यसकारण अत्यधिक रुचाइयो ‘गलबन्दी’

कान्तिपुर संवाददाता

काठमाडौँ — ठीक एक वर्षअघि गायक प्रकाश सपूतले ल्याएको गीत ‘बोल माया’ ले सांगीतिक क्षेत्रमा ठूलै उथलपुथल ल्यायो । परदेसिएका पतिको शव कफिनमा बन्द भएर आएपछिको अवस्थामा विरह भाकामा व्यक्त उक्त मार्मिक लोकगीतले धेरैको मन छोयो । नारायण रायमाझी, शान्तिश्री परियारका साथमा प्रकाश सपूतकै गायन रहेको उक्त गीतको रचना तथा संगीत पनि प्रकाशले नै गरेका थिए भने आफ्नै निर्देशनमा भिडियोमा अभिनय पनि गरेका थिए । 

'गलबन्दी’ म्युजिक भिडियोको एक दृश्यमा कलाकार प्रकाश सपूत ।

सर्वोत्कृष्ट लोकगीत संकलनको इमेज अवार्ड जितेको उक्त गीतले एक वर्षमा युट्युबमा मात्रै १ करोड १५ लाखमाथिको भ्युज पाएको छ । १६ हजार बढी कमेन्टमा अधिकांशले गीतलाई रुचाएको प्रतिक्रिया दिएका छन् । उक्त गीत त्यसताक युट्युबको पहिलो नम्बरमा समेत लामो समय ट्रेन्डिङमा रह्यो । उनै प्रकाशले दुई महिनाअघि पनि अर्को गीत ‘दोहोरी ब्याटल’ ल्याएका थिए ।

भिडियोको सुरुवातमै लेखिएको थियो, ‘यो लोक दोहोरी गीत होइन । लोकदोहोरीको जस्तो थेगो र बाजाहरूको प्रयोग नगरिएकोले यसलाई दोहोरी ब्याटल नभनिएको हो । यसलाई नेपाली मौलिकता बोकेको लोकदोहोरी गीतसँग तुलना नगरिदिनुहोला ।’

लोकदोहोरीको राम्रो बजार रहेका बेला प्रकाश सपूतको ब्याटल र लोकदोहोरीलाई संयोजनमा गरिएको प्रयोगलाई अधिकांशले नयाँपनका रूपमा रुचाए । केहीले भने उच्शृंखल बढी भएको टिप्पणी पनिगरेका थिए ।

‘सेन्सरपछि’ दोस्रो पटक युट्युबमा राखिएको यस गीतले पनि ६८ लाख भ्युज बटुलिसकेको छ । उक्त ब्याटल दोहोरीको दुई महिनापछि नै गायक सपूतले एकाएक ‘बोल माया’ ल्याएर आफ्नो सांगीतिक फ्यानमाझ बनेको छवि नै बदलिदिएका थिए । त्यसपछि फेरि ल्याए, ‘दोहोरी ब्याटल २’ ।

पछिल्लो दुई महिनाभित्रै उक्त गीतले पनि युट्युबमा ९० लाख बढी भ्युज पाइसकेको छ भने ११ हजार बढी कमेन्टस् । शब्द र भाका त पृथक् थियो नै, यसको म्युजिक भिडियोले पनि राम्रै चर्चा बटुल्यो । ‘दोहोरी ब्याटल २’ ले पनि युट्युबमा ट्रेन्डिङको ब्याटललाई जितिदियो ।

प्रीति आलेसँगको युगल गायनमा देखिएका प्रकाश सपूतकै रचना तथा संगीत रहेको यस गीतले पनि लामो समय एक नम्बरमा कब्जा जमायो । डेढ महिना बित्न नपाउँदै उनै प्रकाशले यति बेला फेरि अर्को तहल्का मच्चाएका छन्, ‘गलबन्दी’ मार्फत । ‘बोल माया’ कै टिम यसमा आबद्ध छन् ।

