‘चाहिँदैन नेसनल अवार्ड’

एजेन्सी

बलिउडमा अभिनेता सलमान खानलाई बक्सअफिसका बलिया खेलाडी मानिन्छ । हुन पनि उनका प्राय: फिल्मले बक्सअफिसमा राम्रो कमाइ गर्न सफल छन् । तर त्यस अनुपातमा समीक्षकले भने उनका फिल्मलाई खासै उल्लेख्य मान्ने गरेका छैनन् ।

‘चाहिँदैन नेसनल अवार्ड’

कतिपय समीक्षक त सलमानका फिल्मको समीक्षा गर्नु भनेको भित्री वस्त्रमा आइरन गर्नुजस्तै अनुत्पादक भएको टिप्पणी गर्छन् । फ्यान फलोइङकै कारण फिल्म चलाउने तागत राखे पनि सलमान अभिनयको कसीमा कमजोर मानिन्छन् ।


उनले हालसम्म एउटै मात्र फिल्मफेयर अवार्ड जितेका छन्, त्यो पनि ‘कुछ कुछ होता है’ का लागि सहअभिनेतामा । भारतमा कलाकारका लागि नेसनल अवार्ड प्रतिष्ठित मानिन्छ । सलमानका लागि उक्त अवार्ड झनै आकाशको फल बराबर नै हुने टिप्पणी गरिन्छ । तर उनले आफूलाई नेसनल अवार्ड नचाहिने प्रतिक्रिया दिएका छन् ।


‘मलाई नेसनल अवार्ड चाहिएको छैन । न त अरू कुनै अवार्ड । मलाई त केवल इनाम भए पुग्छ,’ बलिउडमा तीन दशकदेखि निरन्तर सक्रिय यी अभिनेताले व्यंग्यपूर्ण शैलीमा भने, ‘नेसनल अवार्ड त तब मिल्छ, जब दर्शकले हलमा पुगेर मेरा फिल्म हेर्छन् । पुरै देशले मेरो फिल्म हेरोस्, बस् योभन्दा ठूलो अवार्ड मेरा लागि के हुन सक्छ ?’


त्यसो त सलमानले केही दिनअघि ‘भारत’ फिल्ममा गरेको अभिनयका लागि को-एक्टर कट्रिना कैफलाई नेसनल अवार्ड दिनुपर्ने जिकिर गरेका थिए ।


त्यसैले पनि सोही फिल्मका लागि सलमानलाई नेसनल अवार्ड मिल्न जरुरी छ वा छैन भन्ने प्रश्न उब्जिएपछि अभिनेताले यस्तो प्रतिक्रिया दिएका हुन् । विभिन्न गेटअपमा देखिन लागेका सलमानको ‘भारत’ ईदको छेको पारेर विश्वभर रिलिज हुँदै छ ।

प्रकाशित : जेष्ठ ८, २०७६ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?