उभौली साकेला सिली मैझारो

डम्बरसिं राई

खोटाङ — ‘रुमालै चिनो साटौला, दुःख र सुख बाँडौला, बाँडौला लै लै बाँडौला ।
अर्को साल फेरि भेटौला, साकेला सिली नाँचौला, नाँचौला लै लै नाँचौला ।।’

उभौली साकेला सिली मैझारो

ढोल, झ्याम्टाको तालमा दिक्तेलको माटिकोरेमा शनिबार नाँचिएको उभौली साकेला सिलीमा गाइएको गीत हो यो । यो सँगै माझकिरात खोटाङमा यो वर्षको उभौली साकेला सिली मैझारो भएको छ ।


किरात राई यायोक्खा, किरात सेवा समाज खोटाङले आयोजना गरेको उभौली साकेला सिली मैझारोमा बालबालिकादेखि पाकासम्मले साकेला सिली नाँचेका हुन् । किरातीहरुले वैशाखे पूर्णिमामा उभौली र मङ्सिरे पूर्णिमा उधौली गरी वर्षमा दुई पटक साकेला सिली नाच्ने गर्दछन् । यो बेला जलचर तथा थलचर जीवजन्तु उभौली लाग्ने भएकाले उभौली भनिएको किरात राई यायोक्खाका सचिव युगसन किरातले बताए । किरातका अनुसार उभौलीमा खेतीपाती राम्रो होस्, प्रकृति प्रकोप आइनपरोस लगायत कामना गर्दै प्रकृति पूजा आराधना गर्ने संस्कृति छ ।


त्यस्तै उधौलीमा अन्नको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ । यो बेला जलचर तथा थलचर जीवजन्तु उधौली लाग्ने भएकाले मङ्सिरे पूर्णिमाको दिनदेखि उधौली पर्व मनाउने गरिएको किरातले सुनाए । यो वर्षको उभौली साकेलाको अवसरमा विभिन्न ठाउँमा ऐतिहासिक रुपमा साकेला आयोजना गरिएको छ । दोर्पामा राष्ट्रियस्तरीय साकेला सिलीसमेत प्रदर्शन गरिएको छ । सोल्माको सतरीयाक्सुम साकेलाथानमा शतवार्षिक साकेला आयोजना गरिएको छ । त्यस्तै किरात ऐतिहासिक तुवाचुङ जायजुम, मझुवागढी लगायतका विभिन्न ठाउँमा साकेला सिली नाँचिएको हो ।


साकेला सिली किरातीहरुले मात्र नभइ सबै जातजाति तथा धर्मका समुदायले समेत नाँच्ने भएकाले जातीय सहिष्णुता, एकता र भाइचाराको विकास गर्ने एउटा समृद्ध संस्कृतिको रुपमा विकास भएको जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङले बताए ।

प्रकाशित : जेष्ठ ३२, २०७६ १७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?