उभौली साकेला सिली मैझारो

डम्बरसिं राई

खोटाङ — ‘रुमालै चिनो साटौला, दुःख र सुख बाँडौला, बाँडौला लै लै बाँडौला ।अर्को साल फेरि भेटौला, साकेला सिली नाँचौला, नाँचौला लै लै नाँचौला ।।’

ढोल, झ्याम्टाको तालमा दिक्तेलको माटिकोरेमा शनिबार नाँचिएको उभौली साकेला सिलीमा गाइएको गीत हो यो । यो सँगै माझकिरात खोटाङमा यो वर्षको उभौली साकेला सिली मैझारो भएको छ ।


किरात राई यायोक्खा, किरात सेवा समाज खोटाङले आयोजना गरेको उभौली साकेला सिली मैझारोमा बालबालिकादेखि पाकासम्मले साकेला सिली नाँचेका हुन् । किरातीहरुले वैशाखे पूर्णिमामा उभौली र मङ्सिरे पूर्णिमा उधौली गरी वर्षमा दुई पटक साकेला सिली नाच्ने गर्दछन् । यो बेला जलचर तथा थलचर जीवजन्तु उभौली लाग्ने भएकाले उभौली भनिएको किरात राई यायोक्खाका सचिव युगसन किरातले बताए । किरातका अनुसार उभौलीमा खेतीपाती राम्रो होस्, प्रकृति प्रकोप आइनपरोस लगायत कामना गर्दै प्रकृति पूजा आराधना गर्ने संस्कृति छ ।


त्यस्तै उधौलीमा अन्नको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ । यो बेला जलचर तथा थलचर जीवजन्तु उधौली लाग्ने भएकाले मङ्सिरे पूर्णिमाको दिनदेखि उधौली पर्व मनाउने गरिएको किरातले सुनाए । यो वर्षको उभौली साकेलाको अवसरमा विभिन्न ठाउँमा ऐतिहासिक रुपमा साकेला आयोजना गरिएको छ । दोर्पामा राष्ट्रियस्तरीय साकेला सिलीसमेत प्रदर्शन गरिएको छ । सोल्माको सतरीयाक्सुम साकेलाथानमा शतवार्षिक साकेला आयोजना गरिएको छ । त्यस्तै किरात ऐतिहासिक तुवाचुङ जायजुम, मझुवागढी लगायतका विभिन्न ठाउँमा साकेला सिली नाँचिएको हो ।


साकेला सिली किरातीहरुले मात्र नभइ सबै जातजाति तथा धर्मका समुदायले समेत नाँच्ने भएकाले जातीय सहिष्णुता, एकता र भाइचाराको विकास गर्ने एउटा समृद्ध संस्कृतिको रुपमा विकास भएको जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङले बताए ।

प्रकाशित : जेष्ठ ३२, २०७६ १७:२४
प्रतिक्रिया
पठाउनुहोस्

‘सेफ्टीक ट्याङ्की’ सफा गर्दा भारतमा ७ को मृत्यु

रासस/एएफपी

भारत — भारतको पश्चिमी क्षेत्रमा रहेको एउटा होटलको सेफ्टीक ट्याङ्की सफा गर्ने क्रममा सात जनाको मृत्यु भएको छ । स्थानीय प्रहरीले शनिबार दिएको जानकारी अनुसार घटनामा होटलका मालिक पनि दोषी देखिएका छन् । 

गुजरात राज्यको भाडोडारा जिल्लामा शुक्रबार राती घटना भएको अधिकारीहरुले जनाएका छन् । उनीहरुले होटल मालिकले लापरवाही गरेको पनि बताएका छन् ।

मृत्यु हुनेमा ट्याङ्की सफा गर्न बोलाइएका चार जना मजदुर र उनीहरुलाई सघाएका होटलमै काम गर्दै आएका अरु तीन जना रहेको प्रहरीले जनाएको छ । भारतमा हरेक बर्ष यस्तै घटनामा परी सयौँ मजदुरको मृत्यु हुनेगरेको छ । सफाईका लागि पर्याप्त श्रोत साधनको प्रयोग नगर्ने र लापर्वाही गरेकाले उनीहरुको मृत्यु हुने गरेको अधिकारीहरुले जनाएका छन् ।

“सुरुमा ट्याङ्कीमा एक जना पसेका थिए, उनी बाहिर निस्कन नसकेपछि अरु उनलाई निकाल्न भित्र गएका थिए, तर उनीहरु पनि निस्कन सकेनन्,” उद्धार कार्यको नेतृत्व गरेका भाडोडाराका अग्नी नियन्त्रण अधिकृत निकुन्ज आजादले भने ।

सफाईकै लागि आएका चारै जना बाहिर आउन नसकेपछि होटलमा काम गर्ने अरु तीन जना गएका थिए । उनीहरु पनि बाहिर आउन नसकेको उनले बताए । अहिले उनीहरु सवैको शव बाहिर निकालेर पोस्टमार्टम गर्न पठाइएको आजादले जानकारी दिएका छन् ।

प्रकाशित : जेष्ठ ३२, २०७६ १७:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×