कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चीनमा फैलिँदै भारतीय फिल्म

बेइजिङ — बेइजिङमा एसियाली सभ्यता वार्ता सम्मेलनअन्तर्गत बिहीबारदेखि जारी एसियाली फिल्म र टीभी सप्ताहले पनि निकै चर्चा पाएको छ । विभिन्न ९ वटा मुलुकबाट आएका १४ जना फिल्म हस्तीले एसियाली फिल्म र सभ्यताबारेमा छलफल गरेका छन् ।

चीनमा फैलिँदै भारतीय फिल्म

भारतको प्रतिनिधित्व गर्दै आएका अभिनेता आमिर खानले भारतीय फिल्म चिनियाँ दर्शकले पनि मन पराउन थालेकोमा प्रसन्नता प्रकट गरे । उनले भने, 'यो क्रम आफ से आफ सुरु भयो । जुन चीज स्वतः सुरु हुन्छ, त्यसले सबैभन्दा बलियो पकड जमाउँछ ।'


मे १६ देखि २३ तारिखसम्म चल्ने एसियाली फिल्म तथा टीभी सप्ताहमा भाग लिन आएका खानले एकअर्काको देशमा फिल्म रिलिज गर्नाले कथा, संस्कृति, रहनसहनबारे बुझ्न सजिलो हुने बताए । 'फिल्मले रचनात्मक आदानप्रदानका साथै दुवै देशका मानिसलाई अझै नजिक ल्याउनेछ,' उनले भने, 'यसमा त सर्वत्र सकारात्मक परिणति नै देखिन्छ ।'


आफ्ना पछिल्ला फिल्म 'दंगल' र 'सेक्रेट सुपरस्टार' बाट चिनियाँ दर्शकमाझ दरिलो छवि बनाएका खानले चिनियाँ सामाजिक सञ्जालबाट पनि चिनियाँ फ्यानहरूको मन जित्ने गतिविधि गर्दै आएका छन् । आमिरको 'ठग्स अफ हिन्दोस्तान' रिलिज हुँदा त केही चिनियाँ फ्यान उनको फिल्म हेर्न भारत नै आएका थिए ।


सन् ६० को दशकमा 'आवारा', 'कार्वा' लगायतका फिल्म चिनियाँ भूमिमा प्रवेश गरेपछि चिनियाँ दर्शकले भारतीय फिल्मको शैलीबारे थाहा पाएका थिए । चीन प्रवेश गर्ने क्रममा शाहरूख खानको 'देवदास' पछि आमिर खानको 'पीके' ले लोकपि्रयताको खाता खोलेको थियो ।


सन् २०१५ मा चीन भित्रिएको 'पीके' लाई चिनियाँहरूले अन्धविश्वासबाट प्रभावित भारतबारे थाहा पाएका थिए । 'थ्री इडियट' फिल्मले चिनियाँ युवा पुस्तालाई आकषिर्त गरेको थियो । बेइजिङमा रहेर पत्रकारिता गर्दै आएका भारतीय पत्रकार अखिल पाराशरका अनुसार सन् २०१८ मा १० वटा फिल्मले चिनियाँ भूमिमा प्रवेश पाए जब कि सन् २०१७ मा 'दंगल', 'बाहुबली' हुँदै आयुष्मान खुरानाको 'अन्धाधुन' र श्रीदेवीको 'मम' ले चिनियाँ फिल्म बजार पिटेका थिए । केही वर्षयता भारतीय फिल्म चीनमा लोकपि्रय भएको कारणबारे चिनियाँहरू भन्छन्, 'भारत पनि चीनजस्तै लामो इतिहास भएको प्राचीन मुलुक हो भने दुवै मुलुक धेरै जनसंख्या भएका ठूला मुलुक पनि हुन् । भारतजस्तै चिनियाँ समाजका समस्या पनि उस्तै खाले छन् ।'


बेइजिङको फिल्म सप्ताहमा भारतीय अभिनेता खानका अलावा जापानी निर्देशक योजी यामादा, रसियन निर्देशक फेदोर मोन्दार्चुक, इरानी फिल्म मेकर माजिद माजिदी, भियतनामी फ्रेन्च निर्देशक ट्रान अन्ह हुङ र आयोजक मुलुक चीनका फिल्म तथा टीभी क्षेत्रका नामी कलाकर्मीको जमघट भइरहेको छ ।

प्रकाशित : जेष्ठ ६, २०७६ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?