कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सारेगमप लिल च्याम्प्स : प्रितम सेकेन्ड रनर अप

पर्वत पोर्तेल

काँकडभिट्टा — भारतको चर्चित रियालिटी सो ‘सारेगमप लिल च्याम्प्स’ मा सुनरी, इटहरी ५ का प्रितम आचार्य सेकेन्ड रनर अप बन्दै दुई लाख भारु जिते । आइतबार सम्पन्न ग्रायन्ड फिनालेमा उनी तेस्रो बन्दा अर्का नेपाली प्रतिस्पर्धी आयुष केसी चौथो बनेका थिए ।

सारेगमप लिल च्याम्प्स : प्रितम सेकेन्ड रनर अप

नागपुर भारतकी सुगन्धा दाते सारेगामापा लिल च्याम्प्स विजेता बनिन् । उनले ५ लाख भारु पुरस्कार पाइन् । फाइनल राउन्डमा सुगन्धा, प्रितम, मोहम्मदसँगै आयुश, आस्था दास र अनुष्का पात्राले प्रतिस्पर्धा गरेका थिए ।


प्रितम र आयुष दुवै सोमबार घर फर्किएका छन् । मुम्बईबाट पश्चिम बंगालको बागडोग्रा विमानस्थलवाट ओर्लिएका उनलाई स्वागत गर्न समर्थक तथा आफन्तको बाक्लो भीड थियो, पूर्वी नाका काँकडभिट्टामा । उनले आफूलाई समर्थन गरेर भोट दिने सबैप्रति कृतज्ञता व्यक्त गरे ।


सारेगामापाका निर्णायकले ११ वर्षीय प्रितमको गायकी क्षमता निक्कै परिपक्व रहेको बताउँदै आएका थिए । सुरिलो स्वरका धनी उनले भारतीय रियालिटी सोमा उत्कृष्ट प्रदर्शन गर्दै तेस्र्रो उपाधि जितेका हुन्, त्यो पनि सयौं अब्बल प्रतिस्पर्धीलाई पाखा लगाउँदै ।

यी बाल प्रतिभाले सारेगामापा लिल च्याम्पमा आफ्नाे स्वरको जादू देखाउँदा निर्णायकहरू पटकपटक चकित पर्ने गर्थे । ‘प्रितमसँग भरपुर आत्मविश्वास थियो । त्यही आत्मविश्वासले उनलाई सफलता दिलाएको हो,’ संगीत साधन प्र्रतिष्ठान इटहरीका संस्थापक राजु केसीले भने ।


इटहरीकै विश्व आदर्श स्कुलमा कक्षा ६ मा पढ्छन् प्रितम । ७ वर्षकै उमेरमा स्कुल आइडल जितेका उनी ९ वर्ष छँदा सुरशाला गायन प्रतियोगितामा फस्ट रनर अप भएका थिए । संयोग कस्तो भने, अहिले चौथो बनेका आयुष सुरशालामा पहिलो बनेका थिए । यी दुवै नेपाली बाल गायकले सारेगामापाको यो सिजनमा तहल्का मच्चाएका थिए ।


प्रितमका धेरै गीत तथा कभर गीतहरू युट्युबमा भाइरल नै छन् । उनलाई मेन्टरिङसमेत गरिरहेका फिल्म निर्माता राजेश घतानीले उनको गायकी उत्कृष्ट रहेकै कारण निर्णायकहरूको नजरमा परेको र तेस्रो स्थान प्राप्त गर्न सकेको बताए ।


सारेगामापामा उनले सुरुमा डिजिटल अडिसन दिएका थिए । निर्णायकले स्वर मन पराएपछि दिल्ली बोलाइएको बुबा काशीनाथले बताए । दिल्लीका तीनवटा अडिसनमा सफल भएपछि प्रितम मुम्बईको मेगा अडिसनमा छानिएका थिए । ‘गायनमा प्रितमको मिहिनेत राम्रो थियो,’ बुवा काशीनाथ भन्छन्, ‘त्यही कारण रिजल्ट पनि राम्रो आयो ।’


प्रितम दैनिक २ घण्टा नियमित रियाज गर्छन् । संगीतसँगै पढाइमा पनि उनी अब्बल छन् । उनका संगीत शिक्षक भूपेन्द्र राई भन्छन्, ‘प्रितमसँग गाउन सक्ने पृृथक् क्षमता छ ।’ आधुनिक, शास्त्रीय दुवै किसिमका गीत गाउन सक्ने क्षमता उनमा रहेको शिक्षक राईले बताए ।

प्रकाशित : जेष्ठ २८, २०७६ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?