विवादमा 'द सुपर मम' प्रतियोगिता- आयोजकले पैसा लिएर विजयी बनाएको प्रतिस्पर्धीको आरोप

हामीले सोच्यौं एउटा, रिजल्ट अर्कै : निर्णायक भुवन चन्द
पैसा खर्च गरेकी छैन : विजेता एमी कर्माचार्य
रामजी ज्ञवाली

काठमाडौँ — बेला–बेलामा विभिन्न अभिव्यक्ती दिएर विवादमा तानिँदै आएकी अभिनेत्री पूजना प्रधान (स्त्री)लाई अहिले सुन्दरी प्रतियोगीताको ताज बेचेको आरोप लागेको छ । 'द सुपर मम' प्रतियोगीतामा रकम लिएर थाइल्याण्डमा बस्दै आएकी एमी कर्माचार्यलाई विजयी बनाएको भन्दै अधिकांस सहभागी प्रतिस्पर्धीहरुले विरोध जनाएका छन् ।

विवादमा 'द सुपर मम' प्रतियोगिता- आयोजकले पैसा लिएर विजयी बनाएको प्रतिस्पर्धीको आरोप

केहि वर्षयता चलचित्र क्षेत्रमा खासै सत्रिय नभएकी अभिनेत्री प्रधानले २९ बैशाखमा काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा ‘द सुपर मम’ नामक सुन्दरी प्रतियोगीता आयोजना गरेकी थिइन् । पुजनाको आफ्नै केट इन्टरटेनमेन्टले आयोजना गरेको उक्त प्रतियोगीतामा आमा बनिसकेका महिलाको उल्लेख्य सहभागीता थियो ।

आयोजकले धाँधलीपूर्ण र पक्षपाती ढंगले निर्णय गरेको तथा आर्थिक चलखेल गरेर कर्माचार्यलाई विजेता बनाएको भन्दै प्रतियोगीतामा सहभागी महिलाहरुले पत्रकार सम्मेलन गरेरै पुजनाले पैसा कमाउनका लागि प्रतियोगीता आयोजना गरेको र पैसा लिएर विजेता बनाएको दाबी गरेका छन् ।

प्रतियोगितामा ‘फस्ट रनरअप’को ताज पाएर पनि ताज फिर्ताको घोषणा गरेकी अमृता शर्माले प्रतियोगिता धाँधलीपूर्ण र पक्षपाती भएको बताइन् । उनले पुजनाले मनोमानी ढगंले महिलालाई ‘प्रोडक्ट’को रुपमा प्रयोग गरेको आरोप लगाइन् । ‘उनले आमाहरु माथि ज्यादती गरिन्,’ उनले भनिन्, ‘आमाहरुलाई सडकमा ल्याएर नचाइन् र विनर बनेकी महिलासँग पहिला नै पैसा लिएर सेटिङ गरेकी थिइन् ।’ उनले सहभागीता जनाएवापत समेत डेढ लाखको हाराहारीमा खर्च गराएर त्यसवापतको कमिशन लिएको दाबी गरिन् ।

यो प्रतियोगीतामा १६ जना प्रतिष्पर्धी सहभागी थिए । उनिहरुमध्ये नौजनाले हस्ताक्षर गरेको विज्ञप्तीमा आयोजक प्रधान र उनकी आमाले प्रतियोगितालाई सुनियोजित, प्रायोजित र षड्यन्त्रमूलक ढंगले संचालन गरेको दाबी गरिएको छ ।

असक्षम प्रतियोगीलाई ताज जिताउन दुवैबीच आर्थिक लेनदेन भएको दाबी गर्दै प्रतिस्पर्धीले पुजना र एमी कर्माचार्यको पतिबीच व्हाट्सएपमा भएको कुराकानीको स्क्रिनसटलाई प्रमाणका रुपमा पेश गरेका छन् । यस्तै लेनदेनबारे व्हाट्सएपमा भएको कुराकानीको स्क्रिनको भिडियो पनि स्रोतले उपलब्ध गराएको छ । उक्त भिडियोका देखिएको कुराकानीलाई आदार मान्ने हो भने कुनै विषयमा लेनदेन भएको हुनसक्ने देखिन्छ ।

विरोध गरिरहेका महिलाहरुले थाईल्याण्डमा बस्दै आएकी एमी कर्माचार्यको ताज फिर्ता गरिनुपर्ने माग राखेका छन् । प्रतियोगीमध्येकी एमी कर्माचार्यलाई प्रथम बनाउन र बाला राईलाई तेस्रो बनाउनका लागि सोधिने प्रश्नपत्र समेत आउट गरिएको उनीहरूको आरोप छ ।

उनिहरुले प्रति व्यक्ति १ लाख ५० हजारका दरले आफूहरूको खर्च भएको रकम आयोजक र पुजना प्रधानले फिर्ता गर्नुपर्नेसमेत माग राखेका छन् । केहि दिनअघि रिपोटर्स क्लबमा गरिएको पत्रकार सम्मेलनमा समेत प्रशिक्षक करुणा रिजाल, प्रतियोगीहरू निलम श्रेष्ठ, सुष्मा कार्की, गीता दाहाल, लक्ष्मी श्रेष्ठ, शुभेच्छा रिमाल, विमला तिमल्सिना (नेवार), अमृता शर्मा, ईशारा थपलिया र कमला थपलिया लगायत सहभागी थिए भने उनिहरु अधिकांसको माग र आरोप एउटै किसिमको थियो ।

यस विषयमा पुजना प्रधानले गलत सोच राखेर कसैलाई विजेता नबनाएको दाबी गरिन् । उनले भनिन्, ‘कार्यक्रम कोर्डिनेटर करुणा रिजालले आफुले भनेजस्तो किसिमको रिजल्ट नआएपछि महिलाहरुलाई विरोधमा उतार्नुभएको हो । यसमा कुनै सत्यता छैन ।’

आफ्नो कार्यक्रममा ५० हजार कसैले स्पोन्सर गरेको पैसालाई नकारात्मक ढंगले पैसा खाएको आरोप लगाएको पुजनाको तर्क छ । ‘यदि मैले पैसा नै खाने हो भने ५–६ लाख नै खान्थे नि,’ उनले भनिन्, ‘मैले कसैलाई जिताउँछु भनेर जिताएको हैन । हामिले कतिपयको ताज खोस्ने योजनामा थियौं, त्यहि मौकामा उनिहरुले सुरुमै ताज फिर्ता गरेका हुन् ।’

यस प्रतियोगीताको निर्णायकको भुमिकामा बिशाल पहाडी, सन्ध्या पहाडी, भुवन चन्द, बाबा सरकार श्रेष्ठ, रागीनी उपाध्याय, भुषण श्रेष्ठ लगायत थिए ।

हामीले सोच्यौं एउटा, रिजल्ट अर्कै : निर्णायक भुवन चन्द

पुजना एउटा कलाकार भएको नाताले उहाँले गर्नुभएको कार्यक्रममा निर्णायकको भुमिकामा बोलाउनुभयो । म ऊक्त कार्यत्रममा गएँ । तर कार्यक्रम निकै भद्रगोल जस्तो थियो । हामी ६ जना निर्णायक थियौं । हामीले सुपर मम हुनुपर्नेमा के–के गुणहरु हुन्छन्, त्यसअनुसार अंक दिएका थियौं । तर त्यो भन्दा फरक किसिमको रिजल्ट आयो ।

त्यो रिजल्ट आउँदा हामीहरु अचम्मित भयौं । मैले तुरुन्तै ‘तिमीहरु छुट्टै जज् पनि बसेका छौ कि क्या हो ?’ समेत भनेकी थिएँ । कार्यक्रम निकै हतार हतारमा गरिएको थियो । उता प्रतियोगीहरुले प्रस्तुती देखाइरहेका बेला हामिलाई कागजमा साइन गर्न ल्याइएको थियो, उता हेर्ने कि साइन गर्ने ? तर जसो जसो भनें, त्यसै गर्‍यौं । खास के भएको हो त्यो भगवानले जानुन् ।

ब्युटी प्याजेन्ट त्यसैअनुसार हामिले निर्णय गरेका थियौं । हामीले निलम श्रेष्ठ नम्बर वान हुने गरी अंक दिएका थियौं । प्रतियोगीहरु सबै राम्रो हुनुहुन्थ्यो, त्यसमध्ये निलमलाई हामीले धेरै मन पराएका थियौं र उहाँको प्रस्तुती पनि त्यसअनुसार थियो । हामीले सोचेको भन्दा फरक किसिमको रिजल्ट आउँदा निकै खल्लो अनुभव भयो ।

पैसा खर्च गरेकी छैनँ : विजेता एमी कर्माचार्य

जहाँपनि यस्ता खालका प्रतियोगीता विवादमुक्त हुन सकेका छैनन् । सुपर मम जितेपछि हार्नेहरुले विवाद झिक्नुभएको हो । ३ हप्तासम्म ट्रेनिङ हुँदा कति खुसीसाथ काम गरेका थियौं । म विनर भएपछि धेरैको खुसी भताभुङ्ग भए ।

खासमा यो प्रतियोगीतामा ५–६ जनाले चित्त नबुझाउनुभएको हो । मेरो घरमा ३ वर्षदेखि उथलपुथल भैरहेको छ । छोरी गुमाएको २ महिनापछि मेरो पनि लिभर, हड्डी र ब्रेस्टमा क्यान्सर देखियो । उपचारका लागि धेरै खर्च भयो । मैले एक वर्ष भारत बसेर राजिव गान्धी अस्पतालमा उपचार गराएँ, अझै उपचार भैरहेको छ ।

पैसा धेरै भएर मैले नेपाल आएर ताज किनेको होइन । म सँग एउटा क्राउनका लागि पैसा खर्च गर्ने मेरो क्षमता पनि छैन ।


प्रकाशित : जेष्ठ ९, २०७६ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?