मीन भामको फिल्मलाई ६० हजार डलर

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली फिल्म निर्देशक मीनबहादुर भामको फिल्म ‘अ इयर अफ कोल्ड’ ले नर्वेजियन साउथ फिल्म फन्ड (सरफन्ड) बाट ६० हजार डलरको ग्रान्ट सहयोग जितेको छ । सरफन्डले विश्वभरबाट आएका ५२ स्क्रिप्टमध्येबाट उत्कृष्ट ६ प्रोजेक्ट छानेको जनाएको छ । जसमा चार कथानक फिल्म र दुई डकुमेन्ट्री रहेका छन् ।

निर्णायकले छनोट भएका छ प्रोजेक्ट दमदार अवधारणा, चाखलाग्दा चरित्रहरू र विशिष्ट दृष्टिकोण भएकैले फिल्म निर्माणका लागि सहयोग रकम दिन लायक भएको जनाएका छन् । नेपालबाट भामसागै अफगानिस्तानको द पोस्टम्यान, चीनको द स्ट्रेन्जर, इजिप्टको एज आई वान्ट, दक्षिण अफ्रिकाको हाउ टु स्टिल अ कन्ट्री र जर्जियाको भेनिसले ६० हजार डलरकै ग्रान्ट जितेका हुन् ।

भामको निर्देशन रहने ‘अ इयर अफ कोल्ड’ हराएको पतिको खोजीमा निस्किएकी एक गर्भवती महिलाको यात्रा वर्णन हो । उनी बौद्ध भिक्षु कर्माको साथमा पतिको खोजीको लागि हिमालय यात्रामा निस्किन्छिन् । जुन व्यथापूर्ण यात्राबाट उनीहरूको जीवनले नैकोल्टे फेर्नेछ ।

भामको फिल्मबारेमा निर्णायकले पितृसत्तात्मक सोचले गहिरो गरी जकडिएको समाजमा आफ्नो अधिकार र परिचयको लागि दैनिक संघर्ष गरिरहेका महिलाहरूको जीवनलाई सूक्ष्म तरिकाले देखाएको टिप्पणी गरेका छन् । साथै, निर्णायकलेभामको पटकथाले नेपालको स्वास नै अड्कने खालको दृश्य र त्यहाँको सांस्कृतिक चालचलनलाई फिल्मका मुख्य पात्रमार्फत काव्यात्मक शैलीमा प्रस्तुत गरिएको जनाएका छन् ।

सरफन्ड नर्वेजियन फिल्म इन्स्टिच्युटबाट सञ्चालित अन्तर्राष्ट्रिय सहनिर्माण फन्ड हो । यस फन्डमा ८५ देशका निर्माताहरू सामेल छन् । यस फन्डको मुख्य उद्देश्य विकासोन्मुख देशका फिल्म निर्माणका लागि सहयोग रकम जुटाइदिनु हो ।

सांस्कृतिक अभिव्यक्ति, विविधता र कलात्मकताका साथै स्वतन्त्रताको आवाज बोल्ने खालका फिल्म प्रोजेक्ट सरफन्डको छनोटमा पर्ने गर्छन् ।

यसअघि पनि भामको फिल्म कालो पोथीले बर्लिन फिल्म फेस्टिभलअन्तर्गत वर्ल्ड सिनेमा फन्डमार्फत ३९ लाख रुपैयाँ, स्विट्जरल्यान्डको भिजन सुदबाट ५५ लाख रुपैयाँ बराबरको फन्ड रकम जितेको थियो ।

प्रकाशित : जेष्ठ ९, २०७६ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्

शोकमग्न मिक्लाजुङ

सम्पादकीय

पाँचथरको मिक्लाजुङ गाउँपालिकास्थित आरुबोटेको शान्त बस्तीमा सोमबार राति एकाएक दुई परिवारको संहारले देशभरि गहिरो वेदना सञ्चार गरेको छ । बमबहादुर फियाक (७४) र धनराज सेर्मा (४१) को परिवारका बालबालिकासहित नौजनाको निर्मम हत्या कसैको विक्षिप्त मानसिकताको पनि हदबाहिर छ । 

निद्रामा रहेका परिवारका एक–एकजनालाई धारिलो हतियारले सांघातिक आक्रमण गर्नेबाट भाग्यवश भाग्न सफल १२ वर्षीया सीता खजुमलाई परेको मानसिक असर कल्पनामात्र गर्न सकिन्छ । आफैं घाइते भई हारगुहार गर्दै नातेदारकहाँ शरण लिन पुगेकी बालिकालाई झापा ल्याएर अस्पताल भर्ना गरिएको छ । उनको शारीरिक उपचारका साथै मनोवैज्ञानिक उपचारका लागि अब प्रशासन र स्थानीय सरकारले सर्वोत्कृष्ट प्रयास गर्न जरुरी छ ।

हिंसात्मक घटनाको असर व्यक्ति, परिवार र समाजमा लामो समय रहन्छ । आफ्नै आँखासामु परिवार तहसनहस भएको घटनाले बाल मस्तिष्कमा पर्ने आघातको उपचार सामान्य रूपमा हुन सक्दैन । ती बालिकाको सुरक्षित, स्वस्थ, भयमुक्त र आत्मसम्मानपूर्ण जीवनका लागि स्थानीय सरकारले सक्दो सहयोग गर्न सक्नुपर्छ ।

यो संहारको गहिरो र गहकिलो अनुसन्धान गरी हत्यारा पहिचान गर्ने, हत्याको कारण पत्ता लगाउने र यस्तो नृशंस अपराधको मानसिक, सामाजिक तथा अन्य जरा विश्लेषण गर्ने प्रहरीको ध्याउन्न हुनुपर्छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले पारिवारिक विवादका कारण एकजना ज्वाइँ चेलाबाट भएको औंल्याएको छ जो घटनास्थलदेखि धेरै पर झुन्डिएको अवस्थामा फेला परेका छन् । यसले अपराधको अनुसन्धान सजिलो नभएको दर्शाए पनि सामूहिक हत्याका घटनामा प्रहरी अनुसन्धान बढी बृहत् हुनुपर्ने दरकार फेरि बनेको छ ।

२६ वर्षअघि पाँचथरकै टिम्बुरबोटेमा यस्तै हत्या घटना भएको थियो जसमा कुवेर दुलालको परिवारका पाँचजना मारिएका थिए । दुलाल परिवारको हत्या पनि खुकुरी प्रहारबाटै भएको थियो । अमेरिका, बेलायत, अस्ट्रेलियातिर कुनै सन्काहा बन्दुकधारीले सामूहिक हत्या गर्ने गरेका समाचार आउँछन् । त्यस्ता केही घटना द्वन्द्वरत मुलुकका युद्धमा सामेल भएर फर्केकाहरूबाट हुने अनुसन्धाताहरूले निचोड दिएका छन् । हाम्रै नारायणहिटी राजदरबारभित्र सैनिक सुरक्षामा बसेका राजा वीरेन्द्रको वंश विनाश भयो ।
परिवारै अर्थात् समूहका समूह सखाप हुने गरी हत्या गर्न उद्यत गर्ने तत्त्व र मानसिकताको विक्षिप्तता पर्गेल्नुपर्छ । प्रायः सम्पत्ति हत्याउन, पति–पत्नीबीचको झगडा र द्वन्द्वको प्रभावले यस्ता घटना हुने गरेको पाइन्छ । हिंसात्मक द्वन्द्व भोगेका अर्थात् देखेकाहरूमा हत्याको आँट र क्रूरता बढी हुन्छ भनिन्छ । सामाजिक–आर्थिक कारणले मानिसलाई अराजक र क्रूर बनाउन सक्छ, विकल्पहीनताले मानिसलाई अपराधतर्फ डोर्‍याउन सक्छ ।

राजनीतिक रूपमा उत्तेजित समाजमा पनि हत्या, हिंसा बढ्छ । द्वन्द्व, लागूऔषधको प्रयोग, विश्वव्यापी तापक्रम वृद्धिका कारण जलवायु परिवर्तनमा भइरहेको असरले पनि मानिसमा उत्तेजना बढेको र हत्या, हिंसामा वृद्धि हुने गरेका अध्येयताहरू इंगित गर्छन् । चिन्ताजनक के छ भने प्रहरी अपराध अनसुन्धान महाशाखाले हत्या, हिंसाको घटना बढिरहेको देखाएको छ । ०७२/०७३ मा १.७६ प्रतिशत रहेको अपराध वृद्धिदर ०७३/०७४ मा १०.१५ प्रतिशत पुग्यो । ०७४/०७५ मा बढेर २४.९६ प्रतिशत पुग्यो भने यो वर्ष अपराधको वृद्धिदर ३८ प्रतिशत पुगेको छ ।

नेपाल प्रहरीले विश्लेषण गरेअनुसार पेसेवार अपराध घटे पनि पारिवारिक र सामाजिक अपराध धेरै बढेको छ । फरिवारमा विचलन आएको छ । सहरीकरण, वैदेशिक रोजगार तथा व्यक्तिगत स्वतन्त्रताका कारणले संयुत्त रूपमा बस्ने पारिवारिक संरचना बदलिँदै छ । व्यक्तिवादी चरित्र हाबी हुनाले श्रीमान्ले श्रीमती, बाबुआमाले छोराछोरी, मामाले भान्जाभान्जी अर्थात् परिवारकै सदस्यले परिवारकै सदस्यको हत्या गर्ने संख्या पनिबढेको छ ।

अहिले बाहिरी समाजमा शान्ति छ, अपराधको दर कम भएको छ, परिवारभित्र भने अपराध २५–३० प्रतिशतले बढेको प्रहरी तथ्यांक सोचनीय छ । परिवार तथा समाजसँग घुलमिल गर्ने स्थानीय सरकारले सामुदायिक सुरक्षाको भावना बढाउन आवश्यक नीति निर्माण गर्नुपर्छ । समाजमा शान्तिका लागि बदलिँदो पारिवारिक संरचना तथा तिनमा परेका अस्वस्थ दबाबहरू पनि अध्ययन/अनुसन्धान गर्ने उत्तिकै आवश्यकता बढेको छ । शोकमग्न मिक्लाजुङस्थित ती दुई परिवारका बाँकी छोरीचेली र आफन्तजनसहित समाजप्रति समवेदना ।

प्रकाशित : जेष्ठ ९, २०७६ ०८:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्