कलामा पोखिएको युवा मन

काठमाडौँ — घडीको सिधा अर्थ हुन्छ, समयमापक । भिन्न र सिर्जनात्मक दृष्टिबाट हेर्ने हो भने घडीमा धेरै अर्थहरू भेटिन सक्छन् । जस्तो कि, सिर्जना कलेजमा अध्ययनरत निखिल शाक्य । उनले घडीलाई मानव जीवनको गतिसँग तुलना गर्दै सिर्जना कोरेका छन् ।

कलामा पोखिएको युवा मन

समयको गतिसँग मानव जीवनको चक्रलाई जोडेर उनले कलात्मक अभिव्यक्ति दिएका हुन् । विभिन्न पाँच चित्रको सिरिजमा प्रस्तुत गरिएको उनको कला बबरमहलस्थित आर्ट काउन्सिलमा हेर्न सकिन्छ । उनीलगायत थुप्रै तन्नेरीको कोरेको कला ग्यालरीमा प्रदर्शनीरत छन् ।


सिरिजमध्ये निखिलले सुरुको घडीको गति धेरै देखाएका छन् भने क्रमशः त्यसलाई घटाउँदै लगेर अन्तिम सिरिजको चित्रमा घडी रोकिएको छ । त्यसैगरी घडीभित्रको मानव आकृतिमा पोतिएको रंग क्रमशः फिक्का हुँदै गएर अन्तिममा खाली देखिन्छ । ‘मानिस विभिन्न समयमा बाँचिरहेका हुन्छन् । असल, खराब दुवै समयमा मानिसको संघर्ष जारी हुन्छ । बालकदेखि बुढ्यौलीसम्मको मानिसको समय एउटै हुन्न,’ उनी आफ्नो चित्रको अर्थ लाउँछन्, ‘मानिसले आफू कुन समयमा कसरी बाँचेको छ भनी आफ्नो समयलाई आफैँले चिन्नुपर्छ । जब आफ्नो समय सकिन्छ, जीवन पनि सकिन्छ ।’


नयाँ पिँढीका युवापुस्तामा एउटै वस्तुप्रति पनि अनेकौँ भाव र विचारहरू यसरी नै कलामा प्रस्तुत भइरहेका छन् । सिर्जना कलेज अफ फाइन आर्टस कक्षा १२ का ३० विद्यार्थी चित्रकारका सिर्जनामा यस्तै नयाँ पिँढीको मनोविज्ञान झल्किन्छ । सोमबारदेखि ‘द बर्डस्’ शीर्षकमा जारी प्रदर्शनीका कलाकृतिहरूमा मनोविश्लेषणसहितका भाव पनि पोखिएका छन् । अध्ययनकै सिलसिलामा तयार भएका कलाहरू भए पनि निकै परिपक्वता भेटिने कला प्राध्यापक देवेन पाण्डेले बताए । ‘चित्रहरूमा मिहिनेत, लगाव र कलाप्रतिको प्यासन झल्किन्छ,’ उनले भने, ‘विषयवस्तुका हिसाबले पनि चित्रहरू गहकिला र अर्थपूर्ण छन् ।


कलामा विषयवस्तु तथा त्यसको भाव उतार्न जटिल कार्य भए पनि प्रदर्शनीले नयाँ उत्साह थपिएको युवा चित्रकार शक्तिराज राई बताउँछन् । अग्रिम राईले अहिलेको बजारिया प्रभाव र आर्थिक भूमण्डलीकरणको सन्दर्भलाई सुन्दर ढंगले कैद गरका छन् । उनको चित्रमा कोकाकोलाका क्यान देखिन्छन् भने केही चित्रमा सांस्कृतिक प्रभाव भेटिन्छन् ।


आफूलाई अभिव्यक्त गर्न उनले पेपरमा मिक्स मिडिया र पोस्टर कलर प्रभोग गरेका छन् । अंकित लिम्बूले पुरानो समयको युरोपेली कफिसपजस्ता दृश्यमार्फत नोस्टाल्जिया पस्केका छन् भने अश्रृणा तुलाधारले मिथिला र पौभाबाट रेखाहरू सापटी लिएझैं देखिन्छ । अग्रजहरूबाट प्रभाव ग्रहण गरेर सिर्जनशीलता प्रकट गर्न खोजेको बताइन् रश्मि श्रेष्ठले । पेन्टिङ, ड्रइङ र एप्लाइड आर्टहरूमा वाटर, पोस्टर, इन्क कलरहरू प्रयोग भएका छन् । चारकोल माध्यममा पनि कलाहरू तयार गरिएका छन् । प्रदर्शनीमा मूर्तिहरू पनि राखिएका छन् ।


सुबोध लिम्बूले चारकोल माध्यममा आफ्नै पोट्रेटमा जीवनका नकारात्मक पक्षको प्रभाव फुटेको ऐनाका रूपमा प्रस्तुत गरेका छन् । उनका अनुसार नकारात्मक पक्षहरूले पनि अनुवभसँगै मानिसलाई केही राम्रो गर्ने सोच सिकाउँछ । कुसुम राई, खुश्बु नेन्हाफुकी, नोर्बु लामा, रोशन बाडे, योगदास मानन्धरले नेपालको पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन लक्षित गरेर चित्र बनाएका छन् ।


प्रदर्शनीमा अहिले निकै बढिरहेको गर्भपतन समस्यालाई दीपिका शाक्यले सुन्दर बनाई प्रस्तुत गरेकी छन् । युवापुस्ताको प्रेम, वियोग र विगतको प्रेमले वर्तमानमा पारेको प्रभावलाई ‘एज लभर’ शीर्षकमा निखिलले तयार पारेको कला उत्कृष्ट देखिन्छ । उनी भन्छन् ‘यो लभको पास्ट मेमोरी हो । ट्र्याजिडी भएपछि त्यही मेमोरीहरू नै मानिसलाई पीडा दिन्छ ।’


प्रदर्शनीमा रहेका १७३ वटा पेन्टिङहरू र १६७ वटा ग्राफिक आर्टहरूमा सामाजिक, राजनीतिक, पर्यटन, धार्मिक, प्राकृतिक विषय समेटिएका छन् भने महिला हिंसा, बालश्रमशोषणजस्ता जल्दाबल्दा मुद्दा पनि कलामा आएका छन् । प्रदर्शनी बिहीबारसम्म रहने छ ।

प्रकाशित : जेष्ठ ३०, २०७६ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?