कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

“हरेक संस्कृति विश्वको”

काठमाडौँ — बौद्धनाथ महाचैत्य राजधानीमै छ । महायानी बौद्धमार्गी यसलाई आस्थाको ठूलो केन्द्र मान्छन् । अलिक यता छ, पशुपतिनाथ । हिन्दुहरू यसलाई पवित्र धाम मान्छन् । संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले भने मूर्त/अमूर्त जुनसुकै संस्कृति भए पनि अबको समय त्यो विश्वकै हुने बताए ।

“हरेक संस्कृति विश्वको”

‘अब संस्कृतिलाई भूगोलले छेक्दैन,’ तामाङ इन्टरनेसनल इन्डिपेन्डेन्ट फिल्म फेस्टिभलको उद्घाटन गर्दै बुधबार राजधानीमा जोशीले भने, ‘सुन्दा र हेर्दा सानो समुदायको जस्तो लागि पनि विश्वकै सम्पत्ति हुन् यी ।’


विश्वव्यापी रूपमै युनेस्कोले पुराना कला, संस्कृति र सम्पदालाई ‘वर्ल्ड हेरिटेज’ को रूपमा संरक्षण गर्ने नीति लिइरहेको बेला नेपालका लागि यो निकै ठूलो अवसर रहेको उनले बताए । ‘तामाङले गाउने भए पनि सेलो नेपालकै गीत हो,’ उनले भने, ‘नेपाल विश्वको अंग भएको नाताले सेलो पनि विश्वकै संस्कृति हो ।’


यस्ता सांस्कृतिक सघनतालाई केन्द्रदेखि प्रदेश सरकारसम्मले संरक्षण र प्रवर्द्धनको नीति लिनुपर्ने पनि उनले औंल्याए । करिब ४५ मिनेट लामो विद्वत् प्रवचनमा जोशीले परम्परागत रूपमा मात्र नभई मिडियाका अनेक फर्मबाट पनि संस्कृति र मौलिकतालाई नयाँ ढंगले विश्वव्यापी बनाउने सकिने’ तर्क गर्दै फिल्म एउटा माध्यम हुन सक्ने बताए ।


यस्तै ध्येय बोकेर तामाङ भ्वाइस, सेलो फाउन्डेसन र एससीआरसीले गरेको फिल्म फेस्टिभलको उद्घाटन भने काभ्रेको तेमाल क्षेत्रमा मात्रै हुने भनिएको बुद्धचित्तमाथि निर्मित डकुमेन्ट्री फिल्म ‘द सेक्रेड ट्री’ प्रिमियरबाट गरिएको थियो । काभ्रेकै तेमालबाट फैलिएको नेपाली रैथाने वनस्पतिका रूपमा अनुसन्धानबाट पुष्टिसमेत भइसकेको बुद्धचित्तबारे डकुमेन्ट्रीमा यसको उत्पत्ति कथामाथिको बौद्ध मिथ, स्थानीय विश्वास, खेती प्रक्रिया, बजार मूल्यदेखि धार्मिक–सांस्कृतिक अभ्याससम्म समेटिएको छ । डकुमेन्ट्रीको निर्देशक जगत तामाङले गरेका हुन् ।


तामाङ समुदाय सम्बद्ध परम्परागत थाङका चित्रकला, मूर्तिकला, मौलिक भेषभूषासमेतको प्रदर्शनी रहेको महोत्सवको पहिलो दिन क्यानडाका फिल्मकर्मी ग्य्राब्रिइला ग्रानोटको ‘पिलग्रिम टु पाँचपोखरी’, सञ्चु थोकरको निर्देशन रहेको ‘स्यामा पिन्बा’, कमल योञ्जनको निर्देशन रहेको ‘मधु राजा’, ‘छ्यो पोङ’, राजकिङ वाइबाको ‘जर्नी टु सिङला’ र हेम बमजनको ‘ह्याङला बोन’ देखाइए ।


‘पिलग्रिम टु पाँचपोखरी’ मा सिन्धुपाल्चोकको पाँचपोखरीमा तामाङ झाँक्री र सर्वसाधरणले गर्ने यात्रा थियो भने ‘स्यामा पिन्बा’ मा छोरी ठूली भएपछि उपहार स्वरूप अभिभावकले फरिया दिने संस्कृति । त्यस्तै ‘छ्योपोङ’ मा भागीविवाह गरेकी छोरीलाई माइतीले स्विकार्ने तामाङ विधि थियो भने ‘मधु राजा’मा काँठ क्षेत्रको तामाङ संस्कृति ।


धादिङको रुबी भ्याली क्षेत्रको प्राकृतिक, सांस्कृतिक सौन्दर्यलाई ‘जर्नी टु सिङला’ मा कैद थियो भने ‘ह्याङला बोन’ मा तामाङ समुदायका प्रचलित बोन परम्परा खोजी गर्दै हिँड्ने एक युवकको कथा समेटिएको थियो ।


महोत्सव उद्घाटन क्रममा पूर्वमन्त्री शेरबहादुर तामाङ, संयुक्त राष्ट्रसंघ आदिवासी स्थायी मञ्चका पूर्व सदस्य परशुराम तामाङ, सभासद कृष्ण राई, लेखक एवं संस्कृतिविद् अजितमान तामाङ, भाषाविद् अमृत योञ्जन, तामाङ घेदुङका महासचिव बाबु घिसिङलगायतले फिल्ममार्फत संस्कृति र मौलिक पहिचान सम्बर्द्धन गर्न फेस्टिभलले सघाउने बताए ।


दुईदिने फेस्टिभलमा क्यानाडा, नेपाल, अमेरिका, जापानलगायत मुलुकका चलचित्रकर्मीले तामाङ थिममा आधारित रहेर बनाएका १८ वटा फिल्म देखाइने फेस्टिभल अध्यक्ष विगेन्द्रसिंह वाइबाले बताए । फेस्टिभलअन्तर्गत बिहीबार १२ वटा फिल्म देखाइने र दुईवटा प्यानल डिस्कसन गरिने संयोजक कुमार मोक्तानले जनाए ।

प्रकाशित : जेष्ठ ३०, २०७६ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?