक प्रयोग गर्नुपर्ने बाध्यता छ चुलाचुलीवासीलाई ।

प्रकाशित : असार ३, २०७६ ०८:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT