२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नाटकमा बालमनोविज्ञान

पर्वत पोर्तेल

इलाम — इलामको चुलाचुली दुई दिनसम्म नाटकमय बन्यो । चुलाचुली रंगमञ्चले गरेको थियो, ‘चलाचुली पाठशाला नाट्य उत्सव’ । यो उत्सवमा रमाए झापा र इलामका बाल रंगकर्मीहरू । दुई दिनमा ६ वटा बाल नाटक मञ्चन भयो । सबै नाटक बाल मनोविज्ञानमा केन्द्रित थियो । 

चमेली नाटकमार्फत बालविवाहको विरोध गरिएको थियो । चमेली टेलिशृंखलाद्वारा प्रेरित यो नाटक सन्तोष गिरीले परिकल्पना र निर्देशन गरेका थिए । उनी भन्छन्, ‘नेपाली समाजमा छोरी भएर जन्मिनुको अभिशाप नाटकमा देखाइएको छ ।’ दुई केटी शीर्षकको नाटकमा वैदेशिक रोजगारीका कारण हुने पारिवारिक विचलन र यसले बालवालिकामा पारेको मानसिक असरको चित्रण थियो । यो नाटक विशाल लिम्बूको लेन र जेम्स लिम्बूले निर्देशन गरेका थिए ।


अर्को रोचक नाटक थियो छुई । यो नाटक परिवर्तन थिएटर झापाले तयार पारेको थियो । खासगरी युवतीमा हुने शारीरिक परिवर्तनसँगै हुने महिनावारी । महिनावारी भएकी छोरीलाई घरपरिवार र समाजले गर्ने दुर्व्यवहारमा नाटक केन्द्रित थियो । सुदूरपश्चिमतिर अझै पनि महिनावारी भएका युवतीलाई छाउघरमा राख्ने कुरीति छ । यस्तै कुरीतिमाथि नाटकले भण्डाफोर गर्छ । ‘महिनावारीका समयमा महिलाहरूमाथि गरिने विभेद र यसले बालमानसिकतामा पर्ने असर नै नाटकको मूल सन्देश हो,’ निर्देशक कविता नेपालले भनिन्, ‘यो महिनावारी बार्ने हाम्रो सामाजिक प्रथाविरुद्धको आवाज हो ।’


प्रवीन मगरको लेखन र विवेक खतिवडाको निर्देशनमा तयार पारिएको नाटक लौरीमार्फत लौरो देखाएर डराउन बाध्य पारिने अभिभावक, शिक्षक र समाजका अगुवाहरूविरुद्ध धावा बोलिएको छ । ‘लौरो देखाएर बालबालिकलाई सधैं डर र त्रासमा राख्दा यसले नकारात्मक रूप पनि लिन सक्छ भन्ने सन्देश यो नाटकको हो,’ निर्देशक खतिवडाले भने ।


कक्षा १० को पाठ्यपुस्तकमा आधारित कथा पुनर्मिलनलाई शिखर लाम्गादेले निर्देशन गरेका थिए । नाट्य रूपान्तरण भगीरथ पौडेलले गरेका थिए । सासुबुहारीबिचको द्वन्द्वको कथाबाट तयार पारिएको नाटकलाई जनता मावि चुलाचुलीका विद्यार्थीहरूले रोचक ढंगले प्रस्तुत गरेका थिए । सञ्जय विश्वकर्माले मंगली शीर्षकको नाटक लेखन र निर्देशन गरेका थिए । मंगलीमा पनि बालबालिकाका तमाम समस्याबारे चित्रण गरिएको थियो ।


भौगोलिक रूपले हेपिएका यो क्षेत्र रंगकर्ममा भने अग्रणी छ । विगतमा खेम नेपालीदेखि अहिलेका सशक्त रंकर्मीहरू अनिल सुब्बा, मानाङ लावती, चेतन आङथुपो, केशव भुजेल आदि चुलाचुलीकै उपज हुन् । यो क्षेत्रमा नयाँ कलाकारको खोजीसँगै रंगमञ्चमा बालबालिकाको आकर्षण बढाउन उत्सव आयोजना गरेको चुलाचुली थिएटरका अध्यक्ष आङथुपोले बताए । विकासका हिसाबले पनि चुलाचुली पछोटे छ । सदरमुकाम पुग्न झापाको सडक प्रयोग गर्नुपर्ने बाध्यता छ चुलाचुलीवासीलाई ।

प्रकाशित : असार ३, २०७६ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?