कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

चीनमा संस्कृति साट्दै नेपाली

फूलमान वल

बेइजिङ — बंगलादेशी कलाकारले माछा मार्ने ढडियासँगै डुंगा खियाउने शारीरिक चालढाल नृत्यमा मिसाउँदै गर्दा नेपाली कलाकारले भने दुई हात एकपटक भुँइतिर त अर्कोपटक निधारतिर ल्याउँदै ढोगेको अभिनय गरे ।

चीनमा संस्कृति साट्दै नेपाली

चीनको राजधानी बेइजिङस्थित बर्ड नेस्ट स्टेडियमको ओलम्पिक ग्रिनपार्कमा जारी एसियन सिभिलाइजेसन परेडमा यसरी मारुनी नृत्यको स्टेप मिसाउने आइडिया रचेका हुन् नृत्य निर्देशक प्रशान्त तामाङले ।


'लोक जीवनबाट हराउँदै गएर झन्डै झन्डै स्टेज कार्यक्रमतिर मात्रै सीमित हुने अवस्थामा रहेको मारुनीलाई एसियाली सभ्यतासँग एकाकार गराउन पाएको क्षण सधैं सम्झनामा रहनेछ,' धरानका प्रशान्तले भने । परेडमा प्रशान्तले थारू नृत्यका लागि समेत काम गरेका छन् ।


उनलाई मारुनी र थारूमा पूजा पन्त, सृष्टिका बिसंखे, नेहा चौधरी, दीपिका पाठक, निशा श्रेष्ठ, अनिशा न्यौपाने र मिलन मगरले सघाएका छन् । सुसन लामाले भारतको नयाँदिल्लीबाट कत्थक नृत्य सिके । नेपाल फर्केपछि केही समय उनी यही नृत्यको प्रवर्द्धनमा पनि लागि परे । तर, जसै उनी आफ्नै समुदायको संस्कृतिभित्र पसेर खोज अनुसन्धान गर्न थाले, उनको परिचय बन्यो तामाङ सेलोमा ।


मौलिक सेलो गायन र संगीतमा मात्रै उनी चिनिएका छैनन्, नृत्य निर्देशक र रंगकर्मीको रूपमा पनि उनले आफ्नो परिचय सुरक्षित पारेका छन् । एसियाली सिभिलाइजेसन परेडका लागि सेलो नृत्यको स्टेप उनकै अवधारणामा मिसाइएको हो । तामाङ मौलिक परिधानसँगै डम्फु बोकेर ओलम्पिक पार्क उत्रिएका उनलाई शान्ति वाइबा, सम्झना लामा र सागर तामाङले पनि नृत्यमा सघाएका छन् ।


'स्टेजको परिष्कृतभन्दा पनि गाउकै मौलिक स्टेप टिपेका छौं,' सेलो थिएटरका तर्फबाट टोली प्रमुख सुसनले भने । सुसनका अनुसार तामाङ सेलोबाट अचेल डम्फु हराउँदै गएको छ र धेरैजसो व्यावसायिक स्टुडियोहरूले किबोर्डको डिजिटल साउन्डबाट काम चलाउन थालेका छन् । साँच्चिकै डम्फु प्रयोग गर्दा महँगो पर्ने भएकोले यस्तो भएको हो ।


परेडमा एसियाका विभिन्न १७ मुलुकका कलाकारले आआफ्ना वाद्ययन्त्रसहितको प्रस्तुति दिँदै गर्दा मौलिक बाजागाजाको महत्त्व प्रकाशमा आएको छ । भक्तपुरको मौलिक नेवार परिधानमा सजिएका बालमुकुन्द प्रजापती वर्ष दिनअघि सत्यमोहन जोशीको नाटक 'अरनिको' गर्दा लिड रोलमा थिए । झन्डै आठ सय वर्षअगाडि थुप्रै नेपाली कालिगढ लिएर तिब्बत हुँदै बेइजिङ आइपुगेका अरनिकोको भूमिका गरेका उनी यसपटक आफैं यहाँ आइपुगे ।


नाटकमा भादगाउँले टोपी लाएका बालमुकुन्द एसियाली सिभिलाइजेसन परेडमा पनि क्रस खुकुरीसहितको त्यही टोपी लाएर नाचिरहेका छन् । उनलाई इना साागाछें, शनिबारे, पूजा गिरी, श्रेया प्रधान, अनुशा सिञ्जालीले सघाएका छन् । परेडमा सनी र अनुशाले सन्थाल नृत्यका लागि पनि काम गरेका छन् ।


दुई दशकभन्दा बढी समय भयो, पोखरामा हिमाली सांस्कृतिक परिवार संस्थागत भएको । गुरुङ समुदायलाई केन्द्रमा राखेको भए पनि विभिन्न समुदायको लोकनृत्यमा समान ढंगले काम गर्दै आएको यो समूहको नेपाली लोकनृत्य संरक्षणसम्बन्धी आफ्नै नीति बनाएका छन्, सित्तैमा सिक्ने, अनि सित्तैमा सिकाउने ।


'सिक्न आउनेसग पैसा लिनुभन्दा सिकिसकेपछि उसैले अर्को ब्याचलाई सिकाउनुपर्ने भएपछि त सजिलो भयो नि,' यो समूहका तर्फबाट कौरानृत्य लिएर आएका युवराज गुरुङले भने, 'नयाँ पुस्तामा पनि सजिलै संस्कृति हस्तान्तरण हुने भयो । पैसाकै कारण रोकिने भएन ।'


पश्चिम र मध्य पश्चिम भेकको गुरुङ र मगर समुदायमा प्रचलित कौरा नृत्यका लागि खैंजडीसहित उनको टोली परेडमा सहभागी छ । टोलीमा सीमा गुरुङ, यमकला गुरुङ, तारा थापामगर, संगीता आले, विराज मगर, मीनप्रसाद गुरुङ र सञ्जय गुरुङ छन् ।

प्रकाशित : जेष्ठ ५, २०७६ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?