अब फिल्मको प्रोजेक्ट बिमा

कान्तिपुर संवाददाता

काठमाडौँ — अधिक जोखिमको क्षेत्रका रूपमा हेरिने फिल्म निर्माणमा अब भने प्रोजेक्ट बिमा हुने भएको छ । राजधानीमा एक कार्यक्रम गरी लुम्बिनी जेनेरल इन्स्योरेन्सले चलचित्र निर्माता संघसँग उक्त प्रोजेक्टका लागि एक करोड रुपैयाँसम्मको बिमा गर्न सहमत भएको हो । 

सोमबार निर्माता संघका अध्यक्ष आकाश अधिकारी र इन्स्योरेन्स कम्पनीका सीईओ एनपी प्रधानले प्रोजेक्ट बिमाका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार, निर्माताले पेस गरेको फिल्मको बजेटको एक प्रतिशत रकम बिमा कम्पनीलाई बुझाउनुपर्नेछ भने फिल्मको छायांकन अवधिको चार महिनामा कुनै पनि क्ष्ँति भएमा एक महिनाभित्रै क्षतिपूर्ति भर्पाइ हुने बताइएको छ ।

‘क्षतिमा फिल्मका उपकरण मात्रै नभई, कुनै भवितव्यमा परी कलाकार तोकिएको समयमासुटिङ सेटमा पुग्न नसकी फिल्मको छायांकन अवरुद्ध भयो भने पनि त्यसको क्षतिको उचित मूल्यांकन गरी बिमा कम्पनीले बेहोर्ने भएको छ,’ सम्झौतापछि संघ अध्यक्ष अधिकारीलेजानकारी दिए ।

उनका अनुसार, खिचिएको फिल्मको हार्ड डिस्क हरायो वा बिग्रियो र पुन: छायांकन गर्नुपर्ने अवस्थामा पनि बिमाले त्यसको सम्पूर्ण क्षति बेहोर्ने उल्लेख गरे ।

प्रोजेक्ट बिमाले फिल्म निर्माणको जोखिमलाई केही कम गर्ने र आफूहरूलाई राहत दिने निर्माताहरूले बताएका छन् ।

प्रकाशित : जेष्ठ ८, २०७६ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्

नवलपरासीमा हुरीले २ सय घरको छाना उडायो

नारायण शर्मा

नवलपरासी — नवलपरासी देवचुली नगरपालिकामा मंगलबार राति आएको हावाहुरीले २ सय घरको छाना उडाएको छ । त्यहाँ मानवीय क्षति भने छैन । हुरीसँगै असिनापानी परेको थियो । देवचुलीका मेयर पूर्णकुमार श्रेष्ठले टेलिफोनमा दिएको जानकारी अनुसार मंगलबार राति ८ बजेबाट सुरु भएको हावाहुरी र असिनाले त्यहाँका २ सय घरको छानो उडाएको प्रारम्भिक अनुमान छ ।

देवचुली नगरपालिकाको ६ , ७ , ८ , ९ ११, १२ र १४ नम्बर वडामा रहेका घरको टिन र खरको छानो उडाएको हो ।

त्यहाँ बुधबार बिहान ९ बजेसम्मपनि असिना भुइमा देखिएको थियो ।

यहाँ हावाहुरीले यति धेरै घरमा एकै पटक क्षति पुर्‍याएको योपहिलो पटक हो । हुरी पीडितको अवस्था बुझ्न मेयर सहितका जनप्रतिनिधि प्रभावित क्षेत्रमा खटिएका छन् ।

२ मिनेट मात्र आएको हावाहुरीले व्यापक क्षति पुगेको छ । २ दर्जन भन्दा बढी घरहरु बस्नै नमिल्ने भएको छ । सितावास र मुण्डे क्षेत्र बढी प्रभावित छ । सितावास क्षेत्रमा बाटाभरी बिजुलीको पोल ढलेर बाटो अवरुद्ध रहेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष खीमानन्द भुसालले जानकारी दिए ।
प्रभावित क्षेत्रमा प्रहरी, रेडक्रसकर्मी र स्थानीय उद्दारमा खटेका छन् ।









प्रकाशित : जेष्ठ ८, २०७६ ०९:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्