शान्तिश्री परियार र प्रकाशकै गायन रहेको यस गीतको भिडियोमा पनि उनै प्रकाश र अञ्जली अधिकारी फिचरिङ छन् । भिडियोलाई ‘बोल माया’ कै कथाको प्रिक्वेलका रूपमा पनि ‘गलबन्दी’ को कथालाई रिलेट गरेर हेरेका छन् । ‘गलबन्दी’ बाटै प्रकाशले आफ्ना फ्यानलाई यसको सिक्वेलको पर्खाइमा पनि राखेका छन् ।

‘गलबन्दी’ भिडियो युट्युबमा राखिएको दस दिनमा ६५ लाख बढी भ्युज आइसकेको छ । केही दिनदेखि निरन्तर ट्रेन्डिङको पहिलो नम्बरमा रहन सफल यस गीतलाई २१ हजार बढीले राम्रो लागेको प्रतिक्रिया दिएका छन् । ‘नेपालको इतिहासमा बाजी मार्ने गायक, नेपाली सपूत प्रकाश सपूत’ देवदास बूढा नामक युजर्सले कमेन्टमा लेखेका छन् । क्रिस भाइ लेख्छन्, ‘र्‍याप, पप मात्रै सुन्ने गर्थें तर यो गीत सुनेपछि चाहिँ अब केटो लोकदोहोरीमा लाग्यो ।’

रमाइलो त के भने, यसपटक प्रकाश र उनको गीत मात्रै चलेन, भिडियोमा मोडलिङ गरेकी अञ्जली अधिकारी पनि भाइरल बनिन् । उनको लजालु प्रस्तुतिलाई खुबै रुचाइएको छ । भूपेन्द्र ठकुरी लेख्छन्, ‘अञ्जली लास्टै मन पर्‍यो । जति सिम्पल त्यति ब्युटिफुल । एक्सप्रेसन लोभ लाग्दो ।’ गीतमा बीचबीचमा दोहोरीका रमितेले बोल्ने संवादसमेत यति बेला भाइरल भइरहेको छ ।

‘ढिलो आयो कडा आयो’, ‘हल्का ग्यास्ट्री’ जस्ता संवाद केही उदाहरण हुन् । प्रकाश सपूतको सांगीतिक प्रतिभाबाट प्रभावित भई घनश्याम भण्डारीले ‘एउटा मान्छेमा कति धेरै खुबी । कहिले नचाएको छ, कहिले रुने बनाएको छ, कहिले सुनिरहूँजस्तो’ भनी टिप्पणी गरेका छन् ।

प्रकाशित : जेष्ठ २२, २०७६ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्

नवौं राष्ट्रिय कला प्रदर्शनी : पश्चिमा शैली हाबी

सुशीला तामा‌ङ

काठमाडौँ — बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा मंगलबार ठूलै भीडभाड थियो । भीडभाडको बीचमा थिइन् सविना पोखरेल, उनी ग्यालरी पस्नेको संख्या टिप्दै थिइन् । चित्रकार, मूर्तिकारदेखि कला पारखी र स्कुले विद्यार्थीसम्मको संख्या थपिँदै थियो । उनले टिप्दै गरेको रेकर्ड फाइलमा संख्या १० हजार २ सय पुग्यो । समापन हुन एक दिनमात्रै बाँकी रहँदा नवौं राष्ट्रिय कला प्रदर्शनीमा देखिएको यो दृश्य निकै लोभलाग्दो थियो । 

राजधानीको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा जारी नवौं राष्ट्रिय कला प्रदर्शनीमा राखिएका चित्र हेर्दै कलापारखी । तस्बिर : अनिश रेग्मी/कान्तिपुर

भित्र ग्यालरीमा कोही मूर्तिकला नियाल्दै थिए, कोही विभिन्न शैलीका चित्रकला । मिथिला, थाङ्कादेखि पौभासम्ममा झुम्मिनेहरूको संख्या उल्लेख्य थियो । प्रतिस्थापन कला र भिजुअल आर्टतिर उस्तै माहोल । जेठ २ देखि जारी नवौं राष्ट्रिय ललितकला प्रदर्शनीमा देशैभरिका कलाकारको कलाकृतिहरूले हेर्न सकिन्छ ।

