३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

मोफसलमा बक्सअफिस

सर्लाही — सरकारले उपत्यकामा बक्सअफिस प्रणाली सुरु भएको एक वर्षपछि उपत्यकाबाहिरबाट भने पहिलो पटक कार्यान्वयन प्रक्रिया थालेको छ । चलचित्र विकास बोर्डले शनिबार प्रदेश नं. २ का झन्डै १० हलबाट यसलाई कार्यान्वयनमा ल्याएको हो । सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सर्लाहीको लालबन्दीस्थित वीणा हलमा बक्सअफिसको उद्घाटन गरे ।

‘कागजमा आर्थिक हिसाब लेख्ने काम भनेको डरलाग्दो सामाजिक भ्रष्टाचार हो । यसलाई नियन्त्रण गर्न पछिल्लो प्रविधिको आत्मसात् गर्दै पारदर्शिता अपनाउनै पर्छ,’ मन्त्री बाँस्कोटाले भने, ‘पारदर्शी समाज, व्यावसायिक शुद्धताले राज्यलाई बलियो र पेसा–व्यवसायलाई सुदृढ बनाउन पनि बक्सअफिस प्रणाली चाहिएको हो । एक वर्षभित्रै देशभर ई–टिकेटिङ मात्रै नभई सेन्ट्रल सर्भरसँगै करमा जोडेर वास्तविक बक्सअफिस कार्यान्वयनमा आउनेछ ।’


उनले राजधानीका हलबाट समेत टिकट बिक्रीकै समयमा डाटा उपलब्ध नभइरहेको अवस्था कोट्याउँदै थपे, ‘बक्सअफिस भ्रष्ट मानसिकतामाथिको सशक्त प्रहार हो । यसले फिल्म क्षेत्रलाई उद्योग बनाउन सघाउनेछ ।’ मन्त्रीले सरकारको कदम नमानेमा वा रोक्ने–छेक्ने गर्न खोजेमा अप्रिय हुन जाने चेतावनी दिँदै सबै हललाई बक्सअफिस प्रणाली जोड्न मानसिक रुपमा तयार रहन आग्रह गरे । सरकारले मोफसलका झन्डै ८० हलमा बक्सअफिस प्रणाली जडानका लागि आवश्यक पर्ने सफ्टवेयर अनुदानमा दिइसकेको छ ।


सरकारले बोर्डमार्फत लालबन्दीको वीणा हलसँगै सर्लाही, महोत्तरी, पर्सासहित प्रदेश २ का १० वटा हलहरूमा बक्सअफिस सुचारु गरेको हो । यो क्रमलाई ७ वटै प्रदेशमा साउन १ सम्म सुचारु गरिसक्ने चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले बताएका छन् ।


बक्सअफिस प्रणाली सुरु गरेको काठमाडौंका हलहरूलाई पनि साउन १ गतेभित्र रियल टाइम डाटा पठाउने गरी कडाइका साथ बक्सअफिस लगाउने अध्यक्ष भट्टराईले बताए । सञ्चारमन्त्री बाँस्कोटाले काठमाडौंमै अत्याधुनिक इन्डोर फिल्म सुटिङ स्टुडियो निर्माणमा बोर्ड लाग्न पनि अनुरोध गरेका छन् । मोफसलमा बक्सअफिस सुचारु गरेको वीणा हलका सञ्चालक पवन गुप्ता हुन् भने अध्यक्ष नरेन्द्र महर्जन हुन् ।

प्रकाशित : जेष्ठ १९, २०७६ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?