कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

‘स्यु रु’ मा मामाचेला र फुपूचेली

आश गुरुङ

लमजुङ — फिल्म ‘स्यु रु’ मा मामाचेला र फुपूचेलीको प्रेमकथालाई उतारिएको छ । गुरुङ भाषा, कला, संस्कार र संस्कृतिका आधारमा यो फिल्म निर्माण गरिएको हो । 

‘स्यु रु’ मा मामाचेला र फुपूचेली

काँचो धागो नेपालीको एउटा संस्कृति र परम्पराका रूपमा रहेको छ । ‘काँचो धागो’ को गुरुङ भाषामा ‘स्यु रु’ हुन्छ । काँचो धागोको प्रतिबिम्बलाई दर्साएर गुरुङ फिल्म ‘स्यु रु’ निर्माण भएको हो । यसमा सदियौंदेखि गुरुङ समुदायमा चलिआएको परम्परालाई फिल्ममा उतार्न खोजिएको निर्देशक सोम गुरुङले बताए । गुरुङ समुदायमा काँचो धागोको छुट्टै महत्त्व छ । फिल्ममा रोधीमा गाइने र नाचिने गीतसमेत रहेको फिल्मका लेखकसमेत रहेका उनले सुनाए ।


कास्कीको मादी गाउँपालिका–८ नागीधारमा छायांकन गरिएको फिल्म हङकङ र पोखरामा प्रदर्शन भइसकेको छ । फिल्म हेर्न आएका दर्शकलाई रेड कार्पेट बिछ्याएर स्वागत गरिएको थियो । फिल्म काठमाडौंमा असार ७ मा गोधूली फुडल्यान्ड एन्ड एभेन्टस् बसुन्धरा चौकीमा प्रदर्शन तयारी गरिएको कार्यकारी निर्माता विकास क्रोम्छें गुरुङले बताए । ‘फिल्म प्रदर्शनसहित सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत हुनेछ,’ उनले भने ।


स्वस्ति फिल्मको ब्यानरमा निर्मित फिल्मलाई खिमबहादुर गुरुङले छायांकन र सम्पादन गरेका छन् । गीतसंगीत सरुन गुरुङको छ । विवेक गुरुङ, जुना गुरुङ, नवीन गुरुङलगयतको अभिनय रहेको छ । लब्सन गुरुङ र गणेश गुरुङको कोरियोग्राफी छ । फिल्मलाई जितबहादुर गुरुङ, युवराज गुरुङ, नौजङ गुरुङ र सूर्यबहादुर गुरुङले निर्माण गरेका हुन् । फिल्म २५ लाख रुपैयाँमा निर्माण भएको कार्यकारी निर्माता विकास क्रोम्छेंले बताए ।


२०५२ मा पातें (माइली) र न्हाम्स्यो न्होंरी (कुहिरोभित्र) निर्माणसँगै गुरुङ फिल्म बन्न थालेका हुन् । मौलिक संस्कृति र संस्कारका साथै भाषालाई जोगाउने भन्दै सुरुवात गरिएका गुरुङ फिल्म पछिल्लो समय व्यावसायिक बन्दै गएको छ । गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान) का अनुसार हाल वर्षमा एक दर्जन गुरुङ फिल्म बन्छन् । जिफानका संस्थापक अध्यक्ष माओत्से गुरुङका अनुसार पछिल्लो समय गुरुङ फिल्मको भीआईपी शोमा रेड कार्पेट ओछ्याउन थालिएको छ ।

प्रकाशित : असार २, २०७६ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?