परम्परागत, समकालीन र आधुनिक शैलीका विभिन्न कलाकृतिहरूले समय र परिस्थितिअनुसारको संवाद गरिरहेको भान हुन्छ । कलाकृतिहरूलाई साक्षी राख्दै आयोजक नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपतिले भने, ‘पछिल्लो समयमा नेपाली कलामा उल्लेखनीय विकाससँगै अभिव्यक्त गर्ने शैली र प्रस्तुतिमा समेत नयाँ प्रवृत्ति भित्रिएको देखिन्छ ।’ उनका अनुसार नवौं राष्ट्रिय ललितकला प्रदर्शनीमा कलामा विषयगत पक्ष निकै नै आएका छन् । ‘विषयगत रूपमा आएका राजनीतिक व्यंग्य शैलीका चित्रमा एकदमै नयाँपन छ,’ उनी भन्छन्, ‘समय र घटनाक्रम अनुसार समाजमा जे भइरहेको छ, ती सबै अहिले कलाका माध्यमबाट बाहिर आइरहेका छन् ।’

प्रदर्शनीमा रहेका ५ सय १५ वटा कलाकृतिहरूमा मूर्त/अमूर्त शैलीका कलाकृति छन्, धेरैजसो चित्रहरू परम्परागतदेखि समकालीन हुँदै आधुनिकतातिर ढल्केका छन् । परम्परागत शैलीका पौभा र थाङ्का क्यानभासहरूमा आधुनिकताका मिश्रणहरू देखिएका छन् । दोर्जी गुरुङले उतारेको चित्रमा कपालको चुल्ठोसहितको बुद्धको हातमा तरबार छ भने पछाडि घोडासमेत देखाइएको छ ।

थाङ्काको प्रभाव ग्रहण गरेर विषयवस्तु भने चित्रकार स्वयंले सेट गरेका छन् । पछिलो समय परम्परागत शैलीलाई आफूखुसी बिगार्ने प्रवृत्ति देखिन थालेको र यसले नेपाली मौलिक र परम्रागत कलाको मूल्य कमजोर बनाउने तर्क गर्छन् कुलपति कर्माचार्य । अहिले पौभा र थाङ्का शैलीका कलाहरूमा मौलिकतासँगै पश्चिमी शैलीहरूसमेत भित्रिएको उनको दाबी छ ।

यसपटक आधुनिक शैलीका चित्रमा पनि प्रविधि र समसामयिक विषयको प्रभाव बढी देखिन्छन् । ‘राजनीतिक व्यंग्यका कार्टुनहरू र महिला हिंसालगायत महिलाका विषयका चित्र दर्शकले निकै नै रुचाइएका छन्,’ कुलपति कर्माचार्य अनुभव सुनाए, ‘यो सामयिक प्रभाव हो ।’ उनका अनुसार पछिल्लोपटक कलामा सिधै व्यंग्य गर्ने प्रवृत्ति बढदो छ । यो प्रदर्शनीमा पनि त्यस्ता चित्रहरू धेरै छन् ।

प्रधानमन्त्री केपी ओलीदेखि पूर्वप्रधानमन्त्री प्रचण्डसम्मलाई सिधै उतारेर क्यानभासमा प्रस्तुत गरिएको छ । दर्शकले रुचाए पनि छन् । प्रदर्शनी अवलोकनकै क्रममा भेटिएका संगीता लामा र पल्लवी श्रेष्ठ रवीन्द्र मानन्धर र हरिशरण ढुंगानाले मेलम्ची खानेपानी विषयमाथि व्यंग्य गर्दै बनाएका चित्र चाख मान्दै नियालिरहेका थिए । नेताहरूलाई सिधै देखाएर बनाइएका कार्टुन चित्रहरू र महिला हिंसा लगायत महिला स्तन्त्रन्ताका पक्षमा कोरिएका कलाकृति यसपटक अघिल्ला वर्षहरूमा भन्दा धेरै छन् ।

