कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

चर्चित कलाकार ल्याउनै गाह्रो

आनन्द गौतम

ताप्लेजुङ — दिनेश लिंखिम नेतृत्वको पाथीभरा युवा क्लबले दर्जन बढी कलाकारलाई जिल्लामा निम्त्याए । 
नेपाली सेनाको गुल्मको प्रांगणदेखि तोक्मेडाँडासम्म सांगीतिक कार्यक्रम गरे ।

चर्चित कलाकार ल्याउनै गाह्रो

नाम चलेका कलाकारहरू राजेशपायल राई, दीपक लिम्बू, प्रमोद खरेल, शिव परियार, जगदीश समाल, इन्दिरा जोशी, रामचन्द्र काफ्लेले सेनाको गुल्मभित्र बनाइएको मञ्चबाट प्रस्तुति दिए । अञ्जु पन्त, एलिना राई, केदार घिमिरे, सीताराम कट्टेल, कुञ्जना घिमिरे, विल्सन विक्रम राई लगायतका कारलाकारले पनि बेलाबखत ताप्लेजुङ आएर प्रस्तुति दिए ।


पाँचथरका मित्र लिङदेन नेतृत्वको टोलीले ताप्लेजुङ आएर पटक/पटक कार्यक्रम आयोजना गरे । नायक राजेश हमाललाई ताप्लेजुङ ल्याए । फिल्म ‘माटो’ को सन्दर्भमा ल्याइएका हमाल उपस्थित कार्यक्रम टिकट काटेर आयोजना गराइएको थियो ।


हमालबाहेक जगत राना मगर, सुदीप ठाकुर, रजिना रिमाल, सुरेश अधिकारी, विरेन लिम्बू, हिमाल सागर, दिनेश भारतीजस्ता कलाकारलाई मित्रले ताप्लेजुङ भिक्र्याए र कार्यत्रम गरे । ताप्लेजुङ आइडलको पहिलो र दोस्रो दुवै संस्करणमा आउने कलाकारमा रजिना रिमाल, अनु शाह, सत्यकला शाही, पूर्ण कांवाङ लगायतका कलाकार थिए । माता पाथीभरा फिल्मको ब्यानर राखेर कार्यक्रम आयोजना गरिएको थियो ।


दिनेश र मित्रको अलावा क्षितिज सुनुवार नेतृत्वको दोखु युवा क्लब, केशव आचार्य नेतृत्वको सोसियल युथ गाइज लगायतका संस्थाले राष्ट्रिय कलाकार भित्र्याए । तर २ वर्षयता कलाकार भित्र्याएर कसैले पनि कार्यक्रम गरेका छैनन् । पहिलाका आयोजकहरू कार्यक्रम गर्नै हम्मे भएको र घाटामा गएको बताउँछन् ।


दिनेशले भने, ‘एउटा कार्यक्रम गर्न कम्तीमा ७ लाख रुपैयाँसम्म खर्च हुन्छ । तर त्यो पैसा उठाउनै सकिँदैन ।’ उनले पहिला लहैलहैमा लागेर राष्ट्रियस्तरका कलाकार बोलाएर कार्यक्रम गरे पनि अहिले थाकेको तीतो अनुभव सुनाउँछन् ।


सोसियल युथ गाइज पनि अब कलाकार ल्याउने योजनामा छैन । संस्थाका उपाध्यक्ष संगीता कार्कीले आयोजनाको तनाव धेरै हुने तर लाभ नहुने भएकाले अहिले त्यो विषयमा छलफलै हुन छोडेको बताउँछिन् ।


दिनेशका अनुसार एउटा कार्यक्रममा चलेका कम्तीमा २ जना कालाकार निम्त्याउनुपर्छ । उनीहरूलाई पारिश्रमिक नै तीन लाख रुपैयाँसम्म दिनुफर्छ । घरदेखि कार्यक्रम स्थलसम्म र कार्यत्रम स्थलदेखि घरसम्मको खर्च व्यहोर्नुपर्छ ।


कार्यक्रमको अघिल्लो दिनदेखि बिदा हुदाँसम्मको होटल खर्च एक लाख रुपैयाँको हाराहारीमा उठ्छ । कलाकारसँग बसेर खाने र हिँड्नेहरू धेरै हुन्छन् । स्टेज निर्माण, साउन्ड सिस्टम, प्राविधिक, स्थानीय एफएम, पत्रिका, ब्यानर, पोस्टर पम्प्लेटमा हुने खर्च पनि उच्च हुन्छ ।


अतिथि सत्कारमा लगाइने ब्याच, खादा, टिकट कटाउन हिँड्ने स्वयंसेवकको खाना तथा खाजा खर्चजस्ता कारण व्ययभार उच्च हुने भएकाले कार्यक्रम गर्नै नसक्ने अवस्था भएको दिनेशले बताए । कार्यक्रमबाट पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने भए पनि महँगीका कारण गर्ने अवस्था नभएको उनी बताउँछन् ।


‘अहिले कलाकार ल्याउँछु र कार्यक्रम गर्छु भन्ने भावना अधिकांश पूर्वआयोजकको मानसपटलबाट हराएको छ,’ दिनेशले बताए । जिल्लामा २०५८ देखि बाहिरबाट कलाकार ल्याएर कार्यक्रम गरेको पाइन्छ । याक्थुङ कलाकार संघले सामुदायिक भवनमा किशोर थुलुङ लगायत कलाकारलाई ल्याएर कार्यक्रम गरेका थिए ।

प्रकाशित : जेष्ठ ७, २०७६ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?