यो वर्ष महिला कलाकारहरूको सहभागिता एकदमै राम्रो रहेको देखिन्छ । प्रदर्शनी स्थलमै भेटिएकी चित्रकला विभागकी प्रमुख सुषमा राजभण्डारी खुसीले दंग थिइन् । उता मिथिला कलामा पुरुषहरूको पनि संलग्नता भए पनि महिलाहरूको वर्चस्व कायमै छ । मिथिला देवी यावद, रञ्जु यादवलगायत मञ्जुला ठाकुर, माधवी कर्ण, पुनम दासजस्ता ३० जनाभन्दा बढी महिला कलाकारका कलाकृति नवौं प्रदर्शनीमा राखिएका छन् । राजभण्डारीको अनुभवमा अहिले कलामा मिश्रित खालका विषयवस्तुहरू आइरहेका छन् । ‘एउटै कलामा पनि परम्परागत, समकालीन र आधुनिकताको मिश्रण देख्न सकिन्छ,’ उनले भनिन् ।

उनका अनुसार पहिले पहिले स्टोन माध्यम प्रयोग गरिएका चित्रकला हाबी हुन्थ्यो, यपटक तैलीय र एक्रेलिक माध्यम हाबी छन् । उनले पनि नयाँ पुस्ता उन्मुक्त अभिव्यक्तिसाथ कलामा आइरहेको स्विकारिन् । ‘हाम्रो पालामा राजाको फोटोमा केही व्यंग्य मिसाउनु हुँदैन थियो, तुरुन्त फोन आउँथ्यो,’ सुषमाले भनिन्, ‘अहिले कलाकारहरूले खुलेर आफ्नो विचार व्यक्त गर्न पाउँछन्, यही भएर व्यंग्यात्मक शैली अलिक बढेको हुन सक्छ ।’

प्रदर्शनीमा मनोवैज्ञानिक धारको पनि उपस्थिति राम्रो छ । मूर्तिकलादेखि चित्रकलासम्ममा मनोविज्ञानको पाटो निकै अगाडि बढेको देखिन्छ । ‘यात्रा अन्तरआत्माको’ शीर्षकको कला बनाएका रोकेशलाल श्रेष्ठले आध्यात्मिक यात्रालाई उल्लेख गरेका छन् ।

प्रदर्शनीमा भेटिए ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति किरण मानन्धर । उनले फिगरेटिभभन्दा फिगरबिनाका अब्स्ट्र्याक शैलीका कलाहरूले अहिले स्थान पाइरहेको बताए । उनका अनुसार पहिले चित्रमा फिगर अनिवार्यजस्तै हुन्थ्यो । तर अहिले एउटै चित्रमा दर्शकले आआफ्नो तरिकाले अर्थ लगाउँछन् ।

‘रंगहरूमा खेलेर कलाकारले मनमा उब्जेका भावना र मनोविज्ञानका यात्रा उतार्न सक्छन्,’ उनले भने, ‘यो शैली बढदो छ ।’ प्रदर्शनीमा पाका चित्रकार शशीविक्रम शाहदेखि श्यामलाल श्रेष्ठ, सञ्जय बान्तवासम्मका अब्स्ट्र्याक शैलीका उत्कृष्ट चित्रहरू पनि राखिएका छन् ।

प्रदर्शनी उत्साहजनक रुपमा रहे पनि नियमित रूपमा कला अवलोकन गर्ने दर्शकले भने परम्परागत पौभा र थाङ्का शैलीमा विषयवस्तु कम भएको गुनासो गरे । काठमाडौंका अमन जोन्छेका अनुसार कलाले समकालीनदेखि आधुनिकतातिर यात्रा गरे पनि हस्ताकला र मूर्तिकला निकै कम छन् ।

‘कन्टेन्टकै आधारमा पनि धेरैले आधुनिकता पस्कन खोजेको देखेँ,’ उनले भने । प्रदर्शनीले प्रतिस्थापन कलाका साथै पर्फरमेन्स आर्टहरूलाई पनि प्राथमिकतामा राखेको छ । त्यस्तै मिक्स मिडियादेखि भिजुयल आर्टसम्म पनि प्रदर्शनीमा राखिएका छन् ।

प्रकाशित : जेष्ठ २२, २०७६ ०९